धादिङ, असार २३ — धादिङ प्रहरीले पृथ्वी राजमार्गबाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध ट्रामाडोल हाइड्रोक्लोराइड (५० एमजी) सहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार वीरगञ्जबाट बनेपा जाँदै गरेको यात्रुबाहक बसमा प्रतिबन्धित लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा मंगलबार बिहान बेनिघाट रोराङ गाउँपालिका–१, जोगीमारास्थित पृथ्वी राजमार्गमा सवारी साधन चेक जाँच गर्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रकाश दाहालले जानकारी दिनुभयो ।

जाँचका क्रममा बा.प्र.०३–००१ ख २६८९ नम्बरको बस रोकी खानतलासी गर्दा यात्रु मोहन प्रसाद कुर्मी (४१) र प्रतिमा देवी (३६) ले बोकेको एउटा सुटकेस र दुई वटा झोलाभित्र रबरले बेरेर लुकाइराखिएको अवस्थामा ७ हजार ८४० स्ट्रिप ट्रामाडोल हाइड्रोक्लोराइड (५० एमजी) फेला परेको प्रहरीले जनाएको छ। प्रत्येक स्ट्रिपमा १० वटा क्याप्सुल रहेकोले कुल ७८ हजार ४ सय क्याप्सुल बरामद गरिएको हो।

पक्राउ परेका दुवै जना पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–३ निवासी हुन्। प्रहरीले बरामद लागूऔषधलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको छ।

उनीहरूविरुद्ध लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत धादिङबाट अनुसन्धानका लागि म्याद थप गरी इलाका प्रहरी कार्यालय गजुरीले घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0