काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले पदबाट राजीनामा दिएका छन्।
बागमती प्रदेश सरकारमा पार्टी केन्द्रको संस्थागत निर्णयविपरीत राप्रपा सहभागी भएपछि उत्पन्न विवादका कारण तामाङले वरिष्ठ उपाध्यक्ष पदबाट राजीनामा दिएका हुन्। राप्रपाबाट बागमती प्रदेश सरकारमा तीन जना मन्त्रीसमेत सहभागी भएका छन्।
एमाले नेतृत्वको बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिँदा राप्रपाका सात जना प्रदेश सांसदले सरकारको पक्षमा मतदान गरेका थिए। विश्वासको मत दिने सात सांसदमा बुद्धिमान तामाङका आफ्नै भाइ डम्मर तामाङसमेत रहेका छन्।
तामाङले राजीनामा पत्रमा पार्टीको निर्णयविपरीत आफ्नै भाइसमेत विश्वासको मत प्रक्रियामा सहभागी भएकाले आफूलाई वरिष्ठ उपाध्यक्ष पदमा बसिरहन नैतिक संकट उत्पन्न भएको उल्लेख गरेका छन्।
पार्टी केन्द्रको निर्णय र प्रदेश सांसदहरूको भूमिकाबीच देखिएको मतभेदका कारण राप्रपाभित्र बागमती प्रदेश सरकारमा सहभागिताको विषय विवादित बनेको छ।






