धादिङ ,२०८३ भाद्र २५
गोसाईंकुण्ड तीर्थयात्राका लागि धादिङबाट गएको २६ जनाको टोलीमध्ये नीलकण्ठ नगरपालिका–८ निवासी शिक्षिका जानुका खनाल लम्साल र उहाँका श्रीमान् रामशरण लम्साल पनि पर्नुभएको थियो। भदौ १० गते आएको भीषण बाढीपहिरोमा परी दम्पतीकै दुःखद निधन भएपछि नीलकण्ठ नगरपालिका शोकमा डुबेको छ।
गोसाईंकुण्ड जाने क्रममा रसुवाको बेत्रावती क्षेत्रमा आएको बाढीपहिरोको चपेटामा परेको उक्त टोलीमा रहेका जानुका र रामशरणको पनि ज्यान गएको हो।
जानुका खनाल लम्साल नीलकण्ठ नगरपालिका–८ स्थित देउराली माध्यमिक विद्यालयमा २०८१ सालदेखि नेपाली विषय अध्यापन गराउँदै आउनुभएको थियो। छोटो समयमै विद्यार्थी तथा विद्यालय परिवारमाझ लोकप्रिय बन्नुभएकी उहाँ मेहनती, लगनशील, जिम्मेवार र विद्यार्थीप्रति आत्मीय शिक्षिकाका रूपमा परिचित हुनुहुन्थ्यो।
उहाँहरूको निधनको शोकमा नीलकण्ठ नगरपालिका क्षेत्रमा शोक छाएको छ। शिक्षिका जानुका कार्यरत देउराली माध्यमिक विद्यालयले पनि उहाँको योगदानको स्मरण गर्दै शोकसभा आयोजना गरेको हो।
शोकसभामा विद्यालयका प्रधानाध्यापक रोहिणी प्रसाद कोइरालाले जानुका खनाल लम्सालको निधन विद्यालयका लागि अपूरणीय क्षति भएको बताउनुभयो। उहाँले विद्यार्थीको सिकाइ र शैक्षिक प्रगतिका लागि समर्पित भएर काम गर्ने शिक्षिका गुमाउँदा विद्यालय परिवार अत्यन्त मर्माहत भएको बताउनुभयो।
“यति मेहनती र विद्यार्थीप्रति समर्पित शिक्षिका गुमाउनु हाम्रो विद्यालयका लागि ठूलो क्षति हो। उहाँजस्तो शिक्षक फेरि कहाँ पाउन सकिन्छ र? उहाँको योगदान र सम्झना सधैँ हाम्रो मनमा रहनेछ,” प्रधानाध्यापक कोइरालाले भन्नुभयो।
शोकसभामा स्वर्गीय जानुका खनाल लम्सालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको थियो।
दम्पतीको निधनले उनीहरूका एक छोरी र करिब १०/११ वर्षका छोरासहित परिवारमा ठूलो बज्रपात परेको छ। बाढीपहिरोमा एकै परिवारका दम्पती गुमाउँदा आफन्त, छरछिमेक, विद्यार्थी, शिक्षक तथा समग्र नीलकण्ठवासी शोकमा छन्।






