काठमाडौं, २०८३ जेठ २३ — काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा एक महिलाको हत्या भएको छ।
प्रहरीका अनुसार सोही स्थानका ४२ वर्षीय कुमार थापा (नेपाली ब्रो) ले आफ्नी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरेका थिए। शुक्रबार राति करिब १०:१० बजे भएको उक्त घटनामा गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो।
उपचारकै क्रममा भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न आरोपित कुमार थापालाई प्रहरीले पक्राउ गरी प्रहरी वृत्त बालाजुको नियन्त्रणमा राखेको छ। घटनाको कारण र अन्य विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






