कृष्णराज अधिकारी
अधिवक्ता
०१ फाल्गुण २०८१

          स्वास्थ्य दीर्घ जीवनको लागि पद यात्रा भन्दै धादिङ वेशीमा कृयाशिल विभिन्न संघसंस्थाहरुको सहभागितामा यही २०८१ साल मंसिर २२ गते धादिङ वेशी बिच बजारबाट बिहान ८ बजे तिर फूल अविर र टीका लगाई सगुन प्रसाद ग्रहणगरी नीलकण्ठ – ४ पौवाघर हुंदै नीलकण्ठ – ६ सुनौला बजारमा अवस्थित प्रशिद्ध देवी भैरवी मन्दिरसम्म राष्ट्रिय झण्डा कांधमा बोक्दै देशभक्ति र वीरताको गाथाले भरीएको गीत गाउदै बाजागाजा का साथ यात्रा सम्पन्न भयो । पैदल  यात्रामा सहभागिताको लागि मलाई र म अवद्ध संस्थालाइ समेत निमन्त्रणा गरीएको थियो ।

          मंसिर २१ गते छीमेकी मन्त्रीको छोराको बिहे । पहिले देखि नै हल्ला खल्ला निकै चलेको । सात गाउं उल्टीएर जन्ती जाने रे ! बाजागाजा लावा लस्कर कति कति ? गाडीको त कुरै नगरुम, धुलो उड्छ धुलो ! यस्तै यस्तै हल्ला गाउंमा चल्न थालेको थियो । जन्ती अलि टाढै जानपर्ने । जन्तीबाट फर्किएर भोलिपल्टको पैदल यात्रामा सहभागि हुन  मुस्किल पो हुन्छ कि भन्ने लाग्यो । पैदल यात्रामा सहभागि नहुदा साथीहरु रिसाउने , यता जन्त नगए छिमेकीको सम्बन्ध नरहने । त्यसमाथि उल्का उत्पात हुने भनेको बिबाहको जन्ती नै छुट्ने । म दोधारमा परें । भन्नुपर्दा ज्यानलाई पर्नु पीर पर्यो ।  त्यसो त पाउलागि गरी चाकडी गर्नेहरुको लागि यो समारोह सुबर्ण अबसर पनि थियो । अघिल्लो दिन देखि नै मन्त्रीज्यू को अघिपछि देखा पर्दै खिस्स दांत देखाउदैथे । हुन त जता मल्को उतै ढल्को भन्ने हाम्रो समाज छ । पद र शक्तिको पछी  लाग्नेहरुको लागि यत्तिको अवसर कहां मिल्छ र ? जन्ती जाने दिन छिमेकीहरुको स्नेह भाव भन्दा पनि धन दौलत र तडक भडक देखाउनेहरुको बिगबिगी देखिन्थ्यो । आखिर यस्ता मानिसहरु पद र शक्ति रहुन्जेल मात्र पछी लाग्ने त हुन् । जुन दिन यो दुबै चिज गुम्ने छ फेरी उनीहरु कहिल्यै फर्किएर पनि आउने छैनन् । छिमेकी र दाजुभाई भनेका त जिउदोका जन्ती अनि…………… ………….हैन र ? एकजना छिमेकी दाजुले भन्दै थिए – हेर भाई जन्ती जानेहरु त सबैका एक से एक गाडी छ तिम्रो हाम्रो गाडी छैन के जन्त जानु ? त्यसो हैन दाजै हाम्रो लागि उ के त बस छदै छ नि , त्यसमै गए हुन्न र ? – मैले भने । उनी घोस्से मुन्टो लगाउदै म तिर हेरी रहेका थिए । बेहुला केटो मेरा बाबुहरुको अति नै निकट दाजु भाई अनि खेल्ने मिल्ने साथी पनि । जहां गए पनि संगसंगै हुने । हिजो आज चै  उनीहरु बिच कस्तो सम्बनध छ उनीहरु नै जानुन । अघिल्लो दिन देखि नै सटर पटर गर्दै थिए । म भने भोली पल्ट २२ गते लुसुक्क लागे देवी माताको दर्शन गर्न भैरवी मन्दिर तिर ।

