लेखक:- कृष्ण बद्री  पौडेल

आजभन्दा  झन्डै २० वर्ष अगाडि  नेपालको ग्रामीण बस्तीमा खरले छाएका ढुङ्गा–माटाका घरहरू गाउँको मौलिक पहिचान थिए। रातो माटोले लिपिएका वा कमेरो पोतिएका, कतै अग्ला त कतै होचा पिँढी भएका ती घरले नेपाली ग्रामीण जीवनशैली, संस्कृति र पुर्खाको सीप झल्काउँथे।

त्यतिबेला घरका गारो ढुङ्गा–माटोले बनाइन्थ्यो। छानो छाउन खर काटेर मुठा बनाइन्थ्यो, डाँडा–भाटा राखिन्थ्यो र चोयाले बाँधेर कसिलो बनाउने परम्परागत विधि अपनाइन्थ्यो। छानोको किनारमा सुरुमा साना खरका मुठा राख्ने चलन थियो, जसलाई स्थानीय भाषामा ‘दाती’ भनिन्थ्यो। दाती लगाएपछि क्रमशः खर थप्दै छानो छाइन्थ्यो। घर छाउने काममा परिवार र छिमेकी जुट्थे। श्रमदान र आपसी सहयोग ग्रामीण समाजको बलियो संस्कृति थियो।

यस्ता घर जाडोमा न्यानो र गर्मीमा शीतल हुन्थे। घरको भुइँ माटोले बनाइएको हुन्थ्यो र बिहान गोबरमाटोले लिपपोत गरेर सफा राखिन्थ्यो। घरको बीच भागमा अगेनो हुन्थ्यो, जहाँ दाउरा बालेर खाना पकाइन्थ्यो। अगेनो खाना पकाउने ठाउँ मात्र थिएन, परिवारका सदस्य भेला हुने, दुःखसुख साट्ने र पुर्खाका कथा सुन्ने आत्मीय चौतारी पनि थियो।

धेरै नेपालीको बाल्यकाल यस्तै घरमा बितेको छ। खरको छानो, माटोको भुइँ, दाउराको धुवाँ र पिँढीमा बसेर गरिने गफ आज सम्झनामा सीमित हुँदै गएका छन्। ती घर अभावका प्रतीक मात्र थिएनन्; स्थानीय स्रोतसाधनको उपयोग, वातावरणअनुकूल जीवनशैली र सामूहिक श्रमका उदाहरण पनि थिए।

२०७२ सालको विनाशकारी गोरखा भूकम्पपछि प्रभावित जिल्लामा पुराना ढुङ्गा–माटाका घरहरूमा ठूलो क्षति भयो। पुनर्निर्माणसँगै जस्तापाता, इँटा, सिमेन्ट र आरसीसी प्रयोग भएका घर निर्माण बढे। अहिले अधिकांश ग्रामीण बस्तीमा आधुनिक घरहरू देखिन्छन्। सुरक्षित आवास र सुविधाको दृष्टिले यो परिवर्तन आवश्यक भए पनि यससँगै परम्परागत वास्तुकला र निर्माण सीप हराउने क्रम तीव्र भएको छ।

खरका छाना हटाएर जस्तापाता लगाउने र खरको छानामुक्त बस्ती बनाउने उद्देश्यले सरकारी तहबाट समेत कार्यक्रम तथा घोषणा भएका थिए। खरका घरमा आगलागी र मर्मतसम्भारका चुनौती थिए, तर ती घरसँग जोडिएको मौलिक ज्ञान र संस्कृति पनि उत्तिकै मूल्यवान् थियो।

समयअनुसार घर बदलिनु स्वाभाविक हो। तर आधुनिकताको नाममा आफ्नो इतिहास र पहिचान बिर्सनु हुँदैन। सम्भव भएका पुराना घर संरक्षण गर्ने, परम्परागत निर्माण विधिको अभिलेख राख्ने र मौलिक वास्तुकलालाई सांस्कृतिक पर्यटनसँग जोड्ने काममा स्थानीय सरकार र समुदायले ध्यान दिनुपर्छ।

खरका छाना हराए, माटाका घरहरू विस्थापित भए, तर ती घरभित्र हुर्किएको पुस्ताको इतिहास मेटिनु हुँदैन। विकास भनेको पुरानो सबै कुरा भत्काएर नयाँ बनाउनु मात्र होइन; पुर्खाको ज्ञान, सीप र संस्कृतिलाई जोगाउँदै सुरक्षित भविष्य निर्माण गर्नु पनि हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0