गोपाल फ्युबा तामाङ
सुरुवात
खनियाबासमा किसान विद्रोह भयो । साहुँ र आसामीविचको विवादले उग्ररुप लिएर भकारी फोर्ने र मानिस लखाट्नेसम्म भयो । यो क्रम बढ्दै गएर पश्चिम १ नम्बरभर चल्यो । हुँदाहुँदा नेपालका बिभिन्न स्थानमा यही प्रकृतिको प्रतिरोधहरु भए । क्रान्ति आन्दोलन प्रतिरोध लुटपाट अनेक नामले चिनियो । प्रतिनिधिसभामा पक्ष र विपक्षमा वहस भयो । अन्ततः लामो पहल कदमीपश्चात प्राप्त जनताको प्रतिनिधिमूलक सस्था प्रतिनिधि सभा विघटन गर्ने एक वहाना बन्न गयो । राजाले पञ्चायती व्यवस्था लागु गराउने महत्वपूर्ण मौका मिल्यो ।
बहुदलीय व्यबस्थाको घाँटी थिच्ने कारण बन्यो । यस्तो घटनाबारे लामो समयसम्म सामान्य चर्चा पनि गरिएन । एससिआरसिको वहस श्रृङ्खला मार्फत जनजनसम्म यस्को सूचना पुग्यो । अहिले आएर खनियाबास विद्रोह एक मसला बनेको छ । त्यसैले २०७० सालदेखि आफ्नै तरिकाले लगातार सोही विषयको वास्तविकता बुझ्न स्रोत व्यक्तिहरु भेट्न गाउँ गाउँ डुल्ने अनि ती सूचनाको आधारमा द्वितीय स्रोतको खोजीमा पुस्तकालयहरु धाइरहने एक डुलुवा भएको नाताले यस लेखमा घटना घट्नुअघिको पृष्ठभूमि राख्ने प्रयास गरिएको छ । दामन पाख्रिनले सन् १९९४ मा अमेरिकाको एक विश्वविद्यालयका प्राध्यापकहरुलाइ दिइएको लामो अन्तर्वार्ता यस लेखको मूख्य द्वितीय स्रोत हो ।
असन्तुष्टिका कारणहरु
खनियाबास र यस आसपासका सबै मतवालीहरु (गैरखस) आफन्त तथा छिमेकीहरु साँहु बाजेकोबाट ऋण ल्याएको हुन्थ्यो । त्यसैले उनीहरुले लगाएको काममा जानुपर्थ्यो । त्यो त्यस क्षेत्रको नियमित प्रक्रिया जस्तै थियो । सर्वहारावर्गीय गरीव परिवारका सन्तानले सानै उमेरमा क्षेत्री बाहुनहरुकोमा काम गर्न जानु पर्यो । काम भनेको आवश्यकता अनुसार लगाएको गर्नु पर्थ्यो । जस्तै, भारी बोक्नु पर्ने, खेतबारी खनजोत गर्नुपर्ने, घासदाउरा गर्नु पर्ने आदि । अझ गज्जब त के थियो भने काम उसकोमा गर्नुपर्ने तर खान र बस्न आफैले ब्यवस्था गर्नु पर्ने थियो । जे खाए जसरी बसे पनि उनीहरुले वास्ता गर्दैनथे । पेटभर खान र राम्रो लुगा लगाउन पाउदैनथे । त्यसरी सधै काम गर्न गए पनि ऋण बढेको बढ्यै हुन्थ्यो ।
गोरखा राज्य विस्तारको क्रममा १८१७ मा धादिङको डब्जोङ, १८१९ भदौमा रामेछापको ताल्च्यो, १८१९ असोजमा काभ्रेको तिमाल, १८२१ मा रसुवाको बुङचुर र १८२३ भदौमा नुवाकोट ककनी कब्जामा लिएका थिए । राम शाह कै पालाको आक्रमणमा गोम्बोङजोङ दरबारका याङमो घले हार मानेर ज्यर्दी (खस) शासकको अधिनमा पुगेका थिए । उनीहरुको दमन सहन नसकेर मल्ल राजा अधिनस्त नुवाकोटमा शरणको लागि भागेका थिए । भने नरभूपाल शाहको पालामा कटुञ्जे सामरी पनि अधिनमा लिइएको व्याख्या खरदार शेरमान सिंहले नरभूपाल शाहको जीवनी लेख्ने क्रममा उल्लेख गरिएको पाइन्छ । १८ औं शताब्दीको शुरुदेखि तामाङ जातिको स्वराज्य र तामाङसालिङको भूमि माथि शाहबंशीय राजाहरुले अतिक्रमण शुरु गरेर तामाङ जातिलाई रैती बनाउदै उनीहरु माथि हिन्दु धर्मको वर्ण व्यवस्था र संरचना जबरजस्ति लादिदै हिन्दु मूल्य मान्यता अनुसारको कानुन मान्न बाध्य पारियो (ख्युङबा : २०६८) ।
