धादिङ — धादिङको नीलकण्ठ नगरपालिका–४ धादिङ पौवामा सब-इन्जिनियरमाथि कुटपिट हुँदा एक जना गम्भीर घाइते भएका छन्।
संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, चितवन अन्तर्गत धादिङ शाखामा कार्यरत सब-इन्जिनियर हबेन्द्र कुमार यादवमाथि आक्रमण हुँदा उहाँ गम्भीर घाइते भएको हो।  सप्तरी को सप्तकोशी नगरपालिका–२ निवासी यादव धादिङमा कार्यरत छन्।
पीडितका अनुसार निलकण्ठ नगरपालिका वडा नम्बर ४ पौवा स्थित इजरा खानेपानी आयोजनाको साइट निरीक्षणका लागि धादिङ पौवा जाँदै गरेका प्राविधिकहरू मोटरसाइकलमा यात्रा गरिरहेका बेला ढलान गरिएको सडक खण्ड पार गरेपछि एक व्यक्तिले मोटरसाइकल रोकी उनीहरूमाथि आक्रमण गरेका हो।
आक्रमणका क्रममा यादवको मुखमा मुक्का प्रहार हुँदा उहाँका दाँत हल्लिनुका साथै बङ्गारा नजिकको हड्डीसमेत भाँचिएको जनाइएको छ।
घाइते यादवलाई धादिङ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित बी एन्ड बी अस्पताल, ग्वार्को रिफर गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
उक्त घटनामा मोटरसाइकल चालक चितवनको भरतपुर महानगरपालिका–९ निवासी सब-इन्जिनियर सुरेश आले मगरमाथि पनि आक्रमण भएको थियो। हेल्मेट लगाएका कारण उहाँ सामान्य अवस्थामा रहेको बताइएको छ।
पीडित पक्षले नीलकण्ठ नगरपालिका–४ निवासी करिब ४० वर्षीय सन्जिप मल्लले कुटपिट गरेको आरोप लगाएको छ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय धादिङमा निवेदन दर्ता भइसकेको छ भने प्रहरीले घटनाको अनुसन्धान तथा आरोपितको खोजी कार्य जारी रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0