बद्री पौडेल , धादिङ ,२२ असार ,२०८३ ,6 July 2026

विश्वकै सबैभन्दा ठूलो सेवामूलक संस्था लायन्स क्लब्स इन्टरनेसनल को अन्तर्राष्ट्रिय डाइरेक्टर (International Director) पदमा नेपालका वरिष्ठ लायन राजन लम्साल निर्वाचित भएका छन्। हङकङमा सम्पन्न १०८औँ लायन्स अन्तर्राष्ट्रिय सम्मेलनबाट उनी विश्व नेतृत्वमा चयन भएका हुन्। जुलाई ३ देखि ७ सम्म सञ्चालन भएको पाँचदिने सम्मेलन भोली मंगलबार सम्पन्न  हुदै छ ।

करिब १४ लाख सदस्य रहेको लायन्स ईन्टरनेश्नल  विश्वका २१० भन्दा बढी देश तथा भौगोलिक क्षेत्रमा सक्रिय छ। विश्वभरका हजारौँ प्रतिनिधिबीच भएको निर्वाचनबाट चयन भएका १८ जना अन्तर्राष्ट्रिय डाइरेक्टरमध्ये लम्साल पनि एक हुन्। उनको कार्यकाल सन् २०२६ देखि २०२८ सम्म दुई वर्ष को रहनेछ।

नेपालमा सन् १९७१ मा लायन्स क्लबको स्थापना भएको करिब ५५ वर्षपछि अन्तर्राष्ट्रिय नेतृत्वमा पुग्ने लम्साल तेस्रो नेपाली बनेका छन्। यसअघि सञ्जय खेतान (२०१५–२०१७) र बालकृष्ण बुर्लाकोटी (२०२३–२०२५) ले अन्तर्राष्ट्रिय डाइरेक्टरको जिम्मेवारी सम्हालिसकेका छन्। लम्सालको निर्वाचनलाई नेपालका लायन्सकर्मीहरूले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा थप उचो बनाउने ऐतिहासिक उपलब्धिका रूपमा लिएका छन्।

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी ले लम्सालको निर्वाचन नेपालको लायनवादको इतिहासमा अर्को महत्वपूर्ण उपलब्धि भएको बताए। उनका अनुसार यसले नेपालका सेवामूलक गतिविधिलाई विश्वमञ्चमा थप प्रभावकारी रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ।

निर्वाचित भएपछि प्रतिक्रिया दिँदै  लायन लम्सालले आफूलाई अझ जिम्मेवार बनाएको बताएका छन्। उनले नेपालमा शिक्षा, स्वास्थ्य, वातावरण, विपद् व्यवस्थापन, पर्यटन प्रवर्द्धन तथा सामुदायिक विकासका क्षेत्रमा लायन्स अन्तर्राष्ट्रियमार्फत थप अन्तर्राष्ट्रिय ग्रान्ट र सहयोग भित्र्याउन विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले भने, “पदभन्दा सेवा ठूलो हो। नयाँ पुस्तालाई आकर्षित गर्दै प्रविधिमैत्री सेवामार्फत लायनवादलाई अझ प्रभावकारी, उत्तरदायी र समावेशी बनाउने मेरो प्राथमिकता हुनेछ।”

उनका अनुसार सदस्य विस्तार, युवा नेतृत्व विकास, डिजिटल प्रविधिको प्रयोग, महिला सहभागिता वृद्धि तथा नेपालका सफल सेवामूलक अभ्यासलाई अन्तर्राष्ट्रिय बोर्डसम्म पुर्‍याउने योजना रहेको छ। साथै, नेपालको पर्यटन प्रवर्द्धनका लागि पनि लायन्स अन्तर्राष्ट्रियसँग सहकार्य गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको उनले बताए।

लायन्स क्लब अफ काठमाडौं सामाखुशीका पूर्व अध्यक्ष हेमराज बराल ले नेपालमा लायन्स स्थापना भएको ५५ वर्षको इतिहासमा अन्तर्राष्ट्रिय डाइरेक्टरमा नेपाली निर्वाचित हुनु सम्पूर्ण देशकै गौरवको विषय भएको प्रतिक्रिया दिए।

