बिश्वास सिलवाल ,२०८३ कार्तिक ४ गते
महानवमीका दिन बडादसैँ, तिहार, छठ तथा नेपाल संवत्को अवसरमा शुभकामना आदानप्रदान, ज्येष्ठ नागरिक सम्मान तथा नवनिर्मित पूर्वाधार हस्तान्तरण कार्यक्रम हिजो सम्पन्न भएको छ। कार्यक्रमको मुख्य आकर्षण जेन अल्फा पुस्ताका बालिकाले सञ्चालन गर्नु र साइलेन्ट जेनेरेसनका ज्येष्ठ नागरिक सम्मानित हुनु रहेको थियो।
सन्तोष सापकोटाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा टोलका ज्येष्ठ महिला मनकुमारी सुवेदी र ज्येष्ठ पुरुष गंगादत्त रिजाललाई विशेष अतिथिका रूपमा सहभागी गराई सम्मान गरिएको थियो। कुँडुले तातोपानी टोल विकास संस्थाका अध्यक्ष द्रोणाचार्य सिंखडालगायत स्थानीयको उपस्थिति रहेको कार्यक्रममा चाडपर्वको शुभकामना आदानप्रदान गरिएको थियो।
कार्यक्रममा बालिका नमुना सापकोटा र सम्झना सापकोटाले सञ्चालन गरेका थिए। जेन अल्फा पुस्ताका बालिकाले साइलेन्ट जेनेरेसनका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने अवसरले पुस्ताबीचको आत्मीयता, अनुभवको आदानप्रदान र सामाजिक निरन्तरताको सुन्दर सन्देश दिएको थियो।
सो अवसरमा ज्येष्ठ नागरिकको योगदान र अनुभवप्रति सम्मान व्यक्त गर्दै महिला र पुरुषतर्फ एक–एक जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो। साथै, नृत्य, नाटक लगायतका सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएको थियो।
कार्यक्रमकै अवसरमा तातोपानी चौतारोमा निर्माण गरिएको पार्क तथा अन्य पूर्वाधार निर्माण कार्य सम्पन्न भएपछि निर्माण उपभोक्ता समितिले ती संरचना तातोपानी टोल विकास संस्थालाई हस्तान्तरण गरेको थियो। नवनिर्मित संरचनाले स्थानीयको भेटघाट, सामुदायिक गतिविधि तथा सामाजिक मेलमिलापलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
शुभकामना आदानप्रदान, ज्येष्ठ नागरिक सम्मान, सांस्कृतिक कार्यक्रम र सामुदायिक पूर्वाधार हस्तान्तरणलाई समेटिएको यस आयोजनाले चाडपर्वको उल्लाससँगै पुस्ताबीचको सम्बन्ध, स्थानीय एकता र सामुदायिक विकासको महत्त्व उजागर गरेको छ।







