बाबुराम फ्युबा, खनियाबास-३, धादिङ
म एक १९–२० वर्षकी केटी हुँ। जानेर होस् वा नजानेर, सानै उमेरमा मेरो विवाह भयो। आफ्नै संसार बनाउने चाहनामा रमाउन थालेँ। हाम्रो दुई वर्षको एउटा छोरा छ, र म अहिले छ महिनाकी गर्भवती छु।
आफ्नै संसार सजाउने रहरमा श्रीमान् भोटेकोशी बाढी प्रभावित क्षेत्रमा कामगर्न थाल्नुभयो। हामी भने काठमाडौंमा एउटा सानो कोठा लिएर बस्न थाल्यौँ। परिवारको एउटा हिस्सा गाउँमा, श्रीमान् बाढी प्रभावित क्षेत्रमा र म छोरालिएर काठमाडौंको त्यो सानो कोठामा—हाम्रो संसार यसरी नै तीन तिर बाँडिएको थियो।
टाढा भए पनि हामी खुसी थियौँ। कहिले हामी गाउँ जान्थ्यौँ, कहिले गाउँबाट परिवार हामीलाई भेट्न आउनुहुन्थ्यो। दूरी थियो, तर आत्मीयता थियो। आशा थियो। आफ्नै सानो संसार थियो।
तर भदौ १० गतेको विनाशकारी बाढीले हाम्रो त्यो स्वर्गजस्तो संसारको मियो नै ढालिदियो। गाउँ जाने बाटो बन्द भयो। आफ्ना मान्छेसँग भेट्ने, उनीहरूको खबर पाउने बाटोसमेत हरायो। अनि यो अन्जान सहरको सानो कोठाभित्र एकाएक अन्तहीन अँध्यारो छायो।
लाउलाउ र खाउखाउको उमेरमा मेरो जीवनको पाण्डुवी जहाज नै डुब्यो। देशको परिस्थितिले त्यही दिन मेरो ग्यासको चुलो निभाइदियो। छोराले बोलाउने ‘बा’ भन्ने नाता टुट्यो। अनि मेरो गर्भमा हुर्किरहेको सन्तानले आफ्ना बाबाको अनुहारसमेत देख्न नपाउने भयो।
उफ्…!
यो पीडा कसलाई सुनाऊँ?
स्थानीयदेखि संघीय सरकारसम्म, व्यक्तिदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थासम्म सबैले खोजी तथा उद्धार गरिरहेको सुन्छु। हरेक खबरसँगै झिनो आशा पलाउँछ, फेरि निराशाले मन चिथोर्छ। राहत पुगेका खबर पनि सुन्छु, राहत पुगे पनि गन्तव्यसम्म पुर्याउन नसकिएका खबर पनि सुन्छु।
तर म सोचिरहेकी छु—म जस्तै काठमाडौंमा सानो कोठा लिएर गुजारा गर्ने परिवारहरू पनि त होलान्। मैले देखेकी पनि छु। गाउँमा आफ्ना मान्छे, बाढी प्रभावित क्षेत्रमा काम गर्ने श्रीमान्, अनि काठमाडौंको सानो कोठामा पर्खेर बस्ने श्रीमती र बालबच्चा…
ती परिवारहरूको पीडा कसले देखिरहेको छ?
कतै राहतको भीडमा उनीहरूको आवाज हराइरहेको त छैन?
कतै खोजी र उद्धारको सूचीमा उनीहरूको नाम छुटिरहेको त छैन?
ती परिवारहरूमा पनि कोही कसैले पुग्न बिर्सिनुभयो कि?
यो कुनै एक परिवारको कथा होइन। यो त विपत्तिले छुट्याएका, खबरको प्रतीक्षामा आँखा ओभाउन नसकेका, आशा र निराशाको दोसाँधमा बाँचिरहेका असंख्य परिवारहरूको मौन कथा हुन सक्छ।
यो सन्दर्भ यदि कसैको जीवनसँग मेल खान पुग्यो भने—त्यो केवल संयोग मात्र हो।






