कृष्ण बद्री पौडेल ,२०८३ कार्तिक ११ गते
कुनै समय गाउँघरमा रातको अँध्यारो चिर्ने भरपर्दो साधन थियो—जिपलाइट अर्थात् ब्याट्रीबाट बल्ने टर्चलाइट। राति गोठ जान, खेतबारीमा पानी लगाउन, अँध्यारो बाटो हिँड्न वा जात्रा, मेला र चाडपर्वमा सहभागी हुन जाँदा जिपलाइट मानिसको साथी बन्थ्यो। अहिले मोबाइलको टर्च र आधुनिक बत्तीको प्रयोग बढेसँगै कुनै समय प्रायः हरेक घरमा भेटिने यो साधन विस्तारै लोप हुँदै गएको छ।
नेपालका ग्रामीण बस्तीमा मट्टीतेल सहज रूपमा उपलब्ध हुनुअघि सल्लाको दियालो बालेर उज्यालो पार्ने चलन थियो। पछि मट्टीतेलका टुकी, लालटिन, मैन्टोल र लम्फा प्रयोगमा आए। मट्टीतेलको प्रयोग क्रमशः बि स २००० देखि २००६ /००७ साल बाट विस्तार शुरु हुँदै गए पनि ग्रामीण क्षेत्रमा यसको सहज उपलब्धता हुन समय लागेको थियो। घरभन्दा टाढा खेतबारीमा बनाइएका गोठमा पशु राख्ने र राति तिनको हेरचाह गर्न जाने चलन थियो। त्यस्ता ठाउँमा उज्यालोका लागि पराल, मकैका ढोड वा मट्टीतेल प्रयोग गरेर बनाइएका साधनसमेत प्रयोग गरिन्थे।
यस्तो अवस्थामा ब्याट्रीबाट बल्ने जिपलाइट ग्रामीण जीवनका लागि निकै उपयोगी बन्यो। बटन थिचेपछि उज्यालो दिने भएकाले मट्टीतेलका बत्तीभन्दा प्रयोग गर्न सजिलो थियो। ब्याट्री फेरेर लामो समयसम्म चलाउन सकिने यो टर्च रातिको यात्रादेखि घरायसी कामसम्म आवश्यक मानिन्थ्यो। कुनै समय घरमा एउटा जिपलाइट हुनु पनि महत्त्वपूर्ण थियो। अँध्यारोमा बाटो देखाउने यो सानो उपकरण ग्रामीण जीवनको अभिन्न हिस्सा बनेको थियो।
नेपालमा बिजुलीको प्रयोग पहिलेदेखि नै सुरु भए पनि गाउँगाउँमा यसको पहुँच विस्तार हुन समय लाग्यो। वि.सं. २०५० सालतिरदेखि शहरबजारसँगै केही ग्रामीण क्षेत्रमा पनि बिजुली बत्तीको प्रयोग विस्तार हुँदै गयो। त्यसपछि सोलार र अन्य आधुनिक बत्ती प्रयोगमा आए। विशेषगरी वि.सं. २०७०–७२ सालतिर मोबाइल फोन धेरै मानिसको हातमा पुग्न थालेपछि टर्चलाइटको आवश्यकता अझ घट्यो। अहिले मोबाइलमै टर्च, घडी, क्याल्कुलेटर र रेडियोजस्ता सुविधा उपलब्ध छन्। एउटै मोबाइलबाट धेरै काम गर्न सकिने भएपछि छुट्टै टर्च बोकेर हिँड्ने चलन पनि कम हुँदै गएको छ।
तस्बिरमा देखिएको जिपलाइट कुनै समयको सामान्य सामग्री मात्र होइन, ग्रामीण जीवनको परिवर्तनको साक्षी पनि हो। सल्लाको दियालो बालेर रात काटेका, टुकीको उज्यालोमा पढेका र जिपलाइट बोकेर गोठ पुगेका पुस्ताका लागि यससँग अनेक सम्झना जोडिएका छन्। आज प्रविधिले जीवन सहज बनाएको छ, तर त्यससँगै हाम्रो दैनिकीसँग जोडिएका पुराना सामग्री हराउँदै गएका छन्।
सल्लाको दियालोदेखि टुकी, लालटिन र जिपलाइट हुँदै बिजुली, सोलार र मोबाइलको टर्चसम्म आइपुगेको उज्यालोको यो यात्राले समयसँगै फेरिएको ग्रामीण जीवनशैली देखाउँछ। कुनै समय रातको भरपर्दो साथी बनेको जिपलाइट आज दुर्लभ बन्दै गएको छ। यसको संरक्षण गर्नु भनेको एउटा पुरानो उपकरण जोगाउनु मात्र होइन, हाम्रो ग्रामीण जीवनको इतिहास र सम्झनालाई सुरक्षित राख्नु पनि हो।






