धादिङ, २४ साउन ,२०८३
नेपाल बार एसोसिएसन धादिङको साधारण सभामा सहभागी हुन १८ जना कानून व्यवसायीलाई लिएर बेनिघाट रोराङ गाउँपालिका–८ स्थित चैलिङ सामुदायिक होमस्टेतर्फ जाँदै गरेको ईभी हाइसका चालकको हृदयघातका कारण निधन भएको छ।
बा प्र ०१–००६६ ख ८६१६ नम्बरको ईभी हाइसका चालक सिद्धलेक गाउँपालिका–३ निवासी ५० वर्षीय मिन नारायण श्रेष्ठले आइतबार बिहान पौने १० बजेतिर बिधाङ नजिकै पुग्दा अचानक असहज महसुस गरेपछि तत्काल सवारी रोकेका थिए।
हाइस रोकेलगत्तै उनको अवस्था गम्भीर भएपछि नजिकैको स्वास्थ्य केन्द्र हुँदै मलेखुस्थित टिचिङ अस्पताल पुर्याइएको थियो। तर, अस्पताल पुग्दा चिकित्सकले उनलाई मृत घोषणा गरेको अधिवक्ता कृष्ण राज अधिकारीले जानकारी दिनु भयो ।
चलिरहेको सवारीमा चालकलाई अचानक हृदयघात हुँदा ठूलो दुर्घटना हुन सक्ने अवस्था भए पनि श्रेष्ठले असहज महसुस गर्नेबित्तिकै हाइस रोकेर १८ जना कानून व्यवसायीको ज्यान जोगाएका थिए।
अरूलाई सुरक्षित गन्तव्यतर्फ लैजाने क्रममा उनले आफ्नो जीवन भने त्यही स्टेरिङमा गुमाए। श्रेष्ठको अन्तिम क्षणको सावधानीका कारण सम्भावित ठूलो दुर्घटना टरेको भन्दै कानून व्यवसायीहरूले उनको निधनप्रति दुःख व्यक्त गरेका छन्।
हाइसमा टंककुमार श्रेष्ठ, रामचन्द्र भट्ट, रामकृष्ण अधिकारी, खिल गिरी, विश्वराज अधिकारी, गोपी अर्याल, अम्बिका घिमिरे, दिनेश दुवाडी, विनोदमान श्रेष्ठ, पुष्पविक्रम मल्ल, विष्णुकुमार श्रेष्ठ, दीपक सेन, मेघनाथ दुवाडी, कुलमान विक, कृष्णराज अधिकारी, मञ्जु बस्नेत, रविना पौडेल र शोभा श्रेष्ठ सवार थिए।






