धादिङ ,२५ असार २०८३

धादिङमा पहिलो पटक ई–पेन्सन सेवा सञ्चालनमा आएको छ।  हिजो असार २४ गते सेवाको शुभारम्भसँगै जिल्लाका निवृत्त कर्मचारी राममणि मिश्र पहिलो लाभग्राही बनेका छन्।

नयाँ ई–पेन्सन प्रणालीमार्फत अब निवृत्त कर्मचारीहरूले पेन्सन तथा उपदान, सञ्चित घर बिदा र बिरामी बिदा वापतको रकम, उपचार खर्चसम्बन्धी सुविधा तथा पेन्सन प्रयोजनका लागि बैंक खाता खोल्ने सेवा एउटै प्रक्रियाबाट प्राप्त गर्न सक्नेछन्।

प्रमुख कोष नियन्त्रक रोशन  पुनका अनुसार ई–पेन्सन सेवाको कार्यान्वयनसँगै अब धादिङका निवृत्त कर्मचारीहरूले सामान्य प्रशासनिक कामका लागि काठमाडौं पुगिरहनुपर्ने बाध्यता हट्दै जानेछ। सेवा जिल्लामै उपलब्ध हुँदा प्रक्रिया थप छिटो, सरल, पारदर्शी र सेवाग्राहीमैत्री बन्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँका अनुसार आगामी चरणमा सञ्चय कोषसम्बन्धी सेवासमेत ई–पेन्सन प्रणालीमा समेट्ने तयारी भइरहेको छ। त्यसका लागि आवश्यक प्राविधिक तयारी तथा सम्बन्धित निकायसँग समन्वय अघि बढाइएको जानकारी दिनुभयो।

ई–पेन्सन सेवाको विस्तारसँगै सार्वजनिक सेवा प्रवाहलाई डिजिटल, प्रभावकारी र नागरिकमैत्री बनाउने सरकारी अभियानले थप गति लिने अपेक्षा गरिएको छ।

सेवा उद्घाटन कार्यक्रम प्रमुख कोष नियन्त्रक रोशन पुनले  औपचारिक रूपमा शुभारम्भ गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0