धादिङ । नजिकै जङ्गलबाट एक रफ्तारमा अनौठो आवाज मेरो कानमा ठोक्किन पुग्यो । सुरुमा त मैले त्यति वास्ता नै गरिन तर बारम्बार आवाज आएपछि म पनि के रहेछ भनी रोकिइन आवाज तर्फ फर्की हेरेको त भालु ! मलाइ भालुले टाढै देखि हेरिरहेको रहेछ म भने अन्जान उसै तिर नजिक नजिक हुँदो रहेछु ।

कुरा २०७६ साल वैशाख १ गतेको हो , हामी मनाङको चामेबाट नयाँ वर्षलाई स्वागत गरी घर तर्फ फर्कँदै थियौ । फर्कने क्रममा हुलका हुल विदेशी पर्यटकहरू गह्रौँ भारी भएको झोला बोकी लट्ठी टेक्दै मनाङको ट्रेकिङ गरी रहेका थिए । यसै क्रममा मनाङको ताल गाउं नजिक आइपुग्दा अन्दाजी २०,२२ वर्ष उमेरकी स्विस सुन्दरी एक्लै ट्रेकिङ गरी रहेकी रहिछिन् । यो देखेर मलाइ आश्चर्य लाग्यो। मनमनै सोचे कि विदेशी सामाजिक संस्कृति हाम्रा तिर भन्दा कत्ति धेरै अगाडी बढी सकेको ! हाम्रा तिरका महिलाहरू यसरी एक्लै हिँड्ने आँट पनि  त गर्नु पर्‍यो नि ! मनमनै तिनीलाई  साधुवाद दिएँ किनकि हाम्रा तिरका महिलाहरू यसरी एक्लै हिँड्ने आटको कल्पना सम्म गर्न कहाँ सकिन्छ र ? यो घटनाले मलाइ भने भित्रै देखि थप ऊर्जा मिलिरहेको थियो । कुनै दिन म पनि एक्लै देश दर्शनमा निस्कन छक्नेछु, हेरौँ के पो होला ?

म समयको पर्खाइ मा थिएँ । आफ्नै जिल्लाको रुवि भ्यालीको वर्णन युट्यूव वाट हेर्न पर्दा नरमाइलो लागि रहेको थियो । उक्त भूगोलको यात्रा गर्ने तीव्र इच्छा हुँदा हुँदै पनि समय,परिस्थिति र मौसमको संयोजन मिल्न नसक्दा मन खुम्चिरहेको थियो । यस पटक भने रुवि भ्याली तिर शिक्षण पेशा गर्ने शिक्षक साथीहरूसँग चिनजान हुने अवसर प्राप्त भयो । भेटघाट र भलाकुसारीकै क्रममा मैले आफ्नो डायरी मा उहाँहरूको नाम , फोन नं र ठेगाना उतार गरी राखेको थिए । साथै रुवि भ्यालीको पर्यटकीय स्थानहरूमा घुमाइ दिन र एक्लै आएको अवस्थामा धादिङ बेसी देखि रसुवाको धुन्छे सम्मको ट्रेकिङ रुट र अन्दाजी यत्राको क्रममा लाग्ने समय समेत डायरीमा टिपोट गरेको थिएँ । यसले म मा थप आत्म विश्वास बढायो भने मनाङ मा एक्लै यात्रा गरिरहेकी विदेशी नागरिकको अदम्य साहसले भित्रभित्रै ऊर्जा मिलिरहेको थियो । यात्राको क्रममा भेट भएकाहरू पनि त मेरा साथी र सहयोगी हुन सक्छन् नि ! त्यसैले म एक्लै कहाँ पर्छु र ? बस् यही दृढ साहस र इच्छा शक्तिले गर्दा म एक्लै रुवि भ्यलीको यात्रामा निस्किएँ ।

भिर्ने झोला भित्र अति आवश्किय वस्तुहरू जस्तो मन्जन , व्रस, प्राथमिक उपचारका औषधीहरू,चाउचाउ,बिस्कुट,चकलेट,फोन चार्जर र ब्याक अप,जाडोमा लगाउने कपडाहरू लगायत सम्झनामा आए सम्मका सामग्रीहरूलाई झोला भित्र मिलाएर राखेँ । स्थानीयहरूको लागि सानो भए पनि मायाको चिनो समेतको व्यवस्था गरेँ ।

