धादिङ ,२०८३ कार्तिक ४ गते
धादिङ क्षेत्र नं. १ की सांसद आशिका तामाङ र क्षेत्र नं. २ का सांसद बोधनारायण श्रेष्ठलाई लक्षित गर्दै ‘नयाँ घरे माइँलो’ राजेन्द्र बस्नेतले सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक सुझाव दिएका छन्। बलि प्रथादेखि मोटरेबल पुल निर्माणसम्मका विषय उठाउँदै उनले सांसदहरूको सोच, विकासप्रतिको बुझाइ र प्राथमिकतामाथि तीखो कटाक्ष गरेका हुन्।
बस्नेतले बलि प्रथाप्रतिको आक्रोश सनातनी धर्म, संस्कृति, रीतिरिवाज र परम्परागत विश्वाससँग जोडिएको विषय भएको उल्लेख गर्दै त्यसलाई सामान्य रूपमा खारेज गर्न नहुने आशय व्यक्त गरेका छन्। जनताले निर्वाचित गरेर पठाएका सांसदलाई कानुन बनाउने अधिकार रहेको भन्दै उनले बलि प्रथा रोक्नैपर्ने भए पशुचौपाया ढुवानीमा एसीसहितका लक्जरी गाडी अनिवार्य गर्ने, बलि वा काटमारमा रोक लगाउने र उल्लङ्घन गर्नेलाई ५० वर्ष जेल सजाय हुने कानुन बनाउनुपर्ने भन्दै व्यङ्ग्य गरेका छन्।
त्यसैगरी, नदी तथा खोलामा मोटरेबल पुल निर्माणको विषयमा पनि उनले कटाक्ष गरेका छन्। एउटा जिल्लामा पर्ने एउटै खोलामा एउटा मात्रै पुल बनाउने, दोस्रो पुलको माग गर्ने वा बनाउन सिफारिस गर्नेलाई १०५ दिन जेल सजाय हुने कानुन बनाउनुपर्ने उनको व्यङ्ग्यात्मक सुझाव छ। गाउँघरको घरमा एउटा भर्याङ भए पुग्ने तर्क गर्दै एउटै खोलामा दुई वा दुईभन्दा बढी पुल किन चाहियो भन्ने प्रश्नमार्फत उनले विकास निर्माणको आवश्यकता र औचित्यमाथि व्यङ्ग्य गरेका छन्।
बस्नेतले वर्तमान प्रतिनिधिसभामा सत्तापक्षका समाज, विकास प्रक्रिया र आवश्यकताबारे बुझाइ राख्ने सांसदहरूमध्ये धादिङका सांसदहरू उत्कृष्ट १० भित्र पर्छन् भन्ने आफूलाई लागेको बताएका छन्। तर, पछिल्लो समय उनीहरूको भूमिकाप्रति शङ्का उत्पन्न हुन थालेको उल्लेख गर्दै अब उत्कृष्ट ११० भित्र पनि पर्छन् कि पर्दैनन् भन्ने लाग्न थालेको उनको टिप्पणी छ।
उनको अभिव्यक्तिले जनप्रतिनिधिले धार्मिक तथा सांस्कृतिक संवेदनशीलता र विकास निर्माणका व्यावहारिक आवश्यकतालाई कति गम्भीरतापूर्वक बुझ्छन् भन्ने प्रश्न उठाएको छ। विशेषतः पुल निर्माणजस्तो जनताको दैनिक जीवन, आवागमन र विकाससँग जोडिएको विषयमा आवश्यकताभन्दा निषेध र दण्डको सोच हाबी हुनु हुँदैन भन्ने सन्देश उनको व्यङ्ग्यमा देखिन्छ।
बस्नेतले आफ्नो स्टाटसको अन्त्यमा धादिङ क्षेत्र नं. १ की सांसद आशिका तामाङ र क्षेत्र नं. २ का सांसद बोधनारायण श्रेष्ठलाई विजया दशमीको हार्दिक मंगलमय शुभकामना पनि व्यक्त गरेका छन्।
लेखक :- धादिङको पुरानो पत्रकार मध्ये एक हुनुहुन्छ