           राष्ट्रिय झण्डालाई कांधमा उचाली पैदल -यालीको अगाडि अगाडि यात्रामा अगाडि बढे । यात्राको सुरुवाति क्रममा निकै रमाइलो र शरीर पनि फूर्तिलो भैरहेको महसुस गर्दैथिए । जति उकालो लाग्यो उति थकाई र शरीरमा चिट चिट पसिना । स्वांस्वां र खुट्टा लर्बराउदै पौवा घरसम्म पुग्दा राम्रै थकाइ र भोकको महसुस भैरहेको थियो । पौवाघरमा नीलकण्ठ – ४ का वडाध्यक्ष हरि बहादुर श्रेष्ठको संयोजकत्वमा पदयात्रामा सहभागि हुनेहरुलाई अविर फूलमाला र बाजागाजा द्धारा भव्य स्वागत सत्कार गरिएको थियो । चिया नास्ता को व्यवस्थाले सहभागिहरु आनन्दित र शरीरमा छुट्टै स्फूर्ती प्राप्त भएको महसुस देखिन्थे । सयौ का संख्यामा रहेका सहभागिहरु कोही बाजाका तालमा नाच्ने रमाउने गर्दैथे , कोही पौवाघरको अवलोकनमा तल्लिन थिए , कोही भने साथी साथी सेल्फीको मोवाइल तेर्स्याइ मख्ख । धादिङ बजार देखिको उकालोको हिडाइ त्यतिकै कता हरायो कता !

              पौवाघरमा भएको करीब एक डेढ घण्टाको स्वागत कार्यक्रम पछि हाम्रो पैदलयात्रा भैरवी मन्दिर तर्फ अगपाडि बढ्यो । अगाडि बढ्ने क्रममा दुईवटा बाटोहरु तय गरीयो । बाजागाजा सहितको एउटा टोली रिजाल्थोक गांउ हुदै कच्ची सडकै सडक गयो अनि हामी भने छोटो र पुरानो बाटो भनेर धारापानीको भीरको गोरेटो बाटो हुदै लाग्यौ घनघस्याङको उकालो । धारापानी सम्म पुग्दा नपुग्दा थकाई र तीर्खाले चूर पारीसकेको थियो । ऐतिहासिक धरा धारापानी पुग्दा न त्यहा धारा नै थियो नत पानीको थोपा नै । भएको बिश्राम गर्ने चौतारो पनि सडक बनाउने नाममा बिनास गरीएको रहेछ । अब बनाउछ चै कसले र कहिले ? धारापनी मा पुगि पानीको प्यास मेटाउने चाहना पुरा नभएकोले झन ओठमुख सुक्न थाल्यो , माथ भरी खलखल पसिना , थकाइ र भोकले चुर चुर । बल्ल बल्ल उकालोको बिचमा एउटा घर देखें । घरको बाहिर गाग्री र अंखर राखेको देखे तर घर भित्र जाने तगारो को आउलो लाइएको थियो । घरका जहान परीवार बाहिरफेर कतै देखिएनन् । आपूलाई भने तीर्खाले सताइरहेको । कसैको वास्ता नै नगरी सरासर तंगारो खोल्दै पानीको गाग्री तर्फ अगाडिमात्र के बढ्न लागेको थिए पर्खाल मुनि आगनीको छेउमै बढेमानको भोटेकुकुर मस्तले सुतिरहेको । म सास न बास सुईटाप ठोके । धन्न ज्यान जोगियो भन्दै साथीहरु बिच पुगे । एकछिन त केको भोक केको तीर्खा ?

