धादिङ बेसी , ३ बैशाष २०८३
भोली मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन नजिकिँदै गर्दा धादिङबेसी बजार क्षेत्रमा चहलपहल ह्वात्तै बढेको छ। किनमेल र आवतजावत गर्ने सर्वसाधारणको भीडसँगै सवारी साधनको चाप पनि बढ्दा पुच्छार बजारस्थित पुलमा समस्या झन् जटिल बनेको छ।
धादिङबेसी प्रवेश गर्ने मुख्य नाका मानिने उक्त पुल चाडपर्वका बेला अत्यधिक व्यस्त हुने गर्दछ। अहिले पुल साँघुरो भएकै कारण दोहोरो सवारी सञ्चालन भइरहँदा पैदल हिँड्नेहरूलाई जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था छ। पुलमा पैदल यात्रुका लागि छुट्टै वैकल्पिक बाटो वा झोलुङ्गे पुलको व्यवस्था नहुँदा सर्वसाधारणले सास्ती भोगिरहेका छन्।
स्थानिय खगेन्द्र कोईरालाका अनुसार २०४२/०४३ सालतिर निर्माण सम्पन्न भएको पक्की पुल २०५०/०५५ सालसम्म आइपुग्दा सँगै झोलुङ्गे पुल पनि सञ्चालनमा थियो। तर हाल झोलुङ्गे पुल नहुँदा सम्पूर्ण चाप यही एउटै पुलमा केन्द्रित भएको छ।
धादिङ, सल्यानटार, आरुघाट हुँदै मनासलु ट्रेकिङ मार्ग तथा साङ्कोष–तिप्लिङ ( दामन पाख्रिन मार्ग) सडकमा सवारी साधनको संख्या बढ्दै गएकाले पुलमा दैनिक चाप बढ्दो छ। यसले गर्दा दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयको भनाइ छ।
स्थानीयवासीहरूले कम्तीमा पहिले जस्तै झोलुङ्गे पुल पुनः निर्माण गर्न वा पक्की पुल नै विस्तार गर्न माग गरेका छन्। “पैदल यात्रुका लागि सुरक्षित विकल्प नहुँदा दैनिक आवतजावत नै जोखिमपूर्ण बनेको छ,” एक स्थानीयले भने, “झोलुङ्गे पुल भए पनि धेरै सहज हुन्थ्यो।”
चाडपर्वको समयमा झन् बढी भीड हुने भएकाले सम्बन्धित निकायले तत्काल ध्यान दिई दीर्घकालीन समाधानतर्फ अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ। 