२०८१ साल जेठ महिनाको ८ गते दिनको ३ बजे तिर हामी जिपबाट  सेर्तुङमा ‍ओर्लियौं । सँगै आएका साथीहरू आ-आफ्नो गन्तव्य तर्फ लागे । अब म भने कता पो जाने हो एक्लै पर्ने भएँ । त्यस दिन म जसको सम्पर्कमा आउँदै थिए कारणवस उनको सोही दिनबाट तालिम पर्न गएछ । योजना अनुसार भएन , सोचे अनुसार पनि भएन । के गर्ने कसो गर्ने भन्ने अलमलमा परेँ । यतिकैमा म सवार जिपमा यात्रा गर्ने एक जना भाइ म तर्फ आइ सोधे – सर तपाइ कहाँ जाने हो र ? मैले तत्काल उत्तर दिए – तिप्लिङ जाने भनेको अनि तपाइ नि ? मैले प्रति प्रश्न गरेँ । म पनि तिप्लिङ नै जाने हो , साँझ सम्ममा पुगी हालिन्छ सँगै जाउँला नि ! उनले भने । ढुङ्गा खोज्दा देवता मिल्यो भने जस्तै भयो मलाइ । त्यस दिन बिहानको खाना पछि यात्रा भरी केही पनि खाने अवसर मिली राखेको थिएन । हल्का भोक पनि लागि रहेको थियो । मैले झोलामा खाजा र थर्मसमा पानी बोकेको थिएँ । खाजा खाने प्रस्ताव गरे । उनले अलि पर समथर चौर छ त्यही जाउला नि सर भने । मैले पनि मुन्टो हल्लाउदै सहमति जनाए । कुराकानी कै क्रममा ती भाइ र मेरो चिनजान हुँदै गयो । ती त हालसाल का मेराे छीमेकी पो भएका रहेछन् , पौवा गाउँ तिरका नीरज तामाङ । मेरा वरपरका सवैलाई चिन्दा रहेछन् । मसँग मात्र चिनजान हुन नसकेको , कस्तो अचम्म ?  नीरज त तिप्लिङका राम्रै चिनजानका बासिन्दा रहेछन् । आमा बुबा र बहिनी तिप्लिङ को घरमै बस्नु हुदाेरहेछ । आमा बाबुको न्यास्रो र लेक तिर यार्सा खोज्ने सिजन समेत भएकाले २,३ वर्ष पछि पहिलो पटक घर  आएका रहेछन् ।  पाङसाङपासमा उनैले पहिलो पटक होमस्टे सञ्चालनमा ल्याएका रे ! काम गर्ने मानिसको अभावमा अहिले बन्द छ सर अब परिवार सँग सल्लाह गरी होमस्टे पनि चलाएर दुई चार दिन पछि धादिङ फर्कने हो भनी खाजा गफमा कुरा गर्दै थिए । आज मेरै घरमा बस्ने हो सिस्नो ढिढो खाउँला , भोली दिनभर होमस्टे को लागि सामाग्रीहरू जुटाउन लाग्ने छु पर्सी सँगै पाङसाङपास जाऔला हुन्न र सर ? – उनले प्रस्ताव राखे । आफूलाई पनि  त्यस्तै मान्छे चाहिएको हुन्छ नि भनेर  जवाफ फर्काएँ । त्यस दिन नीरजले उनकै घरमा लगी बास राखे । बेलुका बाबा आमा र बहिनीसँग परिचय गराए । मैले बाबालाई ढाका टोपी लगाइ दिए । आमालाई पनि मोबाइल राख्ने पर्स दिएँ । म त्यस परिवारको नयाँ सदस्य बने । तामाङ भाषाको अलवा नेपाली भाषा पनि बोल्नु हुँदो रहेछ केही बेर सुख दुःखका कुरा भए । अनि आ-आफ्नो विश्राम कक्ष तिर लाग्यौ ।

