बिश्वास सिलवाल , धादिङ, असार १७, २०८३ :- 1st July 2026

लायन्स वर्ष २०२६/२७ को कार्य शुभारम्भको अवसरमा धादिङमा क्रियाशील विभिन्न लायन्स क्लबहरूले शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवासँग सम्बन्धित विविध कार्यक्रम सञ्चालन गरेका छन्। यस क्रममा गरिब तथा जेहेन्दार विद्यार्थीलाई पोषाक, झोला तथा स्टेशनरी वितरण, रक्तदान कार्यक्रम तथा पत्रकार सम्मान गरिएको हो।

लायन्स क्लब अफ  धादिङ भैरवीको आयोजनामा नीलकण्ठ नगरपालिका–९, निगलपानीस्थित चण्डेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार २४ जना विद्यार्थीलाई विद्यालय पोषाक, विद्यालय झोला तथा स्टेशनरी सामग्री वितरण गरिएको छ।

कार्यक्रममा लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आई, नेपालका डिष्ट्रिक्ट डिपार्टमेन्ट चिफ लायन कृष्ण बद्री पौडेल , तथा **रिजन चेयरपर्सन कृष्णप्रसाद ढकाल (शिशिर)**को उपस्थिति रहेको थियो। कार्यक्रमको संयोजन लायन्स क्लब अफ  धादिङ भैरवीका सदस्य तथा लुना इन्टरप्राइजेजका प्रोप्राइटर नवराज भट्टले गर्नुभएको थियो। उहाँको पहल तथा क्लबका सदस्यहरूको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै डिष्ट्रिक्ट डिपार्टमेन्ट चिफ लायन कृष्ण  बद्री पौडेलले  मुरलीभञ्ज्याङ स्वास्थ्य चौकीमा १७ वर्षसम्म स्वास्थ्य चौकी प्रमुखका रूपमा कार्य गरेको स्मरण गर्नुभयो। उहाँले स्वास्थ्य सेवामा रहँदा स्थानीय समुदायसँग नजिकबाट काम गरेको अनुभव सुनाउँदै समाजसेवा नै लायन्सको मूल उद्देश्य रहेको बताउनुभयो। शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

त्यसैगरी **रिजन चेयरपर्सन कृष्णप्रसाद ढकाल (शिशिर)**ले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा लायन्स क्लबले निरन्तर काम गर्दै आएको बताउनुभयो। आर्थिक अवस्था कमजोर तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्नु सामाजिक दायित्व भएको उल्लेख गर्दै उहाँले यस्ता कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा निरन्तरता दिइने जानकारी दिनुभयो। विद्यालय तथा स्थानीय समुदायसँग समन्वय गरी आवश्यकताअनुसार थप सहयोग गर्दै बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा साथ दिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

आयोजकका अनुसार विद्यार्थीहरूको शैक्षिक यात्रालाई सहज बनाउने उद्देश्यले पोषाक, विद्यालय झोला तथा स्टेशनरी सामग्री वितरण गरिएको हो। कार्यक्रममा विद्यालय परिवार, लायन्स क्लबका पदाधिकारी, सदस्य, अभिभावक तथा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो।

यसै अवसरमा लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीले धादिङका दुई स्थानमा “One Drop of Humanity, Give Blood, Save Lives” भन्ने मूल नारासहित रक्तदान कार्यक्रम सञ्चालन गरेको छ। नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र धादिङको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा कारागार कार्यालय धादिङमा ५८ जना पुरुष तथा धादिङ अस्पतालमा ४४ जना पुरुष र ९ जना महिला गरी ५३ जनाले रक्तदान गरेका थिए। दुवै स्थानबाट कुल १११ युनिट रगत संकलन भएको आयोजकले जनाएको छ।

रक्तदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम), डिपार्टमेन्ट चिफ लायन कृष्ण बद्री पौडेल, रिजन चेयरपर्सन कृष्णप्रसाद ढकाल, जोन चेयरपर्सन बद्री अधिकारी, क्लबका अध्यक्ष राजाराम रिजाल, निवर्तमान अध्यक्ष विक्रम विश्वकर्मा, कारागार प्रशासक इन्द्रबहादुर खतिवडा, नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका सभापति दुर्लभकुमार तामाङ, कोषाध्यक्ष नारायणकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष डा. दिनेश रेग्मीलगायतको सहभागिता रहेको थियो।

यस्तै, लायन्स क्लब अफ धादिङ मण्डलीको आयोजनामा नीलकण्ठ नगरपालिका–७ स्थित कर्गेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ५ का २० जना विद्यार्थीलाई विद्यालय पोषाक वितरण गरिएको छ।

कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष लायन महेश रिजालले गर्नुभएको थियो भने प्रमुख अतिथि रिजन चेयरपर्सन कृष्णप्रसाद ढकाल (शिशिर) रहनुभएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णु हरि अधिकारी, प्रेसिडेन्ट इलेक्ट लायन हरिकुमार श्रेष्ठ तथा क्लबका अन्य पदाधिकारी एवं सदस्यहरूको सहभागिता रहेको थियो। क्लबले आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

 

यसै अवसरमा लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीले   सामाजिक र मानवीय सेवामूलक गतिविधिको प्रभावकारी सूचना प्रवाहमार्फत योगदान पुर्‍याएको भन्दै धादिङका पाँच जना पत्रकारलाई प्रशंसापत्रसहित सम्मान गरेका छन्।

लायन्स वर्ष २०२६/२७ को सुरुवातसँगै सञ्चालन गरिएका यी कार्यक्रमले शिक्षा, स्वास्थ्य र सामाजिक उत्तरदायित्वलाई सुदृढ बनाउनुका साथै विपन्न तथा जेहेन्दार विद्यार्थीको शिक्षाप्रति उत्साह अभिवृद्धि गर्न, रक्त अभाव न्यूनीकरण गर्न तथा सञ्चार क्षेत्रको योगदानको सम्मान गर्न महत्त्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0