काठमाडौँ , ११ बैशाष २०८३

प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका नेता  हर्कराज राई ले  देशका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्तीहरू हटाउने सरकारी कदमप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले जारी गरेको विज्ञप्तिमा यस्तो कार्य संविधानको मर्मविपरीत भएको उल्लेख गर्दै तत्काल रोक्न सरकारलाई आग्रह गरेका छन्।

विज्ञप्तिमा सरकारले सुकुम्बासी तथा गरिब जनताको बासस्थान भत्काउने, उनीहरूलाई विस्थापित बनाउने तथा लाठी, बुट र बन्दुक देखाएर त्रास सिर्जना गर्ने कार्य गरेको आरोप लगाइएको छ। राईले यस्ता गतिविधि मानव अधिकारविरुद्ध भएको भन्दै कडा शब्दमा निन्दा र विरोध गरेका छन्।

उनले बस्ती हटाउनु अघि उचित क्षतिपूर्ति, पुनर्वास र व्यवस्थापनको स्पष्ट योजना ल्याउनुपर्नेमा जोड दिएका छन्। वर्षौँदेखि बसोबास गर्दै आएका नागरिकलाई राज्यकै सहमतिमा बसोबास गराइएको अवस्थामा एकाएक हटाउनु अन्यायपूर्ण भएको उनको भनाइ छ।

“जनतालाई बेघर बनाउने कार्यले न त सुशासन कायम हुन्छ, न आर्थिक उन्नति र विकास सम्भव हुन्छ,” विज्ञप्तिमा भनिएको छ। साथै सुकुम्बासीलाई सडक मानव बनाउने नीतिको कुनै औचित्य नभएको उनले उल्लेख गरेका छन्।

राईले सरकारलाई तत्काल यस्ता गतिविधि रोक्न, प्रभावित नागरिकलाई न्याय दिन र संविधानअनुसारको व्यवस्था सुनिश्चित गर्न माग गरेका छन्। उनले अन्त्यमा “जय मानव, जय जनता, जय नागरिक सर्वोच्चता” भन्ने नारासहित नागरिक अधिकारको रक्षा गर्न सबैलाई आह्वान गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0