यस कुरालाइ थप प्रष्ट पर्दै बाबुराम फ्युबाले नेपाली राजनीतिमा खनियावास काण्ड र जातीय दृष्टिकोण शीर्षकमातामाङ डाजाङ अंकको १००अङ्कमाशाहवंशीय राजाहरुको अन्याय, अत्याचार, दमन र शोषण सहन नसकी रणबहादुर शाह र गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा पटकपटक विद्रोह गरेका थिए । विद्रोहलाई दबाउन वल प्रयोग गरी कैयौलाई बेपत्ता बनाए पछि आफ्नो थातथलो छोड्न विवस भएका थिए । “दुःख दिने र दबाउने क्रम बढ्दै गएपछि तामाङहरुले बि.सं १९३८ र १९४२ तिर सैन्य विद्रोह नै गरे । दमनको श्रृंखला बढाएपछि सहन नसकी नेपाल र भोट(तिब्बत)को युद्धताका नेपाली शासकलाई असहयोग गरे । त्यसैकारण भोटका सैनिक बेत्रावतिसम्म आउन सफल भए । त्यहीबेला बेत्रावती सन्धीको नाममा म्हङह्युलका केही तामाङ भू भाग तिब्बतलाई सुम्पिदिएर तामाङ जातिलाई कमजोर बनाउने काम भयो ।
इस पश्चात तामाङ जात पनि लेख्न नपाउने कानुनी अड्चन लगाइयो । यस नियमलाई सरदार जंगबीर तामाङ ओ. बि. ई. डी. एम. एल. को अगुवाइमा १९ं८९ भदौ ६ मा भीम शमशेरले इस्तिहार जारी गरी फुकुवा गरेका थिए ।
खोरिया फाँडी, काला बञ्जारा बसाइ आवाद गुजार गर्ने, घामपानीको सामना गर्दै जग्गा आवाद गर्ने किसान चर्को ब्याजको कारण सुकुम्बासी बनाउँदथे । राम्रो खेतबारी, ठूलो रुख, ठूलो भीर, ठूलो ढुंगा सबैमा कब्जा जमाउने गर्थे । ढडेन विराएर राम्रो गरा बनाए पछि दर्ता छ भनी किचलो गर्दथे । मुद्दामा फसाउँदथे । मुद्दा शतप्रतिशत उनीहरु जित्दथे किनकी अड्डामा उनीहरु कै मान्छे हुन्थे । निती नियम सबै उनीहरु कै पक्षमा हुन्थे । पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले ‘पर्वते भाषी र दौरा सुरुवालवाला सरकारी कर्मचारीले त्यस भाषा नजान्ने र भेष नलगाउनेप्रति भेदभाव गर्दथे’ भनी सार्वजनिक रुपमा आलोचना गरेका छन् ।
सत्तामा रहेका तागाधारीहरुको उन्नति, विस्तार र समृद्धि हुँदै थियो भने मतवालीहरुको दुर्गति, अद्योगति र सांख्यकीय कटौति भइरहेको थियो । जंगी, न्यायीक, प्रशासनिक तथा सबै राज्यको अख्तियार श्री ३ हरुकै हातमा थियो । श्री ५ डम्मी फिगर मात्र थियो (जनकमान, श्रेष्ठ, हराएको इतिहास) । राज्यसत्ताले हारेको रैती बनाएर दासताको घेरामा राखे । तामाङ केटीहरुलाई राजा ठकुरी र राणाहरुको यौन दासी वा सुसारे बनाएर चरम भौतिक शोषण गरें । यसरी तामाङहरु लामो समयसम्म अपमानित भए, हिनताबोधले थिच्चिए । तामाङहरुलाई सुबिधाबिहिन बनाउन एवं विद्रोहको इतिहासबाट डराई तत्कालिन राज्यसत्ता सञ्चालन गर्ने शासकहरुले कायरतापूर्वक साम, दाम, दण्ड, भेदको सूत्र प्रयोग गर्ने नीति अपनाएका थिए (ख्युङबा : २०६८) ।
