काठमाडौं , १ भाद्र ,२०८३

लायन्स ईन्टरनेश्नल डिष्ट्रिक्ट ३२५ आई, नेपालअन्तर्गत रिजन १३, जोन २५ का चारवटा लायन्स क्लबको संयुक्त पदस्थापन समारोह  हिजो काठमाडौंमा सम्पन्न भएको छ।

लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्ध, गृहलक्ष्मी, ब्लेसिङ बुद्ध र काठमाडौं बुद्ध मातृभूमिको संयुक्त आयोजनामा भएको समारोहमा लायन्सका अन्तर्राष्ट्रिय डाइरेक्टर राजन लम्साल र प्रतिनिधिसभा सदस्य तथा लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्धका पूर्वअध्यक्ष बदनकुमार भण्डारीलाई सम्मान गरिएको थियो।

सामाजिक सेवा, नेतृत्व विकास तथा लायन्स अभियानमा पुर्‍याएको योगदानका लागि लम्साल र भण्डारीलाई सम्मान गरिएको हो। कार्यक्रममा लम्सालकी धर्मपत्नी, फर्स्ट लेडी तथा पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्सालको पनि उपस्थिति थियो।

पदस्थापन अधिकृत डिष्ट्रिक्ट गभर्नर सूर्यकुमार केसीले चारवटै क्लबका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई शपथ गराउँदै पदस्थापन गराए। कार्यक्रममा अघिल्लो लायन वर्षका सामाजिक तथा मानवीय सेवाका गतिविधिको समीक्षा गर्नुका साथै नयाँ नेतृत्वले आगामी वर्ष सञ्चालन गर्ने कार्यक्रमसमेत प्रस्तुत गरेको थियो।

समारोहमा पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन मनबहादुर रोका, निवर्तमान डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर शैलेन्द्र मोहन भट्टराईलगायत लायन्सका पूर्व तथा वर्तमान नेतृत्वकर्ताको सहभागिता थियो।

रिजन चेयरपर्सन रूपबहादुर रावलको संयोजनमा सम्पन्न कार्यक्रममा काभ्रेदेखि नुवाकोटसम्मका क्लब अध्यक्ष, रिजन तथा जोन चेयरपर्सन, क्याबिनेट पदाधिकारी र लायन सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमका सभापति सुना सुवेदी र सुरेश भण्डारी रहेका थिए। पूर्व क्याबिनेट सेक्रेटरी तथा कार्यक्रम संयोजक रामबहादुर श्रेष्ठ, आर्थिक संयोजक डा. केपी पौडेललगायतले कार्यक्रम व्यवस्थापनमा भूमिका निर्वाह गरेका थिए। विशेष भूमिका तथा संयोजन पूर्व सेक्रेटरी रामबहादुर श्रेष्ठले गर्नु भएको हो ।

डिष्ट्रिक्टका द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर एवं लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्धका संस्थापक अध्यक्ष विष्णु प्रसाद भण्डारीले संयुक्त पदस्थापनले अनुभवी नेतृत्वको मार्गदर्शन, नयाँ नेतृत्वको सक्रियता र क्लबहरूबीचको सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

समारोहमा चीन भ्रमणमा जान लागेका हरि अधिकारी तथा जर्मनी प्रस्थान गर्न लागेकी लक्ष्मी कट्टेललाई सफल र सुखद यात्राको शुभकामना समेत दिइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0