२६ जेष्ठ २०८३ , धादिङ सल्यानटार
धादिङको पवित्र धार्मिक स्थल नरसिंह धाममा ९० वर्षीय बुबा गुप्तबहादुर पौडेल र ८२ वर्षीया आमा दुबकुमारी पौडेललाई दर्शन गराउन पाउँदा मनमा अपार खुशी र सन्तुष्टि अनुभूत भयो। म, मेरा काईलो बुबाको छोरा माइला दाजु विक्रम पौडेल तथा परिवारका अन्य सदस्यहरूको साथमा आज उहाँहरूलाई नरसिंह धाम पुर्याउने अवसर मिल्यो।
विगत दुई वर्षदेखि बुबालाई दमको समस्या केही बढेकाले उहाँको हिँडडुल घरभित्र, घरआँगन र घरअगाडिको अगेनुसम्म मात्र सीमित छ। आमा नरसिंह धाम जाने तयारीमा हुनुहुन्थ्यो, तर बुबालाई घरमै छोडेर जाँदा उहाँमा हीनताबोध हुन सक्ने सोचले मनमा चिसो पसिरहेको थियो। त्यसैबीच मेरी श्रीमती बिनाले अघिल्लो दिन बुबालाई सोध्नुभयो, “बा, तपाईँ नरसिंह धाम जान सक्नुहुन्छ?” बुबाको जवाफ थियो, “नुहाउने ठाउँसम्म गाडी गए म जान सक्छु।”
उहाँको यही इच्छा र उत्साहलाई सम्मान गर्दै आज बिहान एउटा म्याजिक भ्यानको व्यवस्था गरियो। सामान्यतया गाडी जान रोक लगाइने स्थानसम्म पनि बुबाआमाको उच्च उमेरलाई मध्यनजर गर्दै जान अनुमति दिइयो, जसले यात्रालाई सहज र सहजतापूर्ण बनायो।
नरसिंह धाम पुगेर नेत्रावती (आखुखोला) नदी र बुढीगण्डकी नदीको पवित्र संगमस्थलमा स्नान गरियो। त्यसपछि आत्रेय गोत्रको कुण्डमा बुबा, आमा, म र माइला दाजु विक्रम पौडेलले संयुक्त रूपमा होम गर्यौं। पूजा, पाठ, दान–दक्षिणा तथा विभिन्न धार्मिक अनुष्ठान सम्पन्न गरियो। वृद्धावस्थामा पनि बुबाआमाको अटल धार्मिक आस्था र श्रद्धा देख्दा मन गर्वले भरियो।
म आफूलाई निकै भाग्यमानी ठान्छु। आज मेरो उमेर ५४/५५ वर्ष पुगिसकेको छ, तर अझै पनि बुबाआमाको माया, स्नेह र आशीर्वाद पाइरहेको छु। उहाँहरूकै साथ र प्रेरणाले जीवनका धेरै महत्वपूर्ण क्षणहरू अनुभव गर्न पाएको छु।
यसअघि पनि बुबाआमालाई हेलिकप्टर यात्रा गराउने अवसर मिलेको थियो। २०८० सालमा झापाको भद्रपुरसम्म हवाई यात्रा गराएको थिएँ। भारतको प्रसिद्ध तीर्थस्थल रामेश्वरमसम्म घुमाउने सौभाग्य पनि प्राप्त भयो। उहाँहरूलाई नयाँ ठाउँ देखाउन, धार्मिक यात्रामा सहभागी गराउन र खुशी बनाउन पाउँदा आफूले जीवनकै ठूलो उपलब्धि प्राप्त गरेजस्तो लाग्छ।
आजको व्यस्त संसारमा धेरै छोराछोरीले आफ्ना बुबाआमासँग लामो समय बिताउने, सँगै खाने र सुखद क्षणहरू बाँड्ने अवसर पाउँदैनन्। तर म त्यो अवसर पाएको व्यक्ति हुँ। खाना खाने बेला बुबाले “बद्री खोइ?” भनेर खोज्नु हुन्छ , श्रीमती बिना र आमाले मलाई बोलाउनुहुन्छ, अनि हामी प्रायः एउटै टेबलमा बसेर खाना खान्छौँ। यस्ता सामान्य जस्ता लाग्ने क्षणहरू नै जीवनका सबैभन्दा अमूल्य सम्पत्ति हुन्। धेरैले यो अवसर पाउदैन , समय , पेसा , ब्यसाय बिबिध कारणले गर्दा सङै हुदैन तर मलाई भने त्यो अवसर प्राप्त भै रहेको छ , म धेरै खुशी र भग्यमानी आफुले आफैलाई ठान्दछु ।
नरसिंह धामको आजको यात्रा केवल धार्मिक दर्शन मात्र थिएन, यो बुबाआमाप्रतिको सम्मान, कृतज्ञता र प्रेम अभिव्यक्त गर्ने अवसर पनि थियो। जीवनमा धन, सम्पत्ति र सफलता भन्दा पनि बुबाआमाको साथ, उहाँहरूको आशीर्वाद र सँगै बिताएका यस्ता क्षणहरू नै सबैभन्दा ठूलो सम्पत्ति रहेछन् भन्ने अनुभूति आज फेरि एकपटक भयो।







