म्याग्दी ,२०८३ असोज २१

म्याग्दीको धवलागिरी गाउँपालिका–५ मलकावाङमा जटिल अवस्थामा रहेकी २१ वर्षीया गर्भवती महिलाको आकस्मिक हवाई उद्धार गरिएको छ।

धवलागिरी गाउँपालिका–४ की सम्झना लामाघडेललाई लामो समयसम्म सुत्केरी व्यथा लाग्नुका साथै गर्भमा रहेको शिशुले पेटमै दिसा गरेको अवस्था देखिएपछि तत्काल थप उपचार आवश्यक परेको थियो। चिकित्सकका अनुसार ३९ हप्ता ४ दिनको गर्भावस्थामा रहेकी लामाघडेलमा लामो प्रसव व्यथा र गर्भको पानीमा शिशुको दिसा मिसिएको (Meconium stained liquor) अवस्था देखिएको थियो।

आमा र शिशु दुवैको ज्यान जोखिममा पर्न सक्ने अवस्था देखिएपछि मंगलबार दिउँसो १२ः३० बजे मलकावाङबाट आकस्मिक हवाई उद्धार गरी उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको हो।

पोखरा पुगेपछि लामाघडेलले छोरीलाई जन्म दिएकी छन्। नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य नरहेकाले हाल नवजात शिशु सघन उपचार कक्ष (NICU) मा राखेर उपचार भइरहेको छ भने आमाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।

गत साताको भारी वर्षाका कारण मलकावाङबाट बेनीसम्म जाने सडक अवरुद्ध रहेकाले सडकमार्फत तत्काल अस्पताल पुर्‍याउन सम्भव नभएपछि हवाई उद्धार गरिएको हो।

उद्धार तथा उपचारका क्रममा चिकित्सकीय सल्लाह र समन्वयमा सहयोग गर्ने प्रमुख कन्सल्टेन्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ एवं मातृशिशु मितेरी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रेखा पौडेल, म्याग्दीका प्रमुख जिल्ला अधिकारी, प्रदेश अस्पताल म्याग्दीका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोला, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा स्वास्थ्यकर्मी, मलकावाङ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी लगायत सम्पूर्ण सम्बन्धित पक्षप्रति स्वास्थ्य मन्त्रालयले धन्यवाद व्यक्त गरेको छ।

मन्त्रालयले उपचाररत आमा र नवजात शिशुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0