धादिङ बेसी ,२०८३ कार्तिक ७

धादिङको मलेखुस्थित फुर्के खोलामा बाढीले क्षति पुर्‍याएको पुलको विकल्प सोही आसपासमा निर्माण गर्नुपर्ने माग चर्किएको छ। तत्काल बेलीब्रिज निर्माण गरी यातायात सहज बनाउन र दीर्घकालीन समाधानका रूपमा साविककै स्थानमा पक्की पुल बनाउन धादिङको नागरिक समाज तथा विभिन्न संघसंस्थाले सरकारसँग माग गरेका छन ।

कालुपाण्डे मार्ग पिच गर्ने क्रममा विसं २०५६ देखि २०५८ सालसम्म फुर्के खोलामा पक्की पुल निर्माण गरिएको थियो। त्यसअघि सोही आसपासमा बेलीब्रिज सञ्चालनमा थियो। पक्की पुल बनेपछि पुरानो बेलीब्रिज हटाएर अन्यत्र लगिएको थियो। अहिले बाढीले पक्की पुलमा क्षति पुर्‍याएपछि पुनः वैकल्पिक बेलीब्रिज निर्माणको आवश्यकता खड्किएको छ।

बेलीब्रिज ९० मिटरभन्दा लामो बनाउन नसकिने भन्ने तर्क उठिरहेका बेला स्थानीयले नेपालमै १३५ मिटर लामो बेलीब्रिज रहेको उदाहरण दिँदै सम्भाव्यताको प्राविधिक अध्ययन गर्न  बिभिन्न ब्यक्तीहरुले सामाजिक सन्जाल मार्फत पनि माग  गरेका छन्। बाढीले क्षति पुर्‍याएको पुलभन्दा करिब ८०–९० मिटरदेखि एक किलोमिटर तल वा माथिसम्म उपयुक्त स्थान खोजेर बेलीब्रिज निर्माण गर्न सकिने उनीहरूको भनाइ छ।

पहिले बेलीब्रिज रहेकै आसपासमा खोलाको बहाव, चौडाइ र भौगोलिक अवस्थाको प्राविधिक अध्ययन गरी आवश्यकताअनुसार ग्याबियन जालीमा ढुङ्गा भर्ने, मेसिनरी वाल निर्माण गर्ने वा अन्य उपयुक्त संरचना तयार गरेर बेलीब्रिज राख्न सकिने सम्भावनाको खोजी गर्नुपर्ने माग गरिएको छ। ९० मिटरको सीमालाई अन्तिम निष्कर्ष मानेर विकल्प बन्द गर्नुभन्दा प्राविधिक निकायले सम्भावित लम्बाइ, संरचना र स्थानको अध्ययन गरी व्यवहारिक समाधान दिनुपर्ने नागरिक समाजको जोड छ।

फुर्के खोलामा पुल नहुँदा धादिङ र गोरखाका नागरिकले पोखरा, काठमाडौं तथा अन्य क्षेत्रतर्फ आवतजावत गर्दा थप सास्ती भोगिरहेका छन्। वैकल्पिक मार्ग साँघुरो र कच्ची हुँदा लामो दूरी घुम्नुपर्ने, धुलोको समस्या झेल्नुपर्ने र बिरामी तथा बालबालिकालाई यात्रा गराउन कठिन भइरहेको छ। यसले स्थानीय जनजीवन, व्यापार व्यवसाय र क्षेत्रीय यातायातमा समेत असर पारेको छ।

धादिङको नागरिक समाज तथा विभिन्न संघसंस्थामा आबद्ध प्रतिनिधिहरूले तत्काल फुर्के खोलाकै आसपासमा बेलीब्रिज निर्माण गर्न र स्थायी पक्की पुल साविककै स्थानमा बनाउन सरकारको ध्यानाकर्षण गराएका छन र पुनः ध्यानाकर्षण गर्ने तर्खरमा छन् ।

नागरिकको माग स्पष्ट छ—तत्काल वैकल्पिक बेलीब्रिज, साविककै स्थानमा स्थायी पक्की पुल। सरकारले प्राविधिक सम्भाव्यताको निष्पक्ष अध्ययन गरी आवश्यक संरचना निर्माणको प्रक्रिया शीघ्र अघि बढाउनुपर्छ। नागरिकलाई लामो घुमाउरो र जोखिमपूर्ण बाटोमा छाडेर पुल निर्माणको विषय अनिश्चितकालसम्म थाती राख्नु उचित हुँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0