धादिङ, नीलकण्ठ । नीलकण्ठ नगरपालिकाले सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन सञ्चार माध्यममार्फत नगरपालिकासँग सम्बन्धित विषयमा असहमति जनाउँदै प्रकाशित भएका समाचार तथा अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तीअनुसार नगरपालिकाबाट पारित भएका नीति, कार्यक्रम तथा निर्णयहरू प्रचलित कानुन, विधि र प्रक्रियाअनुसार नै सम्पन्न हुँदै आएका छन्। नगरपालिकाको नीति, कार्यक्रम र बजेट नगरसभाबाट सर्वसम्मत रूपमा पारित भइसकेको उल्लेख गर्दै केही जनप्रतिनिधि जस्ता व्यक्तिबाट तथ्यहीन तथा भ्रामक प्रचार गरिएको आरोप लगाइएको छ।
आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट नगरसभाबाट विधिसम्मत रूपमा पारित भई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार नै कार्यान्वयन भइरहेको नगरपालिकाले स्पष्ट पारेको छ। नगरपालिकाका सबै बैठकहरू एजेन्डासहित सञ्चालन हुने र छलफलपछि निर्णय गरिने गरिएको विज्ञप्तीमा उल्लेख छ।
विज्ञप्तीमा नगरसभा वा कार्यपालिकामा निर्णय हुँदा असहमति भएमा ‘नोट अफ डिसेन्ट’ राख्न सकिने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै सो प्रक्रिया नअपनाई बाहिर गएर भ्रम सिर्जना गर्नु गैरजिम्मेवारपूर्ण कार्य भएको नगरपालिकाको भनाइ छ।
त्यसैगरी कर्मचारी व्यवस्थापन, सेवा प्रवाह, योजना तर्जुमा तथा बजेट विनियोजनलगायत सबै कार्यहरू प्रचलित कानुनअनुसार नै भइरहेको नगरपालिकाले जनाएको छ। गलत सूचना प्रवाहले कर्मचारीको मनोबल कमजोर हुने, नगरपालिकाको गरिमा र जनप्रतिनिधिहरूको प्रतिष्ठामा असर पर्ने भएकाले जिम्मेवार बन्न सम्बन्धित सबै सरोकारवालालाई आग्रह गरिएको छ।
नगरपालिकाले आगामी दिनमा पनि पारदर्शिता, सुशासन र नागरिक हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै भ्रामक प्रचारमा नलाग्न सबैलाई अनुरोध गरेको छ।