दुई तीन महिनामा नै डेढा, सवाई ब्याज उठाउने चलनले मिहनेत गर्दा गर्दै पनि किसानको हातबाट जग्गा फुस्कन्थे र भोकभोकै पर्दथे । गहना बेचेर जग्गा थाम्न कोसिस गरे पनि अनेक अर्घेलो गरेर हत्याउँदथे । अनि त्यस क्षेत्रका बिर्तावालहरु बाहेक प्रायको हालत खराब थियो । भारतको मुक्तिको लागि नेपाली समेत लागिरहेको बेला यस क्षेत्रका जनताको हाल भने करुणामय थियो । ऐन कानुनका नाममा पाँच भाग मुलुकी ऐन थियो त्यसको उपचारको लागि । अफ्टेरो जतिमा श्री ३ को तजबीज भनिएको थियो जताततै (शर्मा : २०६०ः१८६) ।
त्यसैले मुलुकी ऐनको अन्तिम टुंगो पनि हुकुमबाटै चल्दथ्यो । राणाभन्दा ठूलो दाता र धर्मात्मा संसारमा कोही छैन भनी जयजयकार गर्नेको घुइचो रहन्थ्यो । त्यसरी नै खनियावासका साहुँहरुलाई पनि स्थानीयहरु प्राण जोगाइदिने महान दाता मान्दथ्यो ।
जति काम गरेनी ज्याला नदिने, अधिया नदिने, दास सुकुम्बासी बनाइ दिन्थे । तमसुक आतङकले आरामको निद कसैको थिएन । सधै काममा जोतिने किसानहरु जति नै परिश्रम गर्दा पनि खान लाउन नै पुग्दैन थे । त्यसरी बिना ज्याला, बिना खवाइ, बिना लवाइमा उनीहरुको जमिनमा जति काम गरे नि केही फाइदा नहुने भए किन सेवा गर्ने ? स्याबासी नपाउने भए किन मरी मरी काम गर्ने ? जसरी नि सुकुम्बासी हुनै छ त किन श्रम गर्ने ? किन पसिना बगाउने ? किन बाजे भन्ने ? किन गुरु भन्दै पुज्ने ? यस्तै विचारको उदय भयो दामन पाख्रिनमा ।
उनको मनमा अब साहूँको चाकरी र काम हैन विद्रोहको भोक जागृत हुन थाल्यो । तैपनि बालक मान्छे के गरोस् ? घर बसे साहँुले बोलाउन आउने, बुबामुमाले काममा जान भन्ने । त्यही डरले भाग्दै भाग्दै हिड्न थाले । दश एघार वर्षकै उमेरमा असन्तुष्टिको चाङ दामनको दिमागमा लागिसकेको थियो । विद्रोहको मति घुसिसकेको थियो । र त बिरामी भो भनी सुति दिन्थे । तर बहाना गर्छस् भनी आफुभन्दा सानोहरुले लठ्ठीले पिटेको सह्य हुँदैनथ्यो । दामन पाख्रिन सम्झन्छन्,“जहिले पनि उसको काम गर्नुपर्ने, भारी बोक्नु पर्ने, जोत्नुपर्ने, खन्नु पर्ने । अं… त्यो पनि खन्यो जोत्यो भनेर उसले… चाइने पेटभरी खा भनेमात्र पनि त चित्त बुझ्थ्यो । त्यो पनि नदिने क्या । बस्नु पर्ने आफ्नै घरमा गएर बस्नु पर्ने । खोले फाडो जे सुकै खाउ काम गर्न जानै पर्ने । हेर्नुस् है कस्तो होला । त्यसरी हामीलाई बिना ज्याला, बिना खाइमा … जमिन उसको, काम गरिदिनु पर्ने उसको, अनि काम गर्न … केरे … भोको हिड्नु पर्ने आफु (पाख्रिन : ई १९९४) ।”
