बद्री पौडेल ,मकवानपुर ,२०८३ कार्तिक १० गते
नेपालमा आधुनिक सुरुङमार्ग निर्माणको चर्चा गर्दा नागढुंगा सुरुङमार्गलाई विशेष उपलब्धिका रूपमा लिइन्छ। तर, दक्षिण एशियाको मानव निर्मित पहिलो सुरुङमार्गब राणाकालमै निर्माण भएको मकवानपुरको चुरियामाई सुरुङमार्गले नेपालमा पूर्वाधार विकासको इतिहास एक शताब्दीभन्दा पुरानो रहेको प्रमाणित गर्छ। तत्कालीन समयमा सीमित प्रविधि र साधनस्रोतका बीच पहाड छेडेर निर्माण गरिएको यो सुरुङमार्ग नेपालको ऐतिहासिक इन्जिनियरिङ उपलब्धिमध्ये एक हो।
तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जङ्गबहादुर राणाको शासनकालमा निर्माण भएको चुरियामाई सुरुङमार्ग वि.सं. १९७४ सालमा सम्पन्न भएको हो , तत्कालीन समयमा वीरगञ्ज–अमलेखगञ्ज हुँदै मकवानपुरको हेटौँडाबाट भीमफेदीसम्म सडक यातायात सञ्चालनमा रहेको थियो। सोही सडक सञ्जाललाई सहज बनाउन चुरियाको पहाड छेडेर सुरुङ निर्माण गरिएको थियो। त्यसबेला पहाड काटेर सडक बनाउनु र सुरुङमार्ग निर्माण गर्नु आफैँमा ठूलो प्राविधिक चुनौती थियो।
सुरुङ निर्माणमा तत्कालीन नेपाली इन्जिनियरिङ क्षेत्रका अग्रणी व्यक्तित्व स्वर्गीय डिल्लीजङ्ग थापाको भूमिका रहेको शिलालेखमा उल्लेख छ। उनलाई ब्रिगेड कर्नेल डिल्लीजङ्ग थापा भनेर उल्लेख गरिएको छ। सीमित आधुनिक उपकरण र प्रविधिको समयमा नेपाली श्रम तथा प्राविधिक सीपको प्रयोगबाट निर्माण गरिएको यो संरचनाले तत्कालीन नेपालको इन्जिनियरिङ क्षमता झल्काउँछ।
शिलालेखअनुसार, सुरुमा सुरुङको लम्बाइ पाँच सय मिटर रहेको थियो। तर, वि.सं. १९९० सालको विनाशकारी भूकम्पबाट सुरुङमा ठूलो क्षति पुगेपछि यसको केही भाग भत्कियो। त्यसपछि पुनर्निर्माण तथा संरक्षणका क्रममा अहिले सुरुङको लम्बाइ २२१ मिटर कायम रहेको छ। अर्थात्, सुरुको तुलनामा सुरुङको लम्बाइ २७९ मिटर घटेको छ। यसको लम्बाइसम्बन्धी विवरण सुरुङस्थलमा राखिएको शिलालेखमै उल्लेख छ।
सुरुङको चौडाइ तीन मिटर र उचाइ २.७५ मिटर रहेको विवरण पनि शिलालेखमा छ। बागमती प्रदेश सरकारले ऐतिहासिक संरचनाको मर्मतसम्भार तथा संरक्षण गरेपछि वि.सं. २०८१ सालमा सर्वसाधारणका लागि पुनः खुला गरिएको हो। अहिले सुरुङभित्र प्रवेश गर्न टिकटको व्यवस्था गरिएको छ। यसले ऐतिहासिक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवर्द्धनको सम्भावनासमेत बढाएको छ।
चुरियामाई सुरुङमार्गसँगै रहेको चुरियामाई मन्दिरको पनि धार्मिक तथा ऐतिहासिक महत्त्व छ। सडक छेउमा रहेको मन्दिरमा यात्रुहरूले दर्शन गर्ने गरे पनि मूल मन्दिर सुरुङको मुखनजिकै करिब एक सयदेखि डेढ सय मिटर माथि रहेको छ। सडकबाट यात्रा गर्ने धेरैजसो यात्रु तलको मन्दिरमा दर्शन गरेर अघि बढ्छन्। जङ्गलको बीचमा रहेको ऐतिहासिक सुरुङमार्ग र माथि रहेको मूल मन्दिरबारे भने धेरैलाई जानकारी छैन।
नेपालमा पूर्वाधार विकासको इतिहास पछिल्लो समयबाट मात्रै सुरु भएको होइन भन्ने प्रमाण चुरियामाई सुरुङमार्ग हो। आज आधुनिक प्रविधिबाट नागढुंगाजस्ता ठूला सुरुङमार्ग निर्माण भइरहँदा एक शताब्दीअघि निर्माण गरिएको चुरियामाई सुरुङमार्गले नेपालको विकास यात्राको पुरानो अध्याय सम्झाउँछ। त्यसबेला वीरगञ्ज, अमलेखगञ्ज, हेटौँडा र भीमफेदीलाई जोड्ने सडक यातायातका लागि यो सुरुङमार्ग महत्त्वपूर्ण संरचना थियो।
तर, यति महत्त्वपूर्ण ऐतिहासिक सम्पदा अझै पर्याप्त प्रचारप्रसारको अभावमा ओझेलमा छ। सडकबाट यात्रा गर्ने धेरैले यसको इतिहास र प्राविधिक महत्त्वबारे जानकारी नै पाउँदैनन्। सुरुङमार्गको संरक्षण, ऐतिहासिक तथ्यको अभिलेखीकरण, सूचना बोर्डको व्यवस्थापन र पर्यटनसँगको एकीकरणमा सम्बन्धित निकायले ध्यान दिन सके चुरियामाई राष्ट्रिय गौरवको सम्पदाका रूपमा स्थापित हुन सक्छ।
चुरियामाई सुरुङमार्ग केवल पहाड छेडेर बनाइएको बाटो होइन; यो राणाकालीन नेपालको इन्जिनियरिङ क्षमता, नेपाली श्रम र देशको सडक विकासको इतिहास बोकेको जीवित सम्पदा हो। यसको संरक्षण गर्नु भनेको नेपालको विकास इतिहासलाई भावी पुस्तासम्म सुरक्षित राख्नु हो।







