बद्री पौडेल ,धादिङ ,  २३ साउन ,२०८३

नीलकण्ठ नगरपालिका–७ तल्लोबेँसी, कटहरे निवासी समाजसेवी तथा राजनीतिप्रति गहिरो चासो राख्ने नीरबहादुर अधिकारीको ९४ वर्षको उमेरमा शनिबार  बिहान दुःखद निधन भएको छ। उहाँको  शनिबार नै  नीलकण्ठ नगरपालिका–८ च्याडुस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

अधिकारी पञ्चायतकालदेखि नै राजनीतिप्रति चासो र जिज्ञासा राख्दै आउनुभएका स्थानीय समाजसेवीका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँ तीन पटकसम्म संसदीय निर्वाचनमा उम्मेदवार बन्नुभएको थियो। सक्रिय राजनीतिमा भन्दा पनि राजनीतिक घटनाक्रम, विचार र देशको अवस्थाप्रति निरन्तर चासो राख्ने उहाँको आफ्नै शैली थियो।

नेपाली कांग्रेसप्रति आस्था राख्ने अधिकारी आफूलाई ‘बीपी कोइराला र गणेशमान सिंह र शुवण  कांग्रेस’ भएको बताउने गर्नुहुन्थ्यो। राजनीतिक दल र नेताहरूका गतिविधिबारे उहाँ खुलेर धारणा राख्नुहुन्थ्यो। उमेर बढ्दै गए पनि राजनीतिक विषयमा उहाँको चासो र जिज्ञासा अन्तिम समयसम्म कायमै रहेको  थियो ।

कटहरे जलेश्वर महादेवमा सामूहिक व्रतबन्धको परम्परा

अधिकारीको सामाजिक तथा धार्मिक योगदानमध्ये उहाँको घरनजिकै रहेको कटहरे जलेश्वर महादेव मन्दिरमा हरेक वर्ष श्रीपञ्चमीका दिन आयोजना हुने सामूहिक व्रतबन्ध कार्यक्रम विशेष स्मरणीय छ।

वर्षौँदेखि उहाँले आफ्नै पहलमा बटुकहरूको सामूहिक व्रतबन्ध आयोजना गर्दै आउनुभएको थियो। कार्यक्रममा उहाँ आफैँ कर्ता बनेर पूजा–पाठ तथा व्यवस्थापनमा सक्रिय हुनुहुन्थ्यो। कम खर्चमा धेरै बटुकको धार्मिक संस्कार सम्पन्न गराउने उद्देश्यले सञ्चालन गरिएको यस परम्पराले स्थानीय समुदायमा छुट्टै महत्व राख्दै आएको थियो।

विशेषगरी देशमा द्वन्द्वको अवस्था रहेको समयमा आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाका लागि समेत यो सामूहिक व्रतबन्ध महत्वपूर्ण बनेको हो  हरेक वर्ष धेरै बटुकले कटहरे जलेश्वर महादेवमा सामूहिक रूपमा व्रतबन्ध गर्ने गरेका थिए।

अधिकारी क्षेत्री समुदायका भए पनि जातीय तथा सामाजिक विषयमा उहाँको दृष्टिकोण केही फरक र आफ्नै किसिमको थियो। धार्मिक संस्कारलाई खर्चिलोभन्दा पनि सरल, सामूहिक र सबैका लागि सहज बनाउनुपर्ने उहाँको सोच रहेको स्थानीयहरू बताउछन् ।

सरल जीवनशैली, स्पष्ट अभिव्यक्ति र सामाजिक विषयमा चासो राख्ने अधिकारी स्थानीयस्तरमा परिचित व्यक्तित्व हुनुहुन्थ्यो। राजनीतिप्रतिको उहाँको चासो र कटहरे जलेश्वर महादेवमा वर्षौँदेखि सञ्चालन गर्दै आएको सामूहिक व्रतबन्धको परम्पराले उहाँलाई स्थानीय समुदायमा छुट्टै पहिचान दिएको थियो।

उहाँको निधनमा स्थानीयवासी, आफन्त, सामाजिक व्यक्तित्व तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले दुःख व्यक्त गरेका छन्। शुक्रबार च्याडु आर्यघाटमा गरिएको अन्त्येष्टिमा पनि ठूलो संख्यामा शुभेच्छुक तथा स्थानीयको उपस्थिति रहेको थियो।

अधिकारीका एक छोरा र दुई छोरी रहेका छन्।

राजनीतिक चेतना, सामाजिक सक्रियता र धार्मिक संस्कारलाई सामूहिक तथा सरल ढंगले अघि बढाउने प्रयासका कारण नीरबहादुर अधिकारीको योगदान स्थानीय समुदायका लागि स्मरणीय रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0