काठमाडौं, असार २३। सरकारले कर्मचारीहरूले पालना गर्नुपर्ने ११ बुँदे आचारसंहिता जारी गरेको छ। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत ‘भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयका कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ लागू गर्दै आफ्ना मातहतका कार्यालयमा कार्यान्वयनका लागि पठाएको हो।
मन्त्रालयका अनुसार उक्त आचारसंहिता असार १६ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएको थियो। असार २२ गते मातहतका कार्यालयहरूमा कार्यान्वयनका लागि पत्राचार गरिएको आचारसंहिता मंगलबार (असार २३) मन्त्रालयको आधिकारिक वेबसाइटमार्फत पनि सार्वजनिक गरिएको छ।
आचारसंहिताले नेपाल सरकार वा मन्त्रालयबाट भएका निर्णयको गलत अर्थ लाग्ने गरी भ्रामक सूचना प्रचार–प्रसार गर्न रोक लगाएको छ। साथै सामाजिक सञ्जाल तथा अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारमा प्रतिक्रिया लेख्दै कुनै पनि निकायका पदाधिकारी वा कर्मचारीले गरेका काम–कारबाहीबारे व्यक्तिगत मान, सम्मान र मर्यादामा आँच पुग्ने गरी व्यंग्य, टिप्पणी वा आलोचना गर्न नपाइने व्यवस्था गरिएको छ।
त्यस्तै, कर्मचारीले आफूलाई परेका समस्या, पीडा वा गुनासा सामाजिक सञ्जाल वा सञ्चारमाध्यममार्फत सार्वजनिक नगरी सम्बन्धित सुपरीवेक्षक वा मन्त्रालयको गुनासो सुनुवाइ संयन्त्रमार्फत प्रस्तुत गर्नुपर्ने उल्लेख गरिएको छ।
आचारसंहिताले कार्यालय समय, कार्यालय परिसर वा फिल्डमा खटिएको अवस्थामा कार्यालय पोसाक लगाएर प्रवर्द्धनात्मक वा शिक्षामूलक उद्देश्यबाहेक फोटो वा भिडियो सामग्री निर्माण गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न पनि रोक लगाएको छ।
मन्त्रालयले जारी गरेको ११ बुँदे आचारसंहिता कार्यान्वयन भए/नभएको अनुगमन मन्त्रालयका सचिव वा सचिवले तोकेको कर्मचारीले गर्ने व्यवस्था पनि गरिएको छ। मन्त्रालयले सबै कर्मचारीलाई आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ।







