धादिङ ,२०८३ कार्तिक ५ गते
नेत्रावती डबजोङ गाउँपालिका–५ स्थित कुटुञ्जे स्वास्थ्य चौकीको भवन निर्माण सुरु भएको वर्षौँ बितिसक्दा पनि निर्माण सम्पन्न भएर सञ्चालनमा आउन सकेको छैन। २०७६ सालमा निर्माण सुरु भएको भवन २०७९ सालमै सम्पन्न हुनुपर्ने हो। तर, निर्धारित समयसीमा नाघेको लामो समय बितिसक्दा पनि भवन अलपत्र छ। नागरिकले स्वास्थ्य सेवा पाउनुपर्ने भवन अहिले झाडीले ढाकिएको छ।
त्रिकोण खबरले २०८२ फागुन २१ गते निर्वाचनका क्रममा भवनको तस्बिरसहित फागुन २६ गते यसको दयनीय अवस्था सार्वजनिक गरेको थियो। त्यसपछि प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठले स्थलगत अवलोकन गरी सम्बन्धित निकाय र निर्माण व्यवसायीलाई तत्काल काम सम्पन्न गर्न ध्यानाकर्षण गराउनुभएको थियो। भवनमा पानी र बिजुलीको अभावबारे प्रश्न उठ्दा स्वास्थ्य चौकीका तत्कालीन प्रमुखले नौ–दस वर्षदेखि नै यस्तो समस्या रहेको जवाफ दिएका थिए। उक्त जवाफप्रति सांसद श्रेष्ठले असन्तुष्टि जनाउनुभएको थियो।
विडम्बना, त्यतिबेला स्वास्थ्य चौकी प्रमुखको जिम्मेवारीमा रहेका व्यक्ति अहिले गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारीमा पुगिसकेका छन्। तर, भवनको अवस्था भने जस्ताको तस्तै छ। जिम्मेवारी र पद फेरिए पनि नागरिकले भोग्नुपरेको समस्या नफेरिएको भन्दै स्थानीयवासीले गुनासो गर्दै आएका छन्।
त्रिकोण खबरको टोलीले पुनः स्थलगत अनुगमन गर्दा भवन झन् झाडीले घेरिएको र प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ। समयमै संरक्षण र सञ्चालनको व्यवस्था नगरिए भवनका ढोका, जडान तथा अन्य संरचना जीर्ण भएर राज्यको लगानी खेर जाने जोखिम बढेको छ।
२०७९ सालमै सम्पन्न हुनुपर्ने भवन वर्षौँसम्म अलपत्र पर्दा यसको जिम्मेवार को हो? निर्माण व्यवसायीलाई जवाफदेही बनाउने, भवनको काम सम्पन्न गराउने र नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने दायित्व कसको हो? जनताको करबाट बनेको संरचना झाडीमा पुरिँदासमेत सम्बन्धित निकाय मौन बस्नु सुशासनमाथिकै प्रश्न हो।
भवन निर्माणको म्याद सकिएपछि पनि काम सम्पन्न नहुनुको कारण सार्वजनिक गरिनुपर्छ। निर्माणको वर्तमान अवस्था, बाँकी काम, बजेटको उपयोग र ढिलाइ गर्नेमाथि भएको कारबाहीबारे गाउँपालिका तथा सम्बन्धित निकायले नागरिकलाई स्पष्ट जवाफ दिनुपर्छ।
भवन बनाउनु विकासको सुरुवात हो, नागरिकले सेवा पाउनु त्यसको उपलब्धि हो। कुटुञ्जे स्वास्थ्य चौकीको भवन सम्पन्न गरी तत्काल सञ्चालनमा ल्याउन अब पनि ढिलाइ गर्नु हुँदैन। नत्र, सरकारी लगानीमा बनेको संरचना झाडीले निल्नेछ र नागरिकको स्वास्थ्य सेवासम्बन्धी अपेक्षा कागजमै सीमित हुनेछ।