देशमा तानाशाही, स्वेच्छाचारी, जहाँनिया, हुकुमी र निरंकुश शासक थियो । जनताको दुःख, पीडामा साथ दिनुको साटो दमन नीति अपनाउँदथ्यो । देशको मूख्य भाग राणाशासनको बिर्ता बनिसकेको थियो । राजा भने खोपीको देवता मात्र थिए । हुन त शाहहरु पनि ऐस, आराम र दरबार भित्रै थिए । त्यसैले देशमा शासक र गरिब प्रजा गरी दुई वर्गमा विभाजित थिए । शासक वर्ग देशको सबै ढुकुटी आफ्नै बराबर मानेर भोगचलन गर्थे भने गरिब प्रजाहरु दिनप्रतिदिन लुटिरहेको थियो । मध्यम वर्ग भने दिनानुदिन कङ्गाल हुँदै थियो । खनियावासमा पनि त्यसैको नक्कल थियो । अन्याय, अत्याचार र शोषणले सीमा नाघेको थियो । यहाँसम्म की १९९७ को शहिद काण्ड हुनु पूर्व श्री ३ ले श्री ५ को वयान लिन्थ्यो । जनकलाल शर्माका अनुसार प्रजा परिषदको पर्चा काण्ड पश्चात, “स्कुल खोल्न अनुमति माग्नेहरु, भारतीय अखबार पढ्नेहरु, साथी भाइका साथ मिलेर हिड्नेहरु, हरिकिर्तन गर्नेहरु, स्कुल कलेजमा पढाउने शिक्षकहरु, कथा लेख्नेहरु, निबन्ध लेख्नेहरु, कविता लेख्ने कविहरु कसैलाई पनि पक्राउ नगरी छोडेन राणा सरकारले । १९९७ मंसिर २८ मा राजा र उनका ३ वटै छोराहरुलाई चार कमाण्डिङ जनरलको सैनिक अदालतमा बयान लिइयो (शर्मा : २०६०) ।”
श्री ३ त श्री ५ लाई पनि कारवाही गर्न चहान्थे । तर त्यसको लागि अंग्रेजको स्विकृति चाहिन्थ्यो । त्यसो गर्न मानेनन । यसकै श्रृंखला २००७ मा श्री ५ लाई निर्वासनमा पठाउन लागेको सुराकीका आधारमा शरण दिएका थिए । शिक्षित र सचेतसँग सचेत रहन्थे राणाहरु । त्यस्तो मान्छे पटक्कै मन पराउँदैनथे त्यस समयका शासकहरु । शुक्रराज शाष्त्री र उनका चेलालाई गीता प्रवचन गरेकै कारण ६ वर्ष थुनामा राखेका थिए (शर्मा : २०६०) ।
राणातन्त्रको अर्थ केवल केही राणाहरुको हातमा मात्र सम्पूर्ण शासन रहनु भन्ने थिएन । त्यो मध्यकालिन सामन्ती प्रथाको एक उदाहरण बनेको थियो । आफ्नो र आफ्नै परिवारका सदस्यहरुलाई जन्मने बित्तिकै जनरल बनाउँदथे र आफु अनुकुल शासन चलाउँदथे । खनियावासका बिर्तावालहरु भने बिना भर्ती मेजर कहलिए ।
त्यो हाम्रो नुवाकोट रसुवा जिल्लामा रकम तिर्नुपर्दथ्यो । यो राज गोठमा यति घण्टी गर्नु पर्यो, भारी रकम, बेसी रकम पनि गर्नु पर्यो त्यो बेलामा पनि खनियावासकालाई त्यो किसिमको रकम लगाएको थिएन । त्यो राणहरुले भारी बोकाउने, त्रिशुलीबाट आँप बोकाउने त्यो चाइ परेन हामीहरुले (पाख्रिन : ई. १९९४) ।
तर खनियावासका बिर्तावालाहरु भने कम थिएनन् । बिर्तावाल हुनु नै शोषण गर्ने लाइसेन्स थियो । मोहीसँग एक तिहाइसम्म अन्न लिन सकिथ्यो । धनी कहलाउन वा शक्तिशाली हुने लालसामा आफ्नो थातथलोमा नसकेपछि अन्य स्थान खोज्दै आएका मेजरका सन्तानहरुले केन्द्रिय शासकको सिको गर्दथे । यहाँ अर्कै प्रकारको व्यवस्था थप गरिएको थियो । संस्कृति अनुसार कार्य गर्न बिर्तावाल साहुँहरुले सामान्य खर्चको व्यवस्था गरिदिन्थ्यो । त्यस बमोजिम र म्हिला, नका म्हिला तिर्न जानु पर्दथ्यो । बाख्रा रकम, कुखुरा रकम वापत हरेक वर्ष प्रत्येक परिवारले ३ निमेक तिर्नुपर्दथ्यो । साँहुहरुको छोरी बुहारी लिन वा पुर्याउन निशुल्क जानु पर्दथ्यो (बुद्धिबहादुर) ।
