धादिङ, १४ जेठ २०८३
धादिङ अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि पछिल्लो समय अभद्र व्यवहार हुने गरेको र बिना इजाजत अनाधिकृत रूपमा भिडियो खिचेर सामाजिक सञ्जालमा हाल्ने क्रम बढेको भन्दै अस्पताल प्रशासनले गम्भीर आपत्ति जनाएको छ।
अस्पतालका निमित्त अस्पताल निर्देशक डा. त्रिभुवन चन्द्र झाद्वारा हस्ताक्षरित एक पत्रमार्फत जिल्ला प्रशासन कार्यालय, धादिङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई आवश्यक कारबाहीका लागि अनुरोध गरिएको छ। पत्रको बोधार्थ जिल्ला प्रहरी कार्यालय, धादिङलाई समेतको छ ।
अस्पताल प्रशासनका अनुसार विगत केही समयदेखि अस्पतालमा अनाधिकृत व्यक्तिहरू पसी बिरामी र स्वास्थ्यकर्मीको भिडियो खिच्ने, सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने तथा गालीगलौज र अपमान गर्ने घटनाहरू बढ्दै गएका छन्। यसले गर्दा कर्मचारीहरू डर, त्रास र आतंकित वातावरणमा काम गर्न बाध्य भएको पत्रमा उल्लेख छ। नियमित कार्यक्षेत्र असुरक्षित बन्दा चिकित्सक तथा कर्मचारीहरूको मनोबल गिरेको र कर्मचारीहरू पलायन हुने अवस्था सिर्जना भएको तर्फ अस्पतालले ध्यानाकर्षण गराएको हो ।
विशेष गरी गत जेठ ११ गते सोमबार अस्पतालको ड्रेसिङ शाखामा घटेको एउटा घटनालाई लिएर अस्पतालले कानुनी कारबाहीको माग गरेको छ। उक्त दिन अस्पतालमा सेवाग्राहीको अत्यधिक चाप थियो। कार्यव्यस्तताका कारण तोकिएको समयमा खाजा खान नपाएका सो शाखाका कर्मचारीहरूले दिउँसो करिब ४:०० बजे ड्युटी कक्षमै खाजा खाँदै थिए।
सोही समयमा सेवा लिन आएका ज्वालामुखी गाउँपालिका वडा नं. ४ का निवासी सुगम बाडाले अनुमति बिना अनाधिकृत रूपमा भिडियो खिचेर विभिन्न मिडिया तथा सामाजिक सन्जालमा राखिएको छ
उक्त भिडियोमार्फत न्यूनतम मानवता समेत ख्याल नराखी, प्रचलित ऐन नियम विपरीत अफवाह फैलाइएको र सो शाखामा कार्यरत महिला कर्मचारीको चरित्र हत्या गर्ने काम गरिएको अस्पताल प्रशासनले जनाएको छ।
घटनाको विषयमा सम्बन्धित शाखामा कार्यरत हेल्थ असिस्टेन्ट (हे.अ.) अशोक श्रेष्ठले जानकारी सहित कारबाहीका लागि निवेदन पेश गरेपछि अस्पताल प्रशासनले यो कदम चालेको हो।
सहज वातावरण बनाउन माग
अस्पतालले उक्त घटनाको आवश्यक छानबिन गरी प्रचलित ऐन/कानुन बमोजिम दोषीमाथि कारबाही गर्न माग गरेको छ। साथै, अस्पतालमा कार्यरत कर्मचारीहरूले सहज र सुरक्षित ढंगबाट काम गर्ने वातावरण निर्माणका लागि सहजीकरण गरिदिन प्रमुख जिल्ला अधिकारीसमक्ष अनुरोध गरिएको छ।







