बाँके, कोहलपुर — मालपोत कार्यालय कोहलपुरको मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डे घुस लिएको आरोपमा रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालय अन्तर्गत नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले उनलाई २०,००० रुपैयाँ घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।
सेवाग्राहीसँग जग्गाको मोठ भिडाउने काममा सहजीकरण गरिदिने बहानामा खरिदार पाण्डेले लेखापढी व्यवसायी (विचौलिया) शान्ती पुनमार्फत घुस माग गरिरहेको भन्ने सूचना र उजुरीका आधारमा आयोगले कारबाही गरेको हो। सोही योजनाअनुसार, सेवाग्राहीबाट माग गरिएको रकम तिवारी रेष्टुरेण्टका सञ्चालक घनश्याम तिवारीलाई राख्न दिइएको अवस्थामा टोलीले खरिदार पाण्डे, लेखापढी व्यवसायी पुन र तिवारीलाई जिल्ला बाँके, कोहलपुर नगरपालिका–११ स्थित तिवारी रेष्टुरेण्टबाट पक्राउ गरेको हो।
अख्तियारका अनुसार मिति २०८२ साल जेठ ९ गते (2025 मे 22) को दिन पक्राउ परेका ती तीनै जनामाथि हाल थप अनुसन्धान भइरहेको छ।