वि.सं. २०२६ सालमा स्याङ्जाको ज्याग्दी खोलामा जन्मिएका राजन लम्साल व्यवस्थापन विषयमा स्नातक हुन्। उनी ट्राभल, होटल, म्यानपावर, शिक्षा, बैंकिङ, जलविद्युत् तथा शेयर ब्रोकर व्यवसायमा सक्रिय छन्। साथै “सामाजिक विकासका लागि सहयोगी हातहरू” संस्थाका संस्थापक अध्यक्ष पनि हुन्।

सन् १९९७ मा लायन्स सदस्य बनेका लम्सालले संस्थापक क्लब अध्यक्ष, डिष्ट्रिक्ट गभर्नर, मल्टिपल काउन्सिल चेयरपर्सन, अन्तर्राष्ट्रिय प्रशिक्षक, एलसीआईएफ एरिया लिडरलगायत विभिन्न महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन्।

डिष्ट्रिक्ट गभर्नर हुँदा उनले ६५ वटा नयाँ लायन्स क्लब स्थापना गरी विश्वस्तरीय कीर्तिमान कायम गरेका थिए। स्वास्थ्य शिविर, निःशुल्क मोतियाबिन्दु शल्यक्रिया, छात्रवृत्ति, पुस्तकालय स्थापना, विपद् राहत, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा उनको योगदान उल्लेखनीय मानिन्छ।

उनको जीवन दर्शन छ— “पदले होइन, सेवाले मानिसको उचाइ मापन हुन्छ। सकारात्मक सोच, निस्वार्थ कर्म र इमानदार नेतृत्व नै सफल जीवनका आधार हुन्।”

विश्वकै ठूलो सेवामूलक संस्था : लायन्स क्लब्स इन्टरनेसनल

लायन्स क्लब्स इन्टरनेसनल संसारकै सबैभन्दा ठूलो स्वयंसेवी सेवामूलक संस्था हो। यसको स्थापना जुन ७, १९१७ मा अमेरिकाको इलिनोइस राज्यको सिकागोमा मेल्भिन जोन्स ले गरेका थिए।

मेल्भिन जोन्सको विश्वास थियो कि सफल व्यवसायी र सक्षम नागरिकहरूले आफ्नो क्षमता केवल व्यक्तिगत सफलतामा सीमित नराखी समाजको हितमा प्रयोग गर्नुपर्छ। यही सोचबाट लायन्स क्लबको जन्म भएको हो।

आज लायन्स विश्वका २१० भन्दा बढी देश तथा भौगोलिक क्षेत्रमा फैलिएको छ। करिब १४ लाख सदस्य आबद्ध यस संस्थाले अन्धोपन निवारण, स्वास्थ्य सेवा, शिक्षा, वातावरण संरक्षण, बालबालिका तथा युवाको विकास, विपद् व्यवस्थापन, भोकमरी न्यूनीकरण, मधुमेह नियन्त्रण, क्यान्सर सचेतना, मानवीय सहायता तथा सामुदायिक विकासका क्षेत्रमा करोडौँ मानिसलाई सेवा पुर्‍याउँदै आएको छ।

लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसन (LCIF) विश्वकै प्रभावशाली मानवीय सहयोग संस्थामध्ये एक मानिन्छ। यसले विश्वभर प्राकृतिक विपद्, स्वास्थ्य, शिक्षा तथा सामाजिक विकासका क्षेत्रमा अर्बौँ डलर बराबरको सहयोग उपलब्ध गराउँदै आएको छ।

मेल्भिन जोन्स : सेवामार्फत संसार बदल्ने सपना

मेल्भिन जोन्स (१८७९–१९६१) लाई लायन्स क्लब्स इन्टरनेसनलका संस्थापकका रूपमा चिनिन्छ। उनले सन् १९१७ मा लायन्स स्थापना गरेपछि आफ्नो निजी बीमा व्यवसायसमेत छोडेर पूर्णकालीन रूपमा संस्थाको विकासमा समर्पित भएका थिए।

