धादिङ, फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धादिङ क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशिका तामाङ भारी मतान्तरसहित विजयी हुनुभएको छ।

रास्वपाकी तामाङले ३९ हजार १२८ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो। निर्वाचन अधिकृतको कार्यालय गल्छीका निर्वाचन अधिकृत एकराज अधिकारीका अनुसार उहाँकी निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार भूमि प्रसाद त्रिपाठीले १५ हजार ३२ मत प्राप्त गर्नुभएको छ।

तामाङले त्रिपाठीलाई २४ हजार ९६ मतान्तरले पराजित गर्नुभएको हो।

यसैगरी नेकपाका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेले १४ हजार ९ मत प्राप्त गरी तेस्रो स्थानमा रहनुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार कृष्ण रिजालले १० हजार ६० मत प्राप्त गर्नुभएको छ।

निर्वाचन आयोग नेपालका अनुसार यस क्षेत्रमा खसेका सदर मतमध्ये सबैभन्दा बढी मत प्राप्त गर्दै तामाङ निर्वाचित हुनुभएको हो।

धादिङ क्षेत्र नं. १ मा ५३ मतदान स्थल र १५२ मतदान केन्द्र रहेका छन्। यहाँ कुल १ लाख ३६ हजार ६ सय ८६ मतदाता रहेकोमा ८४ हजार १६ मत खसेको थियो। तीमध्ये ३ हजार १७५ मत बदर भएको जनाइएको छ।

यस क्षेत्रमा २३ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए। अन्य उम्मेदवारहरूले भने एक हजारभन्दा कम मत प्राप्त गरेका छन्।

उल्लेखनीय कुरा, नेकपा उपाध्यक्षसमेत रहनुभएका राजेन्द्र प्रसाद पाण्डे ११ औँ पटक निर्वाचन लड्दा पनि तेस्रो स्थानमा सीमित हुनुभएको छ।

यस विजयसँगै धादिङ–१ मा रास्वपाले उल्लेखनीय सफलता हासिल गरेको भन्दै समर्थकहरूले खुसी व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0