बिश्वास सिलवाल
धादिङ, जेठ २८ , २०८३
देशका ७७ वटै जिल्लामा आफ्नो सेवा विस्तार गर्दै १८५ शाखा कार्यालयमार्फत वित्तीय तथा सामाजिक विकासका कार्यक्रम सञ्चालन गर्दै आएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय त्रिपुरेश्वरले आफ्ना सदस्य तथा ग्राहक महिलाहरूका लागि दुई दिने च्याउ खेती तालिम सञ्चालन गरेको छ।
धादिङको बेसीस्थित जीवन जीविका होटलमा आयोजित तालिममा ज्वालामुखी गाउँपालिका, सिद्धलेक गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका तथा नीलकण्ठ नगरपालिका का २९ जना महिला दिदीबहिनीहरूको सहभागिता रहेको छ। आयआर्जन वृद्धि, स्वरोजगार प्रवर्द्धन तथा व्यावसायिक कृषि उद्यमतर्फ महिलाहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले तालिम आयोजना गरिएको संस्थाले जनाएको छ।
तालिम कार्यक्रमको उद्घाटन नीलकण्ठ नगरपालिका–३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ ले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले च्याउ खेती कम लगानीमा राम्रो आम्दानी लिन सकिने व्यवसाय भएकाले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो।
कार्यक्रममा शाखा प्रबन्धक पुरुषोत्तम खनाल ले सहभागीहरूलाई स्वागत गर्दै संस्थाको उद्देश्य, सेवा तथा शाखाको वित्तीय कारोबारबारे जानकारी दिनुभएको थियो। उहाँले लघुवित्त संस्थाले केवल वित्तीय सेवा मात्र नभई सदस्यहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि विभिन्न सीपमूलक तालिमसमेत सञ्चालन गर्दै आएको बताउनुभयो।
तालिमका प्रशिक्षक धादिङका विष्णु पोखरेल ले च्याउ खेतीको महत्व, उत्पादन प्रक्रिया, आवश्यक पूर्वाधार, रोग तथा कीरा व्यवस्थापन, बजार व्यवस्थापन र व्यवसायिक सम्भावनाका विषयमा सहजीकरण गर्नुभएको छ। सहभागीहरूले तालिमबाट व्यावहारिक ज्ञान हासिल गरी आफ्नै स्थानमा च्याउ खेती व्यवसाय सञ्चालन गर्न सक्ने विश्वास व्यक्त गरेका छन्।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको समन्वय तथा यसको मातृ संस्था निर्धन संस्था को सहयोगमा सञ्चालन भएको उक्त तालिमले ग्रामीण महिलाहरूको आयआर्जन वृद्धि, आत्मनिर्भरता तथा उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। संस्थाले आगामी दिनमा पनि सदस्यहरूको क्षमता अभिवृद्धि र आर्थिक सशक्तीकरणका लागि यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
निर्धन उत्थान लघुवित्तद्वारा दुई दिने च्याउ खेती तालिम सञ्चालन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






