बिश्वास सिलवाल , धादिङ , ११ कार्तिक २०८३

फुर्के खोलाको पुल बाढीले बगाएको दुई महिनाभन्दा बढी बितिसक्दा पनि बेलीब्रिज निर्माण सम्पन्न हुन सकेको छैन। पुल नहुँदा यात्रु तथा मालवाहक सवारीसाधनले लामो र कच्ची वैकल्पिक सडक प्रयोग गर्नुपरेको छ। जनप्रतिनिधिबीच जिम्मेवारीको बहस भइरहँदा नागरिक भने दैनिक सास्ती भोग्न बाध्य छन्।

फुर्के खोलामा पुल नहुँदा मुग्लिन–नारायणगढ हुँदै चितवन तथा अन्य जिल्ला जाने सवारीसाधनले वैकल्पिक मार्गबाट मास्टर पुग्न झन्डै १९–२० किलोमिटर यात्रा गर्नुपर्छ। त्यसपछि मलेखु हुँदै फर्केर आउँदा थप १९–२० किलोमिटर दूरी पार गर्नुपर्ने अवस्था छ। यसरी पूर्व–पश्चिम राजमार्गतर्फ जान मात्रै झन्डै ४० किलोमिटर वा सोभन्दा बढी घुम्नुपर्ने बाध्यता छ। कच्ची सडकका कारण समय र खर्चसमेत बढेको छ।

यसको प्रत्यक्ष असर सार्वजनिक यातायात, मालवाहक सवारीसाधन, बिरामी तथा दैनिक कामकाजका लागि यात्रा गर्ने सर्वसाधारणमा परेको छ। वैकल्पिक सडकबाट उड्ने धुलो र धुवाँले सडक आसपासका बासिन्दाको जनजीवनसमेत कष्टकर बनेको छ।

फुर्के खोलामै बेलीब्रिज बने यात्रामा ठूलो राहत

फुर्के खोलाकै आसपासमा बेलीब्रिज निर्माण भए धादिङबेसीबाट सीधै फुर्के खोला पुगेर बायाँतर्फ काठमाडौं र मुग्लिन–नारायणगढ हुँदै चितवन तथा पोखरातर्फ जान सकिन्छ। दायाँतर्फ मलेखु हुँदै पूर्व–पश्चिम राजमार्गका विभिन्न जिल्लामा पुग्न सकिन्छ। यसले अनावश्यक घुमाउरो यात्रा घटाउनुका साथै समय, इन्धन र ढुवानी खर्च बचाउनेछ।

तर, पुल बगेको दुई महिनाभन्दा बढी बितिसक्दा पनि बेलीब्रिज निर्माण सम्पन्न हुन सकेको छैन। धादिङ क्षेत्र नम्बर १ र २ का सांसद , प्रदेश  तथा स्थानीय सरकारबीच जिम्मेवारीको विषयमा आरोप–प्रत्यारोप भइरहँदा नागरिकले भने समस्याको तत्काल समाधान खोजिरहेका छन्।

नागरिकलाई कसले जस लिने भन्ने बहसभन्दा पनि पुल कहिले बन्छ भन्ने जवाफ चाहिएको छ। सम्बन्धित निकायले आपसी समन्वय गरी निर्माणलाई तीव्रता दिनुका साथै काम सम्पन्न हुने समयसीमा सार्वजनिक गर्न आवश्यक छ। फुर्के खोलामा बेलीब्रिज निर्माण हुनु एउटा पुल सञ्चालनमा आउनु मात्र होइन, यात्रुको समय, खर्च र सास्ती घटाउने महत्वपूर्ण आवश्यकता हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0