धादिङ । जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित चक्रवात मोन्था का कारण देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । विभागले २०८२ कार्तिक १३ गते विहिबार विहानदेखि १४ गते शुक्रबार विहानसम्म कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा भारी हिमपात र ती प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ ।

धादिङ जिल्लाका विभिन्न स्थानहरूमा बिहीबार विहानदेखि नै वर्षा सुरु भइसकेको छ । लगातारको वर्षा र हिमपातका कारण आकस्मिक बाढी, पहिरो, सडक अवरोध, कृषि, पर्यटन लगायतका क्षेत्रमा असर पर्न सक्ने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय धादिङले उच्च सतर्कता अपनाउन सबै स्थानीय तह, सम्बन्धित निकाय र सर्वसाधारण नागरिकलाई अनुरोध गरेको छ ।

क) प्रशासनले सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी र पूर्वसावधानीका रूपमा निम्न सुझावहरू दिएको छ क) अत्यन्त जरुरी नपरी सकेसम्म यात्रा नगर्नु ।
ख) डुबान हुन सक्ने तथा पहिरोको जोखिम भएका बस्तीका बासिन्दाले उच्च (अल्लो) र सुरक्षित स्थानबारे जानकारी लिने र अरूलाई पनि जानकारी दिने । आवश्यक परेमा सुरक्षित स्थानमा सर्ने ।
ग) प्रभावित हुन सक्ने नदी किनारका बासिन्दाले सचेत रहनु र जोखिम देखिए सुरक्षित स्थानमा सर्ने ।
घ) धान तथा अन्य बाली नकट्ने ।
ङ) घरमा रहेका बालबालिका, वृद्धवृद्धा, बिरामी आदिलाई विशेष ख्याल राखी सुरक्षित बसोबासको व्यवस्था मिलाउने ।
च) विपद्‌जन्य घटनाबाट सतर्क रही आ–आफ्नो स्थानीय तहका जनप्रतिनिधिहरू तथा नजिकको सुरक्षा निकायसँग निरन्तर सम्पर्कमा रहने ।

जिल्ला प्रशासन कार्यालय धादिङले मौसमका कारण हुन सक्ने आकस्मिक घटनाप्रति सावधानी अपनाई, जनधनको सुरक्षा सुनिश्चित गर्न सबैलाई सतर्क रहन पुनः आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0