भोलीपल्ट बिहानै खाना खाइ म दोङदेन मावि तर्फ लागेँ । नीरज आफ्नै घर व्यवहारमा तल्लीन थिए । म विद्यालय पुग्दा काठमाडौँ सेन्टजेभियर्सका शिक्षक विद्यार्थीहरूले स्वास्थ्य शिविर सञ्चालन  गरिरहेका रहेछन् । मलाइ प्रधानाध्यापक नोर्साङ तामाङ र विद्यालयका अध्यक्ष मान घले लगायत शिक्षक साथीहरूले गेट देखिनै स्वागत गरी लैजानु भयो । मैले आफूसँग भएको सामग्री प्रयोग गर्दै मानव अधिकार शिक्षा र कानुनी सचेतनाका थोरै भए पनि शिक्षक विद्यार्थी र वि व्य स बिच अन्तरक्रिया गर्ने अवसर पाए । मेरो सेसनलाई सेन्टजेवियर्सका भाइबैनीहरुले पनि रोचक मानी सुनी रहनु भएको थियो । एक आपसमा चिनजान र मित्रता साटासाट गर्दैमा दिन बितेको पत्तै भएन ।  बेलुकाको बास लब्दुङ तिप्लिङ होमस्टे मा बस्ने कुरा थियो । त्यसैले मलाइ प्र अ नोर्साङ सरले होमस्टे तिर लैजानु भयो । होमस्टे मा पुग्दा हामीलाई सञ्चालक सोम बहादुर तामाङले स्वागत गर्नु भयो । उहाँ लामो समय देखि शिक्षण पेसामा पनि संलग्न हुनु हुँदो रहेछ । सोम सर सँग मेरो धादिङ बेसी मा केही दिन अगाडी मात्र चिनजान  भएको थियो ।  आकाशमा बादल लाग्यो कि बाक्लो लुगा लगाउन पर्ने बडो गजबको ठाउँ । त्यस माथि बाहिर पानी दर्की रहेको थियो । सोम सरको भान्छा तिर गई आगो ताप्ने काम गरियो । सरले बडो आतित्यता पूर्वक खाजा नास्ताको व्यवस्था गर्नु भयो । चिया को चुस्कि सँगै गफ चल्दै रह्यो । लब्द्ङ तिम्लिङ होमस्टे को वातावरण , सरसफाइ , विश्राम कक्ष र सामाग्री व्यवस्थापनलाई हेर्दा कुनै नाम चलेको रिसोर्ट भन्दा कम थिएन । होमस्टे सञ्चालनमा सोम सर ले ठुलै लगानी गर्नु भएको रहेछ । मैले सरलाई यसको लागि धन्यवाद दिँदै व्यवसाय सफलताको कामना पनि गरेँ ।

जेठ १० गते बिहानै ५ बजे नै स्थानीय शिक्षक,विद्यार्थी ,कर्मचारी र गाउँलेहरू यार्सा को खोजीमा लेक तिर जाने तयारी हुँदो रहेछ । दुई दिन लगातार सार्वजनिक बिदा भएकोले शिक्षक कर्मचारीलाई सजिलो पनि थियो । म पनि नोर्साङ सरसंगै उहाहरुकै साथ लागे । कच्ची बाटो यमपुरीको यात्रा भने झै स्वराज गाडीमा चढेको कहिले अगाडी उफार्दै ठोकाउछ कहिले पछाडि , त्राहिमाम त्राहिमाम , उचाल्नु पछार्नु ले शरीर नै थिलथिलो । कहिले गाडीबाट झरुँला जस्तो बनायो । तै केही माथिसम्म मात्र दाउरा लिन गएको रहेछ । करिब एक घण्टाको सकसपूर्ण यात्रा पछि शरीरले मुक्ति पायो । अब भने हामीहरू झोलाको भारी भिर्दै लौरोको भरमा उकालै उकालो लेकाली क्षेत्र पाङसाङ तर्फ लाग्यौ । जति उचाइ चढ्दै गयो उति उचाइ लाग्ने क्रम पनि हुँदै गयो । स्थानीय साथीहरूलाई लेक लाग्ने कुरै भएन तर मलाइ भने हिँड्न असहज भइरहेको थियो । त्यसैले त १०, १२ जनाको ग्रुपमा म भने सबै भन्दा पछाडि एक्लै परिरहन्थे । पाङसाङ नजिक पुग्न नपाउँदै साथीहरू यार्साको खोजीमा भीर तर्फ लाग्नु भयो आफूलाई भने स्यां फू स्यां फू मुटुले खलाति तानिरहेको थियो । के को यार्सा टिपेको हेर्नु बरु कहिले पो पुग्ने हो चुचुरोमा जस्तो लागिरह्यो । झन्डै ११:३० बजे तिर हामी पाङसाङपास पुग्यौ । भोक तिर्खाको त कुरै नगरूँ कति हो कति ? तै पनि पाङसाङको चुचुरोमा पुगेपछि ति सबै बिर्सिएछ । सबै साथीहरू एकल र समूहमा तस्बिर खिच्न मै व्यस्त । म पनि उनीहरू संगस‌गै लागेर केही थान फोटोहरू खिँचे , मिन्दुमायाको भाका गाए । शैलुंगे गाउँको भाका हाले  , डम्फुको ताल सम्झँदै छमछम नाम्चे । राष्ट्रिय झन्डा फरफर फरफराए ।