              अब भने बांकी बाटो काफल ,लालीगुरांस,ऐसेलुको चिथ्रा यस्तै बन बुट्यान र झाडी हुंदै ठाडै उकालो  थियो । पातमा कतै सितको थोपा भएपनि जिप्रोले चाट्न हुन्थ्यो भन्यो त्यस्तो कतै भेटीदैनथ्यो । न त कसैको साथमा पानीको बोतलनै न त बोटमा अमला । भोक र तीर्खाले तिरीमिरीझ्याई देखाउन थाल्यो । तीन त्रिलोक चौध भूवन फनफन घुम्नथाले । खुट्टा लल्याकलुलुक् भए पिंडुला बटारीन थाले । सायद मलाइ मात्रै यस्तो भोक लागेको हो कि अरु साथीहरुलाइ पनि यस्तै भैरहेको छ कुन्नि ? व्रह्मा विष्णु महेश्वर र देवीलाइ पुकार्दै हैरान सास्ति खेप्दै बल्ल बल्ल माता देवी भैरवी मन्दिरमा पुगियो । जांदाजादै टाढैबाट देवी भैरवीलाई सास्टाङ्ग डण्डवत गरें । मन्दिरको मूल ढोकामा प्रवेश गर्नु अगाडि मन्दिरको प्रदक्षिणा गरी आसपासका अन्य देवदेवताहरुको दर्शन पूजा गर्ने चलन रहेकोले हामीले पनि त्यसै गर्यौ । प्रदक्षिणाकै क्रममा एक ठाउमा भरखर मात्र भक्तजनहरुले फलफूल र नैवेध्य भनि रोटी चढाएका रहेछन् । सोचे अजिङगरको आहार दैवले पुर्याउछ भन्छन् यही रहेछ क्यार भन्ने लाग्यो । हातको फोहोर मैला केही वास्ता नगरी कपाकप सेलरोटी खानलागे । सुन्तला पनि चढाएको रहेछ त्यसलाइ पनि एकसास मै खाए । सुन्तलाले पानीको काम गर्यो ।

धन्न देवी माताले म अनाथको भोक र तीर्खाबाट रक्षा गर्नु भयो जस्तो लाग्यो । म संगै कृष्ण वद्री पौडेल र अन्य साथीहरु पनि हुनुहुन्थ्यो । उहांहरु दंगदास हुनुभयो । सुरुमा त उहाहरु मलाइ देवीलाइ चढाएको फलफुल फेरी यस्तो खुल्ला ठाउको फोहोर पनि हुनसक्छ कहा खाएको हुन्न भन्दै हुनुहुन्थ्यो । आफूसैग भएको राम्रो र मीठो चिजनै भक्तहरुले भगवानलाइ चढाउने हो अनि देवताको प्रसाद जसले पनि ग्रहण गर्न हुन्छ भन्दै म उहाहरुको कुरा नसुनि कपाकप जे जे भेटीन्छ त्यही त्यही खान थाले । भोक त उहाहरुलाई पनि लागेको रहेछ । पछीपछी त मन्दिर वरीपरी चढाइएका  फलफूल नैवेध्य तछाड मछाड गर्दै सबै स्वहा । हाम्रो यो हर्कत र तमासा देखेर उपस्थित अन्य भक्तजनहरु हेरेको हेरै । त्यस दिन मात्र थाहा भयो कि भोक तीर्खाले सताए पछि  मान्छेले के के सम्म गर्न सक्दो रहेछ भन्ने कुरा । अनि चढाईएका ती रोटी कसार  लड्डु अमृत समान मिठा र सुगन्धित थिए । त्यसैले त भनिन्छ नि भोजन भन्दा भोक मीठो भनेर । धन्न भैरवी माताले हाम्रो भोक तीर्खा मेटाइन । धन्य छ हे माता भैरवी , राम्रो भए पनि तिम्रै शरण नराम्रो भए पनि तिम्रै शरण ……………………..।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0