काठमाडौँ ,  २८ जेठ २०८३

नेपाल  लेयर्स कुखुरापालक सङ्घले जेठ महिनाभरि अण्डाको समर्थन (फार्म) बिक्री मूल्य चार पटकसम्म वृद्धि गरेको छ। उत्पादन लागत बढ्दै जानु, दानाको मूल्य उच्च रहनु तथा बजार व्यवस्थापनको आवश्यकता देखाउँदै सङ्घले विभिन्न चरणमा मूल्य समायोजन गरेको जनाएको छ।

चितवनलाई आधार मानेर निर्धारण गरिएको नयाँ फार्म समर्थन मूल्यअनुसार जेठ महिनाको सुरुदेखि अन्त्यसम्म आइपुग्दा एक्सएल, ठूलो र मिडियम साइजका अण्डाको मूल्य प्रतिक्रेट ४५ रुपैयाँले बढेको छ भने सानो अण्डाको मूल्य प्रतिपेटी ५०० रुपैयाँले वृद्धि भएको छ।

सङ्घले पहिलो चरणमा जेठ ४ गतेदेखि लागू हुने गरी एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५३० रुपैयाँ, ठूलो अण्डाको ५१५ रुपैयाँ, मिडियम अण्डाको ४८५ रुपैयाँ तथा सानो अण्डाको प्रतिपेटी २ हजार ७ सय रुपैयाँ कायम गरेको थियो।

त्यसपछि बनेपा र काठमाडौँमा सम्पन्न बैठकले पुनः मूल्य समायोजन गर्दै जेठ १२ गतेदेखि एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५४५ रुपैयाँ, ठूलो अण्डाको ५३० रुपैयाँ, मिडियम अण्डाको ५०० रुपैयाँ तथा सानो अण्डाको प्रतिपेटी २ हजार ९ सय रुपैयाँ निर्धारण गरेको थियो।

यसपछि जेठ २२ गते काठमाडौँमा सम्पन्न बैठकको सिफारिसका आधारमा जेठ २३ गतेदेखि लागू हुने गरी तेस्रो पटक मूल्य बढाइएको थियो। उक्त निर्णयअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५६० रुपैयाँ, ठूलो अण्डाको ५४५ रुपैयाँ, मिडियम अण्डाको ५१५ रुपैयाँ तथा सानो अण्डाको प्रतिपेटी ३ हजार रुपैयाँ कायम गरिएको थियो।

सङ्घले जेठ २८ गते पुनः बैठक बसेर चौथो पटक मूल्य संशोधन गर्दै सोही दिनदेखि एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५७५ रुपैयाँ, ठूलो अण्डाको ५६० रुपैयाँ, मिडियम अण्डाको ५३० रुपैयाँ तथा सानो अण्डाको प्रतिपेटी ३ हजार २ सय रुपैयाँ निर्धारण गरेको छ।

उत्पादक तहमा मूल्य निरन्तर बढे पनि उपभोक्ताका लागि सिफारिस गरिएको खुद्रा मूल्य भने हालसम्म परिवर्तन गरिएको छैन। सङ्घले अण्डाको खुद्रा बिक्री मूल्य प्रतिगोटा २५ रुपैयाँ नै कायम राखेको जनाएको छ।

अण्डाको फार्म मूल्यमा भएको लगातार वृद्धिले कुखुरापालक किसानलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ। यद्यपि, उत्पादन लागत नियन्त्रणमा नआए आगामी दिनमा खुद्रा बजारमा समेत मूल्य वृद्धि हुन सक्ने संकेत देखिएको छ। यसबीच उपभोक्ता पक्षले बजार अनुगमन प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0