यसैक्रममा म खोप्लाङ, ढोला, पुर्सो, तान्द्राङ, गाइखोर, च्यार्लिङ, हार्मे, लिगलिग, भिरकोट, आदि ठाउँहरुमा पुगेको छु । साहुँहरु विवाहको पहिलो वर्ष दशैमा टिका थाप्न जानु पर्ने अनिवार्य प्रथा रहेछ कयारे । हामी दुईजना थुन्सेमा कोसेली बोकेका थियौं । मेरो भारीमा दहीको ठेकी र ३ घरी मालभोग केरा परेछ । साहुँ घोडामा टकटक जाने, हामी भने पसिनाले निथ्रुक्क हुने । कही खाजा खाऊ पनि नभन्ने, खाना खाउः पनि नभन्ने । एकाविहानै निस्किएको अबेला पुग्थ्यौं । दिनभर भोकै हुन्थ्यो । कहिलेकाही भारी माथि बच्चा पनि बोक्नु पर्दथ्यो (सल्चलम)।
यसरी सबै परिवारलाई सताउदथ्यो । नाइ जान्न भन्ने अवस्थानै थिएन । सबैलाई आफ्ना सहकर्मीहरु, पूर्खाहरु साहुँको खुशी र आवश्यकतामा काम गरिरहेको चित्त बुझेको थिएन । ऋण नपाउला भनेर सेवा सुश्रुषा गर्न तछाड मछाड गर्दथे । मिठो मसिनो खान, पेटभर खानको लागि साहुँहरुले नदिए घरको अनाजले ३ महिना पनि खान पुग्दैनथ्यो । भोकको चपेटा र रन्काले रन्थनिएर देशको ठूलो जमात सस्तोमा गल्लावालाको पछि लाग्ने ढाक्रेमात्र हैन दरबानमा, ढोकेमा, आसाममा आरा काट्न, खोरिया फाँड्न, चिया कमान र कोइला खानीमा भर्ती हुन गइरहेको थियो । यसैक्रममा सिलाङमा गएकाहरुको दुःख सम्झी साध्य थिएन । सिलाङमा भिरालो जमिन थियो । नेपालबाट गएका तामाङहरुलाई रुख ढाल्न सिपालु मान्थे । भिरालो पाखामा लहरै भएका रुखहरुलाई एकापट्टि काट्दै गएर सबैभन्दा माथिको रुख ढालेपछि एकपछि अर्को रुखले आफै ढाल्दै ल्याउँथ्यो । पछि मुडा गिड्नेबेलामा अड्याउदा कतिपयलाई किचेर मुडा पनि फुत्किन्थे । कतिपयको हात, गोडा र ढाड भाचेर फर्किनु पर्दथ्यो । त्यसमाथि बंगाली ठेकेदारहरु ज्याला नदिइ भागेको थुप्रै घटनाहरु थिए । हाम्रो गाउँतिरको पनि कोही बेपत्ता भए (सल्चलम) ।
सल्चलम दाज्युभाइले यही घटना सुनाएर सिलाङ जान भेडीगोठ छाडेर आएको एक गोठालोलाई भने देउरालीबाट फर्काएका थिए । उनी सिलाङ जान भनेर दुईवटा कोठे राडी बोकेर आएका थिए । त्यसबेला एउटा राडीको मोल रु १२ पर्दथ्यो ।
कसैलाई पनि यसरी मुग्लान जाने रहर थियो । मिठो खाने र राम्रो लाउने रहर पनि थियो । दुई छाक खान र लाज ढाक्न पनि नपाउने गाउँमा रहने रहर मर्दै गएको थियो । ठुला ठुला जमिनदार र बिर्तावालाको जमिन परिश्रमी किसानहरुको हात नपरेसम्म उत्पादनको हिस्सा बढ्दैनथ्यो । गरिब किसानको हातमा जमिन पर्नुको सट्टा झन खोसिदै थियो । परिश्रम गर्नेसँग आफ्नो जमिन थिएन, काम नगर्नेसँग जमिन प्रशस्त