बद्री पौडेल ,आरुघाट, गोरखा ,धादिङ ,२०८३ असोज २  गते

बाढीले पुल बगाएपछि अवरुद्ध बनेको धादिङ र गोरखाबीचको सडक सम्पर्क पुनःस्थापित भएको छ। नेपाली सेना र सडक विभागको सहकार्यमा बुढीगण्डकी नदीमाथि आरुघाट बेलीब्रिज निर्माण सम्पन्न भएसँगै आजदेखि हल्का सवारीसाधन सञ्चालनमा आएका छन्।

गत असोज २५ गते गोरखाको चुमनुब्री क्षेत्रबाट आएको बुढीगण्डकी नदीको बाढीले आरुघाटस्थित पुलको आधा भाग बगाएपछि दुवै जिल्लाका बासिन्दाले आवतजावतमा सास्ती बेहोर्नुपरेको थियो। बाढीबाट अवरुद्ध सडक सम्पर्कलाई पुनः सञ्चालनमा ल्याउने उद्देश्यले नेपाली सेना र सडक विभागले संयुक्त रूपमा पुल निर्माण कार्य अघि बढाएका थिए।

पुलस्थलमा राखिएको विवरणअनुसार बेलीब्रिजको लम्बाइ २७.४३ मिटर, चौडाइ ४.२ मिटर र अधिकतम भारवहन क्षमता २५ टन रहेको छ। ‘डबल सिंगल रिइन्फोर्स्ड’ प्रकारको उक्त पुलको निर्माण कार्य २०८३ साल असोज ३१ गते सुरु गरिएको र आज पुरा भएको छ ।

निर्माण सम्पन्न भएपछि आजदेखि हल्का सवारीसाधन सञ्चालनमा आएका छन्। पुलको बेसमा प्रयोग गरिएको सिमेन्ट पूर्ण रूपमा सुकेपछि केही दिनमा ठूला सवारीसाधनसमेत सञ्चालन गर्न सकिने सडक बिभागले जनाएको छ।

पुल निर्माणमा खटिएका नेपाली सेनाका सम्पूर्ण सैनिक तथा प्राविधिक जनशक्तिलाई सहायक रथी सन्तोष कार्कीले धन्यवाद दिनुभएको छ। विपद्पछिको कठिन परिस्थितिमा निर्माण कार्यमा खटिएको टोलीको मेहनत र समन्वयले सडक सम्पर्क पुनःस्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

आरुघाटमा बेलीब्रिज सञ्चालनमा आएसँगै धादिङ र गोरखाका स्थानीयवासीलाई आवतजावत, व्यापार व्यवसाय, दैनिक उपभोग्य सामग्रीको ढुवानी तथा अन्य अत्यावश्यक कामका लागि सहज हुने भएको छ। बाढीका कारण सिर्जित यातायात समस्याबाट राहत पाउने भएपछि दुवै जिल्लाका बासिन्दामा खुसी छाएको छ।

प्राकृतिक विपद्ले भत्काएको सडक सम्पर्क पुनः जोड्दै आरुघाटमा बेलीब्रिज निर्माण सम्पन्न हुनु धादिङ र गोरखाको आवागमन सहज बनाउने महत्त्वपूर्ण उपलब्धि बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0