काठमाडौं, १३ चैत — गृह मन्त्री सुदन गुरुङले नैतिक जिम्मेवारी वहन गर्दै पदबाट राजीनामा दिएका छन्। उनले आज सार्वजनिक वक्तव्यमार्फत आफ्नो नामसँग जोडिएका शेयरसम्बन्धी विषयमा उठेका प्रश्न र जनचासोलाई गम्भीरतापूर्वक लिँदै निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्न पद त्याग गरेको जानकारी दिएका हुन्।
गुरुङले पदभन्दा ठूलो कुरा नैतिकता र जनविश्वास भएको उल्लेख गर्दै आफू पदमा रहँदा कुनै पनि प्रकारको स्वार्थको द्वन्द्व (conflict of interest) नदेखियोस् भन्ने उद्देश्यले तत्काल प्रभावबाट राजीनामा दिएको स्पष्ट पारे।
उनले पछिल्लो समय देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग बढिरहेको सन्दर्भ उल्लेख गर्दै युवापुस्ताबाट उठिरहेको आवाजले सार्वजनिक जीवन स्वच्छ र उत्तरदायी हुनुपर्ने सन्देश दिएको बताए।
वक्तव्यमा उनले सरकार जनताको बलिदान र विश्वासमा टिकेको उल्लेख गर्दै त्यसमाथि प्रश्न उठेमा त्यसको उत्तर नैतिकताबाटै दिनुपर्ने धारणा राखेका छन्। साथै, आफूले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी पूरा गरेको दाबी गर्दै अब सम्बन्धित विषयमा निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका छन्।
गुरुङले सञ्चारकर्मी, नागरिक समाज र युवाहरूसँग सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिन अपिल समेत गरेका छन्।