सन् १९४५ मा संयुक्त राष्ट्रसंघ (United Nations) स्थापना हुँदा उनले लायन्स क्लब्स इन्टरनेसनलको तर्फबाट सल्लाहकारका रूपमा सहभागिता जनाएका थिए।

उनको प्रसिद्ध भनाइ आज पनि विश्वभरका लायन्स सदस्यका लागि प्रेरणाको स्रोत बनेको छ—

“तपाईं तबसम्म धेरै अगाडि बढ्न सक्नुहुन्न, जबसम्म तपाईंले अरू कसैको लागि केही गर्न सुरु गर्नुहुन्न।”

नेपालमा लायन्सको इतिहास

नेपालमा लायन्सको औपचारिक सुरुवात सन् १९७१ मा लायन्स क्लब अफ विराटनगर स्थापना भएसँगै भएको हो। उक्त क्लबका संस्थापक अध्यक्ष नेपालका पूर्वप्रधानमन्त्री तथा समाजसेवी मात्रिका प्रसाद कोइराला थिए।

मात्रिका प्रसाद कोइरालाले राजनीति मात्र होइन, सामाजिक सेवामा पनि उल्लेखनीय योगदान दिएका थिए। उनले नेपाल क्षयरोग निवारण संस्था, रेडक्रस, शिक्षा विकास ट्रस्ट, बालकल्याणलगायत विभिन्न सामाजिक संस्थाको स्थापना तथा नेतृत्व गरेका थिए। उनको नेतृत्वमा नेपालमा लायन्स अभियानले सेवा, मानवता र सामाजिक उत्तरदायित्वको नयाँ अध्याय सुरु गरेको मानिन्छ।

पछिल्ला पाँच दशकमा नेपालमा लायन्स अभियान तीव्र रूपमा विस्तार भएको छ। अहिले देशभर हजारौँ लायन्स सदस्य सक्रिय छन्। स्वास्थ्य शिविर, रक्तदान, विद्यालय निर्माण, छात्रवृत्ति, विपद् राहत, वृक्षारोपण, खानेपानी, पुस्तकालय स्थापना, दृष्टिविहीन तथा अपांगता भएका व्यक्तिका लागि सहयोग, महिला सशक्तीकरण, युवा नेतृत्व विकासलगायत क्षेत्रमा लायन्स क्लबहरूले निरन्तर सेवा प्रदान गर्दै आएका छन्।

लायन्सका विभिन्न जिल्ला (District) हरूमार्फत प्रत्येक वर्ष हजारौँ स्वयंसेवक सामाजिक सेवामा सक्रिय हुँदै आएका छन्। नेपालमा सञ्चालन भएका धेरै स्वास्थ्य, शिक्षा तथा विपद् राहत कार्यक्रमहरूमा अन्तर्राष्ट्रिय लायन्स फाउन्डेसन (LCIF) को समेत महत्वपूर्ण सहयोग रहँदै आएको छ।

राजन लम्साल अन्तर्राष्ट्रिय डाइरेक्टर निर्वाचित भएसँगै नेपालले विश्व लायन्स नेतृत्वमा थप प्रभावशाली उपस्थिति जनाएको छ। उनको नेतृत्वबाट नेपालमा शिक्षा, स्वास्थ्य, वातावरण, पर्यटन, विपद् व्यवस्थापन तथा सामुदायिक विकासका क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग, अनुदान (ग्रान्ट) र साझेदारी विस्तार हुने अपेक्षा गरिएको छ।

लायन्स अभियानको मूल मन्त्र “We Serve” (हामी सेवा गर्छौं) लाई आत्मसात गर्दै राजन लम्सालको नेतृत्वले नेपालका सेवामूलक गतिविधिलाई अन्तर्राष्ट्रिय स्तरमा अझ सशक्त बनाउने विश्वास लायन्सकर्मीहरूले व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0