काठमाडौँ , १० बैशाष
नेपाल सरकारले कर्मचारीको उपस्थितिलाई थप व्यवस्थित र पारदर्शी बनाउन देशभरका सबै सरकारी कार्यालय तथा ७५३ वटै स्थानीय तहमा विद्युतीय हाजिरी प्रणाली अनिवार्य गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको निर्देशनअनुसार अब कर्मचारीहरूको दैनिक आउने–जाने विवरण विद्युतीय प्रणालीमै अभिलेख राख्नुपर्ने भएको छ।
मन्त्रालयका अनुसार परम्परागत कागजी हाजिरी प्रणालीलाई विस्थापित गर्दै डिजिटल प्रणाली लागू गरिँदा कर्मचारीको उपस्थितिमा अनुशासन कायम हुने र कामकाजमा पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ। साथै, सेवाग्राहीलाई दिइने सेवा प्रभावकारी बनाउन पनि यसले सहयोग पुर्याउने विश्वास सरकारको छ।
निर्देशनअनुसार हरेक कार्यालयले प्रत्येक १५ दिनमा विद्युतीय हाजिरी विवरण प्रिन्ट गरी सम्बन्धित अधिकारीबाट प्रमाणित गराएर सुरक्षित राख्नुपर्नेछ। यसले आवश्यक पर्दा अनुगमन तथा मूल्याङ्कन गर्न सहज हुने बताइएको छ।
मन्त्रालयले सबै निकायलाई उक्त व्यवस्था कार्यान्वयन गर्न ताकेता गर्दै सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो र उत्तरदायी बनाउन विद्युतीय प्रणालीको पूर्ण पालना गर्न निर्देशन दिएको छ।






