अमेरिका र इरानबीच जारी युद्धविराम अन्त्यतिर पुग्दै गर्दा दुवै पक्षले युद्धका लागि तयार रहेको चेतावनी दिएका छन् । वार्ताको भविष्य अन्योलमा परिरहेका बेला कूटनीतिक प्रयासहरू पुनः पाकिस्तानमा केन्द्रित हुने सङ्केत देखिए पनि तेहरानले सहभागिताबारे स्पष्ट धारणा सार्वजनिक नगरेपछि स्थिति अझ जटिल बनेको छ ।
ह्वाइट हाउसका अनुसार उपराष्ट्रपति जेडी भान्स इस्लामाबाद फर्केर दोस्रो चरणको वार्ता अघि बढाउने तयारीमा रहनुभएको छ । तर इरानले अमेरिकी कदमप्रति गम्भीर असन्तुष्टि जनाउँदै वार्तामा सहभागी हुने वा नहुने विषयमा मौनता कायम राखेको छ । तेहरानले अमेरिकामाथि आफ्ना बन्दरगाहहरूमा नाकाबन्दी लगाएर र एक जहाज नियन्त्रणमा लिएर युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको छ ।
इरानका संसद् अध्यक्ष मोहम्मद बाघेर घालीबाफले अमेरिकाले वार्तालाई दबाबको माध्यम बनाउन खोजेको आरोप लगाउँदै खतराको वातावरणमा वार्ता स्वीकार्य नहुने बताउनुभयो । उहाँका अनुसार पछिल्ला दुई सातामा इरानले युद्धक्षेत्रमा नयाँ रणनीति देखाउने तयारी गरिरहेको छ । यसैबीच, इरानको रिभोलुसनरी गार्ड्सले होर्मुज जलडमरूमध्यबाट अनुमतिबिना पार गर्ने जहाजहरूलाई निशाना बनाइने चेतावनी दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानमाथि जल डमरूमध्य क्षेत्रमा जहाजहरूलाई अवरोध गरेर युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ । उहाँका अनुसार फेब्रुअरी २८ मा अमेरिका र इजरायलले सुरु गरेको युद्धपछि इरानले विश्वको करिब पाँचौँ भाग तेल ओसारपसार हुने मार्ग अवरुद्ध गरेको छ । ट्रम्पले सामाजिक सञ्जालमार्फत नाकाबन्दीले इरानलाई कमजोर बनाइरहेको दाबी गर्दै समझदारी नभएसम्म दबाब जारी रहने सङ्केत दिनुभयो ।
युद्धविरामको समयसीमा सकिन लाग्दा वार्तामा सहभागी हुने विषयमा ट्रम्पले इरान तयार हुनुपर्ने बताउनुभयो । उहाँले युद्धविराम समाप्त भए ठूलो स्तरमा आक्रमण सुरु हुनसक्ने चेतावनी दिनुभयो । यद्यपि युद्धविराम केही समय थपिने सम्भावना न्यून रहेको उहाँको भनाइ छ ।
युद्धको जोखिमबीच अन्तर्राष्ट्रिय बजारमा भने तेलको मूल्य घट्दो क्रममा देखिएको छ । अमेरिका–इरानबीच सहमति भएर होर्मुज जल डमरूमध्य पुनः सञ्चालनमा आउने आशाले बजार प्रभावित भएको विश्लेषण गरिएको छ । तेहरानमा युद्धविरामपछि केही सामान्य जीवन फर्किएको देखिए पनि सर्वसाधारणमा अनिश्चितता र आर्थिक दबाब अझै कायम छ । स्थानीय बासिन्दाहरूले अवस्था सहज नभएको र अर्थतन्त्र निकै कमजोर रहेको बताएका छन् ।
यसैबीच, इजरायल र लेबनानबीच छुट्टै युद्धविराम घोषणा भइसकेको छ, जसमा हिजबुल्लाह पनि संलग्न छ । दुवै पक्षबीच वासिङ्टनमा पुनः वार्ता हुने तयारी भइरहेको छ । तर दक्षिणी लेबनानमा छिटपुट हिंसा जारी रहेको र इजरायलले केही क्षेत्रमा नागरिकलाई नफर्कन चेतावनी दिएको छ ।
संयुक्त राष्ट्र सुरक्षा परिषद्ले लेबनानमा एक फ्रान्सेली शान्तिरक्षकको हत्या भएको घटनाको निन्दा गरेको छ । उक्त घटनामा हिजबुल्लाहलाई दोष दिइएको छ । इजरायल–हिजबुल्लाह द्वन्द्वका कारण लेबनानमा हालसम्म हजारौँको ज्यान गइसकेको सरकारी तथ्याङ्कले देखाएको छ ।
अमेरिका–इरान वार्ताको अर्को महत्त्वपूर्ण मुद्दा इरानको समृद्ध युरेनियम भण्डार पनि हो । ट्रम्पले इरान उक्त भण्डार हस्तान्तरण गर्न सहमत भएको दाबी गर्नुभएको थियो । तर इरानले उक्त दाबी अस्वीकार गर्दै युरेनियम कतै हस्तान्तरण नगरिने स्पष्ट पारेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ताले यस्तो विषय वार्तामा कहिल्यै विकल्पका रूपमा नउठाइएको बताउनु भयो । रासस






