धादिङ ,गैरा २०८३ कार्तिक ४ गते बुधबार
नेत्रावती डबजोङ गाउँपालिका–३, सेम्जोङ गैरामा पुर्ख्यौली परम्परासँग जोडिएको ‘किर्पा क्लाङबा’ पर्व यस वर्ष पनि सम्पन्न भएको छ। हरेक वर्ष विजयादशमीका दिन मनाइने यो पर्वमा तीर–धनुषबाट निशाना लगाउने, प्रतीकात्मक सिकार खेल्ने र पुर्खाका कथा सुनाउने गरिन्छ। यो पर्व तामाङ समुदायको मौलिक संस्कृति र ऐतिहासिक पहिचानको उदाहरण हो।
पर्वको सुरुवात गाउँका मुखियाले धनुषबाणबाट निशाना लगाएपछि हुन्छ। त्यसपछि सहभागीले पालैपालो तीर हान्छन्। निशाना लगाउन नसक्नेले दण्ड–जरिवाना तिर्नुपर्ने र सफल हुनेलाई फूलपातीसहित नगद पुरस्कारले सम्मान गर्ने परम्परा छ। तीन जनाले निशाना लगाएपछि यो चरण सकिन्छ।
त्यसपछि तीर–धनुष बोकेर सबै जना मुखियाको आँगनमा भेला हुन्छन्। लम्बुले विधिपूर्वक पूजापाठ गरेपछि एक जनालाई कुकुरको भूमिका दिएर सिकार खेल्न जाने परम्परा छ। गाउँका युवाले हरिणको प्रतीकका रूपमा फर्सी फाल्छन्। सिकारबाट फर्किएपछि गाउँका बूढापाकाले पुर्खाका सिकार अनुभव र कथालाई ‘बोम्साङ’ मार्फत दुई पक्षमा विभाजित भएर सवाल–जवाफ गर्छन्। अन्त्यमा पृथ्वीको उत्पत्तिदेखिका कथाहरू समेटेर ‘माने’ भनिन्छ र उपस्थित सबै जना ‘मानेदोरा’ नाच्दै पर्व समापन गर्छन्।
सेम्जोङ गैराका सुकराम तामाङका अनुसार यो पर्व मनोरञ्जनमा मात्र सीमित छैन; यसले पुर्खाको इतिहास, धार्मिक विश्वास र सांस्कृतिक पहिचानलाई पुस्तान्तरण गर्दै आएको छ।
धादिङको साबिक दार्खा गाविसअन्तर्गत माझगाउँमा पनि विगतमा लक्ष्यमा निशाना लगाउने यस्तै परम्परा प्रचलित थियो। त्यहाँ मुखिया प्रथा नभए पनि जीवित मुखियाको घरमा यो तारा हान्ने चलन थियो। भरुवा बन्दुकमा गोली राखेर अगाडि राखिएको सेतो कागजमा बनाइएको गोलाकार निशानामा गोली प्रहार गरिन्थ्यो। निशानाको केन्द्रमा प्रहार गर्न सफल हुनेलाई पुरस्कृत गर्ने परम्परा रहेको बताइन्छ।
तर द्वन्द्व सुरु भएपछि भरुवा बन्दुकको प्रयोग र उपलब्धतामा आएको परिवर्तनसँगै माझगाउँको यो परम्परा पनि हराउँदै गयो। अहिले त्यहाँ यो चलन लोप भइसकेको छ। उता सेम्जोङ गैरामा भने बन्दुकको सट्टा धनुषबाण प्रयोग गरेर पुर्ख्यौली परम्परालाई निरन्तरता दिइँदै आएको छ।
एउटै जिल्लामा कुनै परम्परा लोप हुँदै जानु र अर्को ठाउँमा पुस्तौँदेखि जोगिइरहनुले संस्कृतिको संरक्षण कति महत्त्वपूर्ण छ भन्ने देखाउँछ। ‘किर्पा क्लाङबा’ जस्ता पर्वको संरक्षण गर्नु भनेको केवल एउटा उत्सव जोगाउनु होइन, पुर्खाको इतिहास, सामुदायिक एकता र भावी पुस्ताको सांस्कृतिक पहिचान जोगाउनु पनि हो।