सँगै आएका एक जोडी भाइबहिनी सोम दाङ हेर्न जाने भनेर अगाडि लागे । मलाइ पनि सोम दाङ हुँदै रसुवाको धुन्छे भई घर फर्कने रहर थियो । म झोला भिर्दै उनीहरुको पछिपछि कुदेँ । केही बेर त हामी सँगै थियौ तर के सोचे कुन्नि सर तपाइको चालमा सोमदाङ पुग्न पनि गाह्रो हुन्छ हामी त फर्किएर पाङसाङ नै आउने हो बिस्तारै आउनु होला हामी चैँ लाग्यौ भनी फटाफट अगाडि लागे । म भने अब एक्लै परेँ । मोटर बाटोको निर्माणले गर्दा होला अधिकांश पैदल बाटाहरू , खुड्किलाहरू पुरिएर हराइसकेका थिए । अघिल्लो रातको झरी र रातो माटो भिरको बाटो  ज्यानै धरापमा राखी कसरी उकाली ओराली गर्ने ? भएभरका तेत्तिस कोटी देवी देवतालाई सम्झँदै लौरोको भरमा राम राम भन्दै ओरालो झरेँ । कठिन पैदल यात्राले गर्दा मैले भोक तिर्खा बिर्सिसकेको थिए । रङ्गीचङ्गी लालीगुराँसका घना जङ्गलको बाटो म एक्लै  चिप्लँदै घिस्रँदै हिँड्दै थिए । त्यतिकैमा नजिकै जङ्गलबाट एक रफ्तारमा अनौठो आवाज मेरो कानमा ठोक्किन पुग्यो । सुरुमा त मैले त्यति वास्ता नै गरिन तर बारम्बार आवाज आएपछि म पनि के रहेछ भनी रोकिइन आवाज तर्फ फर्की हेरेको त भालु ! मलाइ भालुले टाढै देखि हेरिरहेको रहेछ म भने अन्जान उसै तिर नजिक नजिक हुँदो रहेछु । सायद त्यसैले होला उ मलाइ मेरो नजिक नआइज भन्दो रहेछ । तर उसको भाषा मैले बुझने कुरै भएन । अनि पाे उ गज्रदो रहेछ । सो कुरा मलाइ के थाहा ? एक्कासि कालो भालुसँग घना जङ्गलको बिचमा जम्काभेट भयो । मैले नजर मोडे । हातखुट्टा लगलग कम्न थाले , शरीरका रौहरु जिंङरिङग ठाडा भए , बन पाखा फनफनी घुम्न थाले ,टाउको फुलेर गह्रुङ्गो भएको भान भयो । हे भगवान् फेरी मलाइ के आपत् आइलाग्यो ? घरमा नपुग्दो त केही थिएन फेरी किन यस्तो अप्ठेरो रोजे होला ? आफूले आफैलाई धिक्कारेँ । नहुनु भई सक्यो अब मन सम्हाल्नु पर्छ भनी तत्काल मन दह्रो बनाए । मैले त्यसलाई वास्ता पनि गरिन, हेर्दा पनि हेरीन । आफनो बाटो लागि रहेँ । जाइलागि हालेमा टेकेको लोरी त्यसको मुख भित्र पसाउँछु भन्ने हिम्मत चाही थियाे । म घुम्ती बाट टाढा टाढा हुदै गए । उसले पनि वास्ता गरेन । ज‌गलकाे घारी भित्र कता पस्यो कुन्नि ?

