धादिङबेसी ,२०८३ कार्तिक ८ गते
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेलले विपद्पछिको पुनर्निर्माणमा संघीय सरकारसँग समन्वय अभाव हुँदा पीडितका आवास र पूर्वाधार निर्माणमा अन्योल बढेको बताउनुभएको छ।
आज धादिङबेसीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उहाँले संघीय सरकारको आत्मकेन्द्रित सोच र क्षेत्राधिकारको अन्योलले पुनर्निर्माण प्रभावित भएको आरोप लगाउनुभयो।
प्रदेश सरकारले बाढीपीडित तथा विपन्न परिवारका लागि एक हजार घर निर्माण गर्ने कार्यक्रम बजेटमा राखे पनि निर्माणको मोडलबारे संघसँग सहमति हुन नसकेको उहाँले बताउनुभयो।
त्यस्तै, प्रदेश सरकारले पाँचवटा झोलुङ्गे पुल र दुईवटा बेलीब्रिज खरिद प्रक्रिया अघि बढाएको जानकारी दिँदै उहाँले संघीय सरकारलाई तत्काल आवागमन सञ्चालनको स्पष्ट योजना बनाउन आग्रह गर्नुभयो।
“जनतालाई पुल ल्याऊ, म किनिदिन्छु भनेर गफ दिएर मात्र हुँदैन,” उहाँले भन्नुभयो, “संघीय सरकारले तत्काल आवागमनको मोडालिटी खुलाइदिनुपर्छ।”
विपद्पछिको पुनर्निर्माणमा संघ र प्रदेशबीच सहकार्य हुन नसक्दा पीडितले समयमै राहत र सुविधा पाउन कठिन भएको मन्त्री पौडेलको भनाइ थियो।






