काठमाडौँ, २१ फागुन — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दुर्गम तथा भौगोलिक रूपमा कठिन क्षेत्रमा रहेका जिल्लाहरूमा मतपेटिका सुरक्षित रूपमा ढुवानी गर्न हेलिकप्टर प्रयोग गरिएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार रसुवा, दोलखा, रुकुमपूर्व, बाजुरा, बझाङ, हुम्ला लगायत आठ जिल्लामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिएको छ। ती जिल्लामा सडक यातायातको अभाव तथा कठिन भू–भागका कारण हवाई माध्यमबाट मतपेटिका सङ्कलन गरिएको हो।
प्रवक्ता भट्टराईले अन्य केही जिल्लामा पनि मतपेटिका ढुवानीको काम जारी रहेको जानकारी दिँदै शुक्रबार दिउँसो १२ बजेसम्म देशभरका सबै जिल्लाबाट मतपेटिका सङ्कलन पूरा हुने अपेक्षा गरिएको बताउनुभयो।
निर्वाचन सम्पन्न भएपछि मतपेटिका सम्बन्धित मतगणना केन्द्रमा सुरक्षित रूपमा पुर्याउने कार्यलाई आयोगले प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।






