धादिङ । वैदेशिक रोजगारीबाट नेपाल फर्किएका धादिङका दुई जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–१ की सन्तोषी परियार र गंगाजमुना गाउँपालिका–५, महावीर टोलका धनबहादुर कामी रहेका छन्। उनीहरू प्रेम सम्बन्धमा रहेको र सँगै लुकेर बसेको हुन सक्ने परिवार स्रोतले जानकारी दिएको छ।
परिवार स्रोतका अनुसार धनबहादुर कामी गत असोज १९ गते दुबईबाट नेपाल फर्किएका थिए। नेपाल आएपछि उनी बैंकको चेकबुक, एटिएम काड, नागरिकता लगायतका महत्त्वपूर्ण कागजात लिएर गएको उनकी श्रीमती संगीता विकले जानकारी दिइन्। त्यसपछि उनी सम्पर्कविहीन भएका हुन्।
धनबहादुरका १३ वर्षीया छोरी र ९ वर्षीय छोरा छन्। श्रीमान् सम्पर्कविहीन भएपछि परिवार उनको खोजीमा जुटेको छ।
त्यस्तै, त्रिपुरासुन्दरी गाउँपालिका–१ की सन्तोषी परियार गत असोज २१ गते कुवेतबाट नेपाल फर्किएकी थिइन्। विदेशबाट फर्कने क्रममा विमानस्थलसम्म परिवारसँग सम्पर्कमा रहेकी उनी त्यसपछि सम्पर्कविहीन भएको उनका श्रीमान् विष्णु परियारले जानकारी दिए।
सन्तोषीका १५ वर्ष र ७ वर्षका दुई छोरी छन्। उनी सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ।
धनबहादुर कामी र सन्तोषी परियारका आफन्तले उनीहरूको खोजीका लागि प्रहरीमा छुट्टाछुट्टै निवेदन दिएका छन्। परिवारबाट प्राप्त जानकारीअनुसार धनबहादुरको खोजीका लागि असोज ३० गते र सन्तोषीको खोजीका लागि कात्तिक ८ गते प्रहरीमा निवेदन दिइएको हो।
परिवार स्रोतले दुवै जना प्रेम सम्बन्धमा रहेको जानकारी दिँदै उनीहरू सँगै लुकेर बसेको हुन सक्ने आशंका व्यक्त गरेको छ। यद्यपि, उनीहरूको हालको अवस्थाबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन।
दुवै जनाको खोजी गरी अवस्था पत्ता लगाउन आफन्तले सम्बन्धित निकायसँग आग्रह गरेका छन्। उनीहरूबारे कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित परिवारलाई खबर गरिदिन अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0