थियो । राम्रो उब्जाउ हुने खेतबारी सबै साहुँहरुको हात परिसकेको थियो । त्यसैले दिन प्रतिदिन गरिब किसानहरुको जीवन कष्टकर हुँदै जटिल मार्गमा धकेल्दै थियो । कहाँ कहाँ ढडेन परेन छ… त्यही पनि ढडेन भीर भएसम्म उसले केही भन्दैन । जब मिहिनेत गरेर त्यसलाई गरा बनाएर खेती गर्ने योग्य भैसकेपछि… मेरो दर्ता छ त्यहाँ … त्यो पनि खाइदियो । यस्तो सताउने की केही भनेर साध्य छैन के (पाख्रिन : ई १९९४) ।”
राणाहरु डरलाग्दा आक्रमक जन्तु जस्ता देखिन्थे । नेपाली जनता भाग्यबिधाता ठान्थे राणाहरु । भक्ष र भक्षकको सम्बन्ध थियो राणा शासकको । अंग्रेजले पूरै स्वतन्त्रता दिएका थिए राणाहरुलाई जनताको शोषण गर्न (शर्मा : २०६०) । खनियावासका साहुँहरु त्यो भन्दा फरक थिएन । अनेक किसिमले दमन, शोषण गर्दथे । “हाम्रो पश्चिम १ नम्बरमा मैले बुझेको त्यो माथिको अहिलेकये मेरो क्षेत्रमा (धादिङ क्षेत्र नं १) तिनवटा परिवार थियो ।
एक परिवार सिंखडा, एक परिवार काजी भन्ने क्षत्री, एक परिवार रिजाल भन्ने बाहुन परिवार । यी तीनवटै क्षत्रीबाहुनहरु हुन् । यिनीहरुको पोलिसी के रहेछ भने रिजालहरु ह्ुंगा (मान्छेलाई समातेर पनि पिट्ने, मुद्धा दिने र फकाउने), सिंखडाहरु चाहि फकाएर भ्याइदिने, काजी परिवार के गर्ने भने देखिन् खाली चाइने केरे द लबनेर कुटेर पिटपाट गरेर खाने । यो तीन परिवारले हाम्रो त्यो भेग खत्तम, सारा पूरा चाइने सुकुम्बासी । आधार के भने कमाएर खाने जमिन जम्मै, ठूलो रुख, ठूलो भीर, ठूलो ढुंगा पनि उसकै । अब हामी सबै सुकुम्बासी उसकये दाश के नोकर । अनि हामी चाइ खाल्री उसकये काम गरिदिनु पर्ने । उसले ज्याला दिने पनि होइन, खान दिने पनि होइन । त्यस्तो किसिमले दल्ने । गाउँमा बस्दा मलाई साह्रै दिक्क लाग्ने (पाख्रिन : ई १९९४) ।”
सबै एकैपटक विद्रोहमा उठ्दा अत्याचार टिक्दैन भन्ने मेसो थियो तर आँट थिएन । प्रायः मानिसहरु खुरुखुरु काम गर्थे । तर कोही नवयुवाहरुलाई आफ्ना साहुँहरुदेखि रिस उठ्न थालेको थियो । दलन र शोषणको विरोध गर्दै सिमित परिवारको प्रभुत्व, हस्तक्षेप र सामन्तवादी चलन भत्काउने झोंक चलेको थियो । दामनलाई यो थाहा थियो कि दासताको साङ्लो फुकाल्न पीडितहरु संगठित नभएसम्म अन्यायीले अन्याय गरिरहन्छ । देशमा स्वेच्छाचारी हुकुमी जहानिया शासकको विरोध गर्दा अमानुषिक तवरले मृत्युदण्ड दिएको खबर थियो । कतिपयलाई जेल कोचेका थिए । जेलमा बस्दा बस्दै मृत्युवरण पनि गरेका थिए ।
