६ जेष्ठ २०८३ ,हुम्ला
हुम्लाको चङ्खेली गाउँपालिका–५, नेप्का गाउँमा गएराति असिनापानीसँगै गएको पहिरोले जनजीवन अस्तव्यस्त बनाएको छ। पहिरोका कारण स्थानीय पूर्वाधार, पशुचौपाया र खेतीयोग्य जमिनमा ठूलो क्षति पुगेको छ ।
स्थानीय छक्कबहादुर तामाङका अनुसार पहिरोले नेप्कास्थित ‘डाँफे आधारभूत विद्यालय’ को भवन पूर्ण रूपमा भत्काएको छ। यसैगरी, स्थानीय वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठहरू पुरिँदा त्यहाँ रहेका भेँडाबाख्राहरू मरेका छन्। पहिरोले स्थानीयको ठूलो मात्रामा खेतीयोग्य जमिन समेत बगरमा परिणत गरिदिएको छ।
उद्धारमा भौगोलिक विकटताको चुनौती
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख, डिएसपी शङ्कर खड्काले घटनाको पुष्टि गर्दै प्रहरी टोली घटनास्थलतर्फ परिचालन भइसकेको जानकारी दिएका छन्। यद्यपि, सदरमुकाम सिमकोटदेखि उत्तरपूर्वमा रहेको चङ्खेली गाउँपालिकाको केन्द्र पिप्लाङबाट समेत नेप्का गाउँ निकै टाढा पर्छ। पिप्लाङबाट पैदल हिँडेर घटनास्थल पुग्नै पाँच घण्टाभन्दा बढी समय लाग्ने भएकाले उद्धार र क्षतिको यकिन विवरण सङ्कलनमा सास्ती भइरहेको छ ।
नेप्का गाउँको विपद्बारे आज बसेको प्रतिनिधि सभाको बैठकमा समेत गम्भीर रूपमा आवाज उठेको छ। हुम्लाका माननीय सांसदले संसद्मा बोल्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
सांसदले भन्नुभयो, “भौगोलिक विकटताका कारण पहिरो प्रभावित क्षेत्रमा तत्काल सरकारी उपस्थिति पुग्न कठिन छ। प्रभावित नागरिकको तत्काल उद्धार, राहत वितरण र उनीहरूको सुरक्षित स्थानातरण गर्न कदम चालोस्।”
सांसदहरूले पछिल्लो समय मौसममा आएको अस्वाभाविक परिवर्तन र असिनापानीका कारण हुम्लाका विभिन्न भेगमा पहिरोको जोखिम बढेको भन्दै सरकारलाई पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापन टोलीलाई उच्च तयारी अवस्थामा राख्न माग गरेका छन्।






