काठमाडौं ,२३ भाद्र ,२०८३
नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत वडा तहदेखि केन्द्रीय महाधिवेशनसम्मको कार्यतालिका सार्वजनिक गरेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले सार्वजनिक गरेको कार्यतालिकाअनुसार गाउँ–नगर वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्मका विभिन्न चरणका निर्वाचन तथा अधिवेशनको मिति तोकिएको हो।
कार्यतालिकाअनुसार २०८३ असोज ३ गते शनिबार र ८ गते आइतबार स्थानीय अनुकूलताअनुसार देशभरका ६ हजार ७४३ वडामा वडा अधिवेशन सम्पन्न गरिनेछ। वडा अधिवेशनबाट वडा कार्यसमितिको निर्वाचनसँगै क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ।
त्यसपछि असोज ७ गते बुधबार गाउँ–नगरपालिका अधिवेशन तथा असोज १० गते शनिबार प्रदेशसभा क्षेत्रीय अधिवेशन/प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका छ।
कांग्रेसले असोज १६, १७, १८ र १९ गते केन्द्रीय महाधिवेशन गर्ने जनाएको छ।
यसैबीच, पछिल्लो बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा भने तोकिएका निर्वाचन अधिकृतले सम्बन्धित पार्टीका स्थानीय तहसँग समन्वय गरी अधिवेशन सम्पन्न गर्ने व्यवस्था गरिएको छ।
कांग्रेसको नेपाली जनसम्पर्क समितिअन्तर्गत बाँकी रहेका देशहरूको अधिवेशन पनि २०८३ असोज १० गतेभित्र सम्पन्न गर्ने जनाइएको छ।
जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको विस्तृत समयतालिका भने दोस्रो चरणमा प्रकाशित गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ।






