धादिङ:- धादिङको रुबी भ्याली गाउँपालिका वडा नम्बर ६ मा सरकारी बजेटबाट खरिद गरिएको भनिएको मोटरसाइकल आवश्यक सरकारी प्रक्रिया पूरा नगरी सञ्चालन गरिएको भन्दै स्थानीयवासीले प्रश्न उठाएका छन्। वडा अध्यक्ष समिर गुरुङले प्रयोग गर्दै आएको एक्स प्लस (X Plus) मोटरसाइकल हालसम्म पनि सरकारी नम्बर प्लेटबिनै सञ्चालन भइरहेको तथा सरकारी वा निजी प्रयोजनमध्ये कुन प्रयोजनका लागि प्रयोग भइरहेको हो भन्ने स्पष्ट चिन्हसमेत नराखिएको स्थानीयको आरोप छ।
स्थानीयका अनुसार उक्त मोटरसाइकल २०८२ साल असारतिर गाउँपालिकाको बजेटबाट खरिद गरिएको थियो। तर खरिद भएको लामो समय बितिसक्दा पनि सवारी साधनमा सरकारी नम्बर प्लेट नराखिएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
यस विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छोईसाङ तामाङसँग पटक–पटक जानकारी माग्दा उनले वडा अध्यक्षलाई आवश्यक सरकारी प्रक्रिया पूरा गर्न मौखिक रूपमा पटक–पटक आग्रह गरिएको तर त्यसको पालना नभएको बताएका स्रोतले जनाएको छ।
स्थानीयहरूले एउटै समयमा खरिद गरिएको वडा नम्बर १ का वडा अध्यक्ष पम्पर तामाङले प्रयोग गरिरहेको सरकारी मोटरसाइकलमा भने सरकारी नम्बर प्लेट राखिसकिएको उदाहरण दिँदै वडा नम्बर ६ को मोटरसाइकलमा किन फरक अवस्था देखिएको हो भन्ने प्रश्न उठाएका छन्।
यता वडा अध्यक्ष समिर गुरुङ केही समयअघि दुर्घटनामा परी काठमाडौंमा उपचाररत रहेको बताइएको छ। तर उक्त मोटरसाइकल भने हाल पनि धादिङबेसी क्षेत्रमा निर्वाद सञ्चालन भइरहेको छ।
घटनाप्रति चासो व्यक्त गर्दै स्थानीय नागरिकहरूले सम्बन्धित प्रशासन, ट्राफिक प्रहरी तथा सरोकारवाला निकायबाट निष्पक्ष अनुसन्धान गरी वास्तविकता सार्वजनिक गर्न माग गरेका छन्।






