काठमाडौं ,२३ असार २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले २०७४ असार २० देखि २०७९ असार २८ सम्मको अवधिलाई आधार बनाएर गरेको अनुसन्धानमा गुप्ता र उनका एकाघर परिवारको आम्दानी तथा खर्चबीच ठूलो असन्तुलन देखिएको जनाएको छ।
अनुसन्धानबाट सो अवधिमा गुप्ता तथा परिवारको वैध आम्दानी विभिन्न स्रोतबाट जम्मा ३ करोड ५१ लाख ५२ हजार ६२० रुपैयाँ ८८ पैसा रहेको देखिएको छ। तर जग्गा खरिद, घर निर्माण, बैंक ऋण भुक्तानी, अध्ययन खर्च, सेयर तथा बीमा, कम्पनीमा लगानी र सवारी साधन खरिदलगायत शीर्षकमा ६ करोड ९७ लाख ८१ हजार ७८८ रुपैयाँ ७३ पैसा खर्च तथा लगानी गरेको विवरण फेला परेको आयोगले जनाएको छ।
आयोगका अनुसार आम्दानी र खर्चको विश्लेषण गर्दा ३ करोड ४५ लाख ९९ हजार १६७ रुपैयाँ ८४ पैसा बराबरको सम्पत्तिको वैध स्रोत खुल्न सकेको छैन। उक्त सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरिएको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।
यस मुद्दामा अध्यक्ष गुप्तासँगै उनकी आमा, बुबा तथा दुई श्रीमतीलाई पनि प्रतिवादी बनाइएको छ। आयोगका अनुसार उनीहरूलाई गैरकानुनी रूपमा आर्जित सम्पत्ति जफत गर्ने कानुनी प्रक्रियाका लागि मात्र प्रतिवादी कायम गरिएको हो।
आरोपपत्रमा अध्यक्ष गुप्तामाथि स्रोत नखुलेको सम्पत्ति आर्जन, सार्वजनिक पदको दुरुपयोग तथा झुट्टा सम्पत्ति विवरण पेश गरेको आरोपसमेत लगाइएको छ। आयोगले अदालतसँग उनीमाथि कानुनबमोजिम कैद, जरिवाना तथा गैरकानुनी सम्पत्ति जफतको माग गरेको जनाएको छ।






