धादिङ, २०८२ जेठ ८ नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङका सहायक क्याम्पस प्रमुख एवं उप-प्राध्यापक देवीप्रसाद अधिकारीले क्याम्पस प्रमुख पदको छनोट प्रक्रियाप्रति गम्भीर असन्तुष्टि जनाउँदै संचालक समितिलाई ज्ञापनपत्र बुझाएका छन्।

उनले मिति २०८२।०१।३१ मा प्रकाशित क्याम्पस प्रमुख पदको विज्ञापन सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञापन तथा छनोट प्रकृया नै गैरप्राज्ञिक र मनोमानी ढंगबाट अगाडि बढाइएको आरोप लगाएका छन्। ज्ञापनपत्रमा विश्वविद्यालयको प्राज्ञिक मापदण्डलाई बेवास्ता गर्दै संचालक समितिले आफ्नै निर्णयको हवाला दिँदै तयार पारेको कथित मापदण्डले क्याम्पसको शैक्षिक मर्यादा र अनुसन्धानको पक्षलाई कमजोर बनाएको उल्लेख गरिएको छ।

अधिकारीले उक्त मापदण्ड विशुद्धरूपमा कुनै निश्चित व्यक्तिलाई लाभ पुग्ने गरी बनाइएको आशंका व्यक्त गर्दै यसले क्याम्पसमा उच्च मनोबलका साथ शिक्षण गरिरहेका प्राध्यापकहरूको अपमान गरेको बताएका छन्।

उनले यस्तो गैरप्राज्ञिक प्रक्रिया तुरुन्त खारेज गरि विश्वविद्यालयका प्राज्ञिक व्यक्तिहरूको नेतृत्वमा नयाँ समिति गठन गरी छनोट प्रक्रिया पुनः सुरु गर्न माग गरेका छन्। साथै, यो अपिल बेवास्ता गरिए त्यसबाट उत्पन्न हुने सबै जिम्मेवारी संचालक समितिले लिनुपर्ने चेतावनी समेत दिएका छन्।

नीलकण्ठ बहुमुखी क्याम्पसमा स्व वि यु निर्वाचन समेत गर्न नसकेको अवस्थामा पुन क्याम्पस प्रमुख छनोटमा समेत भाँडभैलो  देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0