आज अपराह्नदेखि रातिसम्म कोशी र बागमती प्रदेशका धेरै स्थानमा भारी वर्षा हुन सक्ने, शनिबारदेखि भने मौसम क्रमशः सुधार हुँदै जाने पूर्वानुमान।
काठमाडौं, १३ कात्तिक । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा देखिन थालेको छ। यसको प्रभावले आज देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै केही क्षेत्रमा भारी वर्षासमेत हुन सक्ने मौसमविद्ले बताएका छन्।
विशेषगरी आज अपराह्नदेखि रातिसम्म कोशी र बागमती प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। शुक्रबार कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भएको थियो भने काठमाडौं उपत्यकामा पनि छिटफुट वर्षा भएको थियो। आज भने वर्षाको मात्रा बढ्नुका साथै प्रभावित क्षेत्र विस्तार हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसमविद् विभूति पोखरेलका अनुसार चक्रवात ‘अर्नब’ कमजोर भइसके पनि यसको प्रभावका कारण वर्षा, हिमपात र हावाहुरीको सम्भावना कायमै छ। त्यसैले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सतर्क रहन उनले आग्रह गरेकी छन्।
यसैबीच, सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै सरकारले सुरक्षा निकायलाई उच्च सतर्कतामा राखेको छ। जोखिममा रहेका जिल्लाहरूमा आवश्यक सूचना प्रवाह, पूर्वतयारी तथा विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
मौसम पूर्वानुमानअनुसार शनिबारदेखि भने वर्षाको प्रभाव क्रमशः कम हुँदै जाने अपेक्षा गरिएको छ। यद्यपि, वर्षा र सम्भावित प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै नदी तथा खोलानालाको आसपासका बासिन्दा, पहिरो जोखिम क्षेत्रका स्थानीय र यात्रा गर्ने सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।