घरघरमा अनिकाल, आयस्रोत केही नभएको, चारैतिरबाट तिरस्कार र घृणा प्राप्त गरिरहेको समय थियो । प्राकृतिक स्रोत साधनको सम्पन्नता साहुँहरुको लागि थियो । दिनभर ठुलठुला खेतमा काम गर्नेहरु रातमा आकास छर्लंगै देखिने झुप्रोमा आधा पेट खाएर पल्टनु पर्दथ्यो । पूर्खाले खोरिया फाडेर बसाएको आफ्नै उर्वर भूमिमा अर्कैको लागि बाली लगाउनु र उठाउनु परे पछि स्थानीय किसानहरु एकाएक फुटपाथमा आइपुगेका थिए । “कही बिर्ता थियो, कही रैकरै थियो । जे सुकै होस् सबै उसको । म त सर्वहारा परिवारको । जहिले पनि उसको काम गरिदिनु पर्ने, भारी बोक्नु पर्ने, जोत्नु पर्ने, खन्नु पर्ने । त्यो पनि खन्यो जोत्यो भनेर भनिदिए हुन्थ्यो । त्यसो पनि खोट लाउने । खाना खाजा नदिने, बस्नु पर्ने आफ्नै घरमा गएर बस्नु पर्ने, खोले फाडो जे सुकै खाएर काम र्ग जानै पर्ने । त्यसरी बिना ज्याला, बिना खाइमा उसको काम गर्नुपर्ने, भोको हिड्नु पर्ने (पाख्रिन : ई १९९४) ।”
ती शोषकहरुलाई राज्यले संरक्षण गरेपछि यस्तो अवस्था आएको हो । त्यसैले पनि संघर्ष गर्नुपर्छ, अन्यायको विरोध गर्नुपर्छ, शोषक सामन्तीहरुको अन्त्य गर्नुपर्छ, साँहुहरुको एकोहोरो थिचोमिचो सहेर सधैं बस्न सकिदैन, यस्ता विकृतिहरुको विरोध गर्नुपर्छ भन्ने भावना पलाएर आयो ।
गरिब तामाङहरुलाई शोषण गर्दागर्दै, अरुको रगत पसिना सिंचिएको धनसम्पत्तिमा धाक जमाइ मालिक वा साँहु पल्टिइ ठाँटसँग खनियावासमा बस्ने रिजाल साहुँहरु सरकारले अनुमति दिए घरको छानो पनि सुनले नै छाउथे भन्नेसम्म अथाह सम्पत्ति जम्मा गरिसकेका थिए । यस क्षेत्रमा अशिक्षा र दरिद्रताले गर्दा मानिसहरुलाई पनि साहुहरु पशुतुल्य ब्यबहार गर्दथे । अति दयनीय अवस्थामा रहेका दरिद्र किसानहरुले आफु खुशीले केही गर्न नपाउने अवश्था थियो । खनियावास आसपासमा साधनस्रोतको पर्याप्तता रहे पनि दुःख, बेरोजगार र भोकको खाडलमा सबै जना गाडिएको थियो । भाग्य र पुर्पुरोलाई दोषी ठानेर सयौ हजारौ जना सधै सधै ठगिरहेका थिए ।
सरकारी सेवामा प्रवेश मार्ग नै असमान थियो । उच्च पदहरुमा मात्र होइन तलदेखि माथिसम्म नै यही व्यवस्था मौजुत भएपछि रोजगार, आय र कामको किसिममा समानता हुने स्थिति नै आउँदैन । अझ तामाङले आफ्नै जात लेख्न र लेखाउन पनि भीमशम्शेरको इस्तिहार नै पर्खनुपर्यो । यस्तो असमानता सामान्ती शासनको भेदभावपूर्ण नीतिको फल हो । सर्वहारा किसानहरु, मजदुरहरु, सामन्तवादको जाँतोमा अचाक्ली पिसिएका छन् ।
सामन्ती जर्जर र बर्बरतापूर्ण समाज जो एकदमै पिछडिएको अवस्थामा थियो । यसको उन्मुलनबाट मात्र सबै मानवजातिको मौलिक र समान उन्नति शुरु हुन्छ । न्यून आय भएका र काम पाइने क्षेत्र पनि कम भएकाहरु न्यून वैतनिक शारीरिक श्रम (ठेला धकेल्ने, भाडा माझ्ने, कुल्ली, दर्बान, पीपा आदि) गर्न बाध्य भए । शारीरिक श्रमको मूल्य मानसिक कामको तुलनामा अत्यन्त कम हुन्छ । न्यून बैतनिक काम गर्नेहरु नै गरिबीको रेखामुनी सबैभन्दा पींधमा दयनीय अवस्थामा बाँच्दछन् । संघर्षशील बहादुर र परिश्रमी स्थानीयहरु दिनप्रतिदिन लुटिदै थियो । सुबिधाभोगी वर्ग मानसिक कार्य गरी आरामको जीवन बिताउदछन् र राज्यको सम्पूर्ण क्रयशक्ति पनि नियन्त्रण गर्दछन् । सुबिधाभोगीहरु प्रभुत्ववादीहरुको विरोध गरेजस्तो गर्छन् तर तुरुन्तै चाकरी गर्न पनि पुग्दछन् (तामाङ : २०६२) ।