केहिबेर हिँडे पछि कुहिरो पनि फाट्दै गयो । माथि आकाशबाट घामका किरण जमिनमा पर्न थाले । टाढा टाढाका बस्तुहरू देखिन थाले । मनको डर हट्दै थियो तर फेरी लङ्गुर बाँदरका फौजसँग जम्का भेट हुन पुग्यो । अगुल्टा ले हानेको कुकुर बिजुली चम्कँदा क्वाइ भने झै भयो ।  रुखका हांगाविगा सर्ल्याड्सुर्लुङ गर्दै मै अगाडि उफ्रिन लाग्यो । मैले पनि भएभरको बल लगाइ भीरबाट ढुङ्गा गुल्टाए । रुखतिर झटारो हाने । अनुहारै रातो हुने गरी चिच्याए । खैलाबैला गर्दै पखेरै पखेरा भागे । धन्न नारान तै लफडा परेन !

सोमदाङ पुग्दा दिनको ३ बजि सकेको थियो । बिहानको ५ बजे देखि हिँडेको यात्रा त्यसबेला सम्म पनि निरन्तर नै थियो । २ पुरी बिस्कुटको भरमा झन्डै १० घण्टाको कठिन यात्रा जारी नै थियो । थकाइ र भोकको कुनै सीमा नै थिएन । मलाइ छोडि अगाडि आएका भाइ बैनी पनि भोक प्यासले आकुल व्याकुल भै बसेका रहेछन् । सोमदाङका सबै घर पसल बन्द थिए । पछि थाहा भयो यार्सा खोज्न गएका रे ! यसो चौतारी मा थकाइ मार्न मात्र टुसुक्क के बस्दै थिए एउटा मिनि ट्रक सामान झारी गत्लाङ तर्फ फर्कियो । म ठाडीपुछार गाडीको पछीपछी कराउँदै दौडिए । ड्राइभरले गाडी रोके र मैले अनुनय बिनय र आफ्नो परिचय दिएपछि मात्र उनले आफुसंगैको सिटमा राखे । बल्ल मन ढुक्क भयो । ईश्वर ले तँ आँट मात्र म पुर्याउंछु भनेको हो रहेछ जस्तो लाग्यो । बिच बाटोमा चालक र सहचालक बनमा लडेका काठका मुडा र जंगली साग खोज्न बन तिर लागे म भने गाडी भित्रै बसी चाउचाउ , बिस्कुट, पानी सँगै घुटुक्क निल्न लागे । एक सास मै चाउचाउ बिस्कुट सर्ल्याम सुर्लुम्म । आफूसँग साथमा ल्याएको चाउचाउ र चकलेटहरू चालक र सह चालकलाई पनि बाँडे । गाडी भित्र हामी ३ जना मात्र थियौ । यात्रा भर मिठा मिठा गफ भए । एक आपसमा चिनजान भयो । मैले भालु र लङ्गुरसँगको जम्काभेटको कहानी भने । धन्न सर तपाइ लक्की हुनुहुँदो रहेछ । त्यस बाटो त एक्लै कोही पनि हिँड्दैनन् । व्यापक भालु लाग्ने ठाउँ हो । मान्छे को पनि डर हुन्छ ,धेरैलाई भालुले चिथाेरेको छ अनि लुटपाट पनि भएको छ । अब एक्लै नहिड्नु होला, मलाइ गाडी चालकले सम्झाउँदै थिए । अघि सम्म नलागेको डर अब लाग्न थाल्यो । यो कुरा मलाइ थाहा भएको भए किन पो एक्लै हिँड्थे होला र ? अनि मेरो तिप्लिङ हुदै रसुवा निस्कने सपना पनि अधुरै हुन्थ्यो होला ? केही कुरा थाहा नपाउनुको पनि फाइदा नै हुँदो रहेछ कहिले कांही भन्ने कुरा त्यस यात्रामा भने प्रमाणित भयो । तर अब भने आउँदा दिनहरूमा एक्लै यात्रा गर्न कसरी सकिन्छ होला र भन्ने मनमा द्विविधा भैरहेको छ ।

लेखक : नेपाल मानव अधिकार संगठन धादिङका सभापति तथा त्रिकोण खबरका प्रधान सम्पादक हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0