धादिङ ,२४ भाद्र ,२०८३
शितल छहारी नेपालले आज गजुरी गाउँपालिका–५, गलौदीका बाढी प्रभावित १४ परिवारलाई करिब दुई लाख रुपैयाँ बराबरको राहत तथा अत्यावश्यक घरायसी सामग्री वितरण गरेको छ।
बाढी प्रभावित परिवारका लागि टेन्ट, डसना, सिरानी, तन्ना, पानीको जार, धारा, बोतल, बाटा, जग, चपिङ बोर्ड, चक्कु, तरकारी छिल्ने उपकरण, दाँत माझ्ने ब्रस, मास्कलगायतका सामग्री हस्तान्तरण गरिएको हो।
गजुरी गाउँपालिका–५ का वडा अध्यक्ष गोविन्द लामिछानेको रोहवरमा १४ परिवारलाई उक्त सामग्री हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका सभापति सीताराम अधिकारी, अनलाइन मिडिया सोसाईटी धादिङका अध्यक्ष तथा वरिष्ठ पत्रकार केशव अधिकारी, लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आईका रिजन चेयर्स पर्सन कृष्णप्रसाद ढकाल ‘शिशिर’, शितल छहारी नेपालका उपाध्यक्ष विक्रम पौडेल, पैरवी अनलाइनका निर्देशक श्याम मग्राती, त्रिकोण खबरका सम्पादक ईश्वर थापा मगर लगायतको सहभागिता थियो।
राहत सामग्री जुटाउन तथा वितरणका लागि समन्वय गरिदिएकोमा शितल छहारी नेपालका अध्यक्ष कृष्ण बद्री पौडेलले सीताराम अधिकारी र कृष्णप्रसाद ढकाल ‘शिशिर’प्रति धन्यवाद व्यक्त गर्नुभयो। बाढी तथा विपद्बाट प्रभावित नागरिकको आवश्यकता अनुसार संस्थाको सहयोग निरन्तर जारी रहने उहाँले बताउनुभयो।
यसअघि भदौ १५ गते शितल छहारी नेपालले नुवाकोटको विदुर नगरपालिका–७, तुप्चेको अक्करेमा समेत बाढी प्रभावित परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको थियो। संस्थाले विपद्बाट प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने कार्यलाई निरन्तरता दिने जनाएको छ।
वडा अध्यक्ष गोविन्द लामिछानेले प्रभावित परिवारका लागि अत्यावश्यक सामग्री उपलब्ध गराएकोमा शितल छहारी नेपालका अध्यक्ष पौडेलसहित सहयोग र समन्वयमा संलग्न सबैप्रति आभार व्यक्त गर्नुभयो।