स्वजातिय कठपुतली मुखियाहरु मार्फत खनियावासमा पनि दमन, शोषण र लुट मच्चाएको थियो । उनीहरुको शक्ति र सत्ताको न्यानो रापको छत्रछायामा रहेको थियो । तामाङहरुको मौलिक न्हाङखोर प्रणाली राणाकालको पञ्चायत तथा तालुकदारी प्रथापछि हटाएको थियो । त्यसैले हरेक कृयाकलापमा केन्द्रिय सत्ताको डर भइ नै रहन्थ्यो ।
अविकसित स्थानको आम्दानी हुने एक मात्र स्रोत भूमि हो । भूमि पनि शासकहरुले बिर्ता, जागिर, किपट, गुठी, रैकर भनी कब्जा जमाए पछि आर्थिक नियन्त्रणको पासो फुकाल्न सकिदैन । तब ती निमुखा गरिब, किसान मजदुरहरु के खाने, के गर्ने ? दोस्रो विश्वयुद्धको विभिषिका र भारत छोडो आन्दोलनको अनुभव र प्रभाव नेपालीजनमा परेको थियो । २००४ वैशाख १८ गतेदेखि राणा शासनको हुकुमी व्यबस्थाको बिरोधका लागि खुलेआम नाराबाजी र विरोध जनाएको थियो (श्रेष्ठ : २०७६) ।
२००४ श्रावण ३१ मा भारत स्वाधिन हुनु नेपालको लागि कम महत्वपूर्ण र प्रभावकारी घटना थिएन । यस्तै देश तथा विदेशको घटनाक्रमले गर्दा सुधारवादी राणा प्रधानमन्त्री पदमशमशेरले बैधानिक सुधारको घोषणा २००४ माघ १३ मा गरे । हैकमवादी प्रवृत्ति भएका सुधारका विरोधीहरुले श्री ३ पदमशम्शेरलाई भारत पलायन हुन बाध्य गराए । यस पछि कडा स्वभावका श्री ३ मोहनशम्शेर सत्तामा आए । उनले बैधानिक सुधारको खारेजका साथै दल र संघ संस्थालाई अबैध घोषणा गरेर प्रतिबन्ध लगाए । यसप्रकारको सत्ता व्यवहारले सर्वसाधरण जनताहरुमा निरंकुश तन्त्रका विरुद्ध खुला रुपमा उत्रन चेतना र स्फुर्ति भर्न थाले (भण्डारी : २०१५) ।
पश्चिम १ नम्बरको दुर्गम गाउँ खनियावासमा पनि केही चेतनाको झिल्को पुगेका थिए । विश्वयुद्धबाट फर्केकाहरुबाट होस् वा बहालवाला लाहुरेहरुबाट परिवर्तनका सूचनाहरु पाउँदथे । समय र स्थान अनुसार नेपाली जनतामा जागृतिको लहर आईरहेको थियो । आफ्नो पारिश्रमिक र निवास स्थलको विषयलाई लिएर असन्तोषले छटपटाइरहेका बिराटनगरका मजदुरहरुले आफुले पाउनु पर्ने सुबिधाको माग राखी मिल मालिकको बिरुद्ध व्यापक हडताल शुरु गरें (शर्मा : २०२२) ।
यस प्रकारको खबर सुनेर खनियावासको शोषण, उत्पीडन र अत्याचारका बिरुद्ध हडताल गर्ने मन दामन लगायतमामा पनि हुन्थ्यो । विद्रोह गर्न नसकिरहेकोमा असन्तुष्टि झन बढ्थ्यो । यही असन्तुष्टीको झिल्को सल्कदै सल्कदै २०१६ को हिउँददेखि २०१७ को मध्यसम्म चलिरह्यो ।
लेखक खनियाबास विद्रोहका अध्यता हुन् । उनका खनियाबास विद्रोहसँग सम्बन्धित दर्जनौ लेखहरु विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशन भएका